फिल्म ‘ह्रस्व दीर्घ’ तेस्रो हप्तामा प्रवेश, कमाई ८ करोड ५२ लाख

 

काठमाडौं,१७ मंसिर । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा शीर्ष भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले हलमा प्रदर्शनको दुई हप्ता पूरा गरिसकेको छ । शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ता ५ करोड ५४ लाख ग्रस कमाई गरेको निर्माताले जनाएका थिए । दोस्रो हप्तामा भने फिल्मले लगभग ३ करोड छापेको छ ।

शनिबार बिहान निर्मात्री नीताले फेसबुकमार्फत् सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा फिल्मको १४ दिनको कमाई ८ करोड ५२ लाख उल्लेख छ । अर्थात् दोस्रो हप्तामा फिल्मले २ करोड ९८ लाख कमाएको छ । फिल्मले दुई हप्तामा गरेको कमाई ‘ग्रस’ हो । त्यसबाट हलको ५० प्रतिशत सेयर र वितरकको कमिसन काटिएर आउँदा निर्माताको हातमा बढीमा साढे ४ करोड पर्न सक्छ ।

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको तेस्रो हप्ता देशभर लगभग ५० शो पाएको छ । हप्ता बढ्दै गएकाले प्राप्त शोमा अकुपेन्सी पनि कमजोर बनिरहेको छ । यद्यपि, अन्य सहरमा भन्दा तुलनात्मक रुपमा नेपालगञ्ज र दाङमा फिल्मको व्यापार अझै राम्रो छ । ६ करोडको लागतमा निर्माण भएको फिल्मले नेपालबाटै ‘हिट’को ट्याग पाउन भने कम्तीमा १२ करोड ग्रस कमाउनुपर्ने हुन्छ ।

निर्मात्री ढुंगानाले प्रदर्शनको पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित भइसकेको दाबी गरेकी थिइन् । उनका अनुसार भारतको ओटीटी प्लेटफर्ममा फिल्म बिक्री भइसकेको छ । फिल्मले नेपालको कमाईसहित विभिन्न राइट्सबाट २१ करोड ग्रस कमाउने उनको आँकलन छ । अब आगामी वर्ष अर्थात् २०२५ मा तेलुगु भाषामा फिल्मलाई भारतका हलमा रिलिजको तयारी गरिएको छ । जसबाट राम्रो कमाई हुनेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरुको पल्टन नै छ । यसमा भारतबाट प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंह छन् भने नेपाली कलाकारहरु नीता र हरिहरसहित विपना थापा, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । फिल्मलाई बलिउडका प्रख्यात छायाँकार कवीरलालले खिचेका हुन् ।

यसैगरी, गत जेठमा नेपाल रिलिज भएको रोड–थ्रिलर फिल्म ‘बाटो ः रोड टु डेथ’लाई विश्व प्रतिष्ठित ओटीटी प्लेटफर्महरुमा उपलब्ध गराएको छ । ‘अमेजन प्राइम भिडियो’, ‘ट्युबी’, र ‘बुक माई शो स्ट्रिम’मा फिल्मको स्ट्रिमिङ सुरु भइसकेको निर्माण कम्पनी काठमाडौं फिल्म्सका सञ्चालक तथा निर्माता चन्दन झाले जानकारी दिए ।

तर, यी तीनवटै प्लेटफर्ममा फिल्मलाई सीमित देशमा मात्र हेर्न सकिन्छ । ‘अमेजन प्राइम भिडियो’मा युरोप र अमेरिकामा सशुल्क र यिनै दुई देशमा ‘ट्युबी’बाट फिल्मलाई निःशुल्क हेर्न पाइन्छ । त्यस्तै, ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटलसहित फिल्म स्ट्रिमिङ भइरहेको छ । अब ‘फ्युचर टिभी’ लगायतका ओटीटीमा फिल्म रिलिजको तयारी गरिएको छ ।

निर्माता झाले ‘बाटो’मार्फत् अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको सम्भावना खोज्ने प्रयास गरिएको बताए । उनी भन्छन्, ‘नेपाली फिल्मको गुणस्तर र पहुँच बढाउने उद्देश्यले हामीले ‘बाटो ः रोड टु डेथ’ बनाएका हौँ । नेपालको बक्स अफिसमा सफल नभए पनि यो फिल्ममार्फत् अन्तर्राष्ट्रिय बजारका विभिन्न सम्भावनाहरूलाई खोज्ने कार्य गरेका छौँ ।’

‘बाटो’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन् । दक्षिण भारतीय फिल्मको प्राविधिक टोली लिएर निर्माण गरिएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ । फिल्ममा छायांकन र ब्याकग्राउन्ड स्कोर सशक्त छ ।

प्रतिक्रिया दिनुहोस्