काठमाडौं, १२ कात्तिक । दशैंको फूलपातीमा प्रदर्शन भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ अधिकांश हलबाट उत्रिसकेको छ । फिल्मले प्रदर्शनको तीन हप्ता भने राम्रो दर्शक पाएको थियो । त्यस अवधिमा फिल्मले ४ करोड ६० लाखको ग्रस व्यापार ग¥यो ।
यसबाट निर्माताको हातमा बढीमा २ करोड पर्ने देखिन्छ । यतिमा फिल्मको लगानी भने सुरक्षित हुँदैन । किनकि, यो फिल्म ३ करोड ३७ लाखमा बनेको हो ।
तर, हलको व्यापारसहित विभिन्न राइट्स र विज्ञापनबाट भने फिल्मले लगानी उठाएको छ । फिल्मको अमेरिका र क्यानडाको राइट्स मात्र ५८ लाखमा बिक्री भएको थियो ।
डिजिटल राइट्स ओएसआरले ७० लाखमा किनेको चर्चा छ । फिल्ममा १० वटा ब्रान्डका विज्ञापन पनि थिए, जुन २० लाख हाराहारीको थियो । यसरी हेर्दा, फिल्मको लगानी पूर्ण रूपमा सुरक्षित भएको देखिन्छ ।
‘हरिबहादुरको जुत्ता’को लगानी उठेसँगै यसका निर्माता सरोज वलीले अर्को वर्ष नयाँ फिल्म ल्याउने घोषणा गरिसकेका छन् । केही दिनअघि उनले फेसबुकमा लेखेका थिए, ‘बक्स अफिस व्यापार, विदेश प्रदर्शन, डिजिटल राइट्स र विज्ञापनमार्फत हामीले हाम्रो लगानी सुरक्षित गर्न सफल भएका छौं। हाम्रो टिम नयाँ फिल्म निर्माणको तयारीमा जुटेको छ । २०८३ सालमा पुनः हलमा भेटौँला ।’
‘हरिबहादुरको जुत्ता’सँग एकैसाथ प्रदर्शनमा आएका अन्य दुई फिल्ममध्ये ‘बलिदान’ले ५ करोड र ‘माइतीघर’ले ३ करोड ८८ लाख कमाएका छन् । दशैंको टीकाको दिन प्रदर्शन भएको साउथ फिल्म ‘कान्तारा’ले भने १० करोड बढीको व्यापार गरेको छ ।
यसरी हेर्दा, नेपाली र साउथ फिल्मले गरी दशैंको अवसरमा लगभग २४ करोड कमाएका छन् । यसलाई उत्साहजनक नै मान्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्