सत्य घटनामा आधारित ‘रातो घेरा’को छायांकन सकियो, मंसिर १८ मा प्रदर्शन हुने

काठमाडौँ, ३१ भदौ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘रातो घेरा–द रेड सर्कल’को छायांकन सम्पन्न भएको छ । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको चलचित्रको अन्तिम दृश्य काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा खिचिएसँगै छायांकन पूरा भएको हो । चलचित्र आगामी २०८३ मंसिर १८ गतेदेखि प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र सत्य घटनाबाट प्रेरित कथामा आधारित रहेको जनाइएको छ । निर्देशक बुढा मगरले सामाजिक तथा भावनात्मक पक्षलाई रहस्यसँग जोडेर चलचित्रको कथा प्रस्तुत गरेका छन् । चलचित्रको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन् ।

चलचित्रमा दयाहाङ र मिरुनासँगै सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डीबी गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, खड्गबहादुर पुन, अरुण पुन मगर, सुस्मिता कुँवर, रामबाबु रेग्मी, भावना खपाङ्गी मगर, सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा करिब दुई दर्जन कलाकारको सहभागिता रहेको निर्माण चरणमै सार्वजनिक गरिएको थियो ।

‘जारी’मा एकसाथ देखिएर दर्शकमाझ लोकप्रिय बनेको दयाहाङ र मिरुनाको जोडीका कारण पनि ‘रातो घेरा’प्रति सुरुदेखि नै चासो देखिएको छ । यसअघि चलचित्र घोषणा तथा शुभमुहूर्तका क्रममा निर्माण पक्षले यो जोडीलाई सामाजिक र भावनात्मक कथामा फरक भूमिकामा प्रस्तुत गर्न खोजिएको जनाएको थियो ।

विश्राम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जीवन गुरुङ हुन् । कविता गुरुङ, भोजेन्द्र गुरुङ र सरुन शेरचन निर्माता तथा सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा रहेका छन् । जीवन गुरुङले यसअघि गुरुङ भाषाको चलचित्र ‘ङोल्स्यो रानी’ निर्माण गरेका थिए भने ‘रातो घेरा’ उनको पहिलो मूलधारको चलचित्रका रूपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको छायांकन शिशिर बिसंखेले गरेका हुन् । सम्पादन जीवन थापाले गर्ने जनाइएको छ । चलचित्रमा मनोज थापा मगर र सागर आलेको संगीत तथा मनोज थापा मगरको पाश्र्व संगीत रहेको छ । गीतमा श्रवण मुकारुङ र शिव हमालका रचना रहेको जनाइएको छ भने सागर आले र शान्तिश्री परियारको स्वर समेटिएको छ । गीतका दृश्यमा प्रदीप लामा र जुना सुन्दासको सहभागिता रहनेछ ।

चलचित्रको छायांकन मुख्यतः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो । निर्माणको प्रारम्भिक चरणमा भौगोलिक तथा सांस्कृतिक परिवेशलाई कथाको आवश्यकताअनुसार उपयोग गरिने बताइएको थियो । असार २५ गतेदेखि छायांकनमा गएको चलचित्र करिब डेढ महिनाको अवधिमा पूरा भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको प्राविधिक टोलीमा मुख्य सहायक निर्देशक फिरोज खड्का, सहायक निर्देशक अनिल दाहाल र सिर्जना भुजेल, वेशभूषा डिजाइनमा जानकी कडायत, कला निर्देशनमा कृपा खड्गी तथा निर्माण डिजाइनमा रामलाल खड्कालगायत रहेका छन् ।

निर्माण पक्षले सामाजिक विषयवस्तु, सत्य घटनामा आधारित कथा र बलियो कलाकार टोलीका कारण चलचित्रले दर्शकमाझ फरक प्रभाव पार्ने अपेक्षा गरेको छ । चलचित्रको दोस्रो भागसमेत निर्माण गर्ने योजना रहेको निर्माण पक्षले जनाइएको छ । ‘रातो घेरा’ अब छायांकन पूरा गरेपछि सम्पादन तथा अन्य प्राविधिक कामतर्फ अघि बढ्नेछ । आगामी मंसिर १८ गतेदेखि चलचित्र देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्