फिल्म ‘हर्ष’ मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आउने

 

काठमाडौँ, २२ कात्तिक । फिल्म ‘हर्ष’ मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । पारिवारिक कथामा आधारित नेपाली चलचित्र ‘हर्ष’ मङ्सिर १२ गतेदेखि नेपालभर प्रदर्शन हुने उक्त चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै निर्देशक एकता पौडेलले भावना, सम्बन्ध र परिवारको विषयमा चलचित्र तयार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“मैले चलचित्रसम्बन्धी अध्यन गरेर पहिलोपटक निर्देशन गरेकी छु । एउटा सुखद परिवारमा बुवा र छोराबीचको सम्बन्धलाई यसमा देखाउने प्रयास गरेकी छु ।”उहाँले आफूले पाएको अवसरलाई पूर्णरूपमा सदुपयोग गरेको बताउनुभयो ।

स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीको नाता सम्बन्धमा रहनुभएकी पौडेलले आफ्नो मामाका नामका कारण पहिलो पटकको निर्देशनका क्रममा सबैबाट साथ सहयोग पाएको बताउनुभयो ।

अभिनेता सन्तोष पन्तले आफ्नो कलाकारिता यात्रामा पहिलोपटक महिला निर्देशकसँग काम गरेको अनुभव सुनाउँदै भन्नुभयो, “मैले धेरै चलचित्रमा काम गरेँ, तर यसमा भने महिला निर्देशकको निर्देशनमा । अध्यन गरेर कर्म गर्न आउनु भएकी निर्देशक पौडेलले धेरै मेहनत गर्नुभएको छ ।

चलचित्र पारिवारिक भएकाले पनि महिला निर्देशकले राम्रो काम गर्नुभएको जस्तो लागेको छ । पछिल्लो अवस्थामा भने चलचित्रलाई सफल बनाउन बजारीकरण गर्न सक्नुपर्छ ।” दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गर्ने तथ्यमा ध्यान पु¥याउन निर्देशक पौडेलसहित निर्माण समूहलाई आग्रह गर्नुभयो ।

यसैगरी अभिनेत्री वर्षा राउत नयाँ समूहसँग काम गर्दा बेग्लै आनन्द भएको बताउनुहुन्छ । “निकै रमाइलोसँग चलचित्रमा हामी कलाकारले काम ग¥यौँ । मेरा लागि अग्रज कलाकारको सामीप्यतामा काम गर्नपाउनु एउटा अवसर थियो । पारिवारिक कथामा चलचित्र बनेको छ, स–परिवार हेर्न आउँदा व्यक्त गर्न नसकिरहेको तथ्यलाई चलचित्रले व्यक्त गर्छ जस्तो लागेको छ”, उहाँले भन्नुभयो ।

उक्त चलचित्रमा एक परिवारमा छोराको विवाहपछि वंशअगाडि बढाउने विषयमा बाउछोराकाबीच हुने उतारचढावलाई देखाइएको छ । सो चलचित्रमा खगेन्द्र लामिछाने, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्