काठमाडौँ, ९ साउन । फिल्म ‘सिटामोल’ साउन २३ बाट प्रदर्शनमा आउने भएको छ । जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ ।
३ मिनेट २० सेकेण्ड लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु, परिवेश, पात्र र परिस्थिति उजागर गरेको छ । आर्थिक अभावका कारण एक दम्पतीको जीवनमा आउने उतारचढाव फिल्मको मूल कथा रहेको देखिन्छ ।
ट्रेलर अनुसार अभिनेता सौगात मल्ल सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएपछि उनले राज्यबाट ५ लाख पाएका हुन्छन् । त्यसैको लोभमा अभिनेत्री बेनिशा हमालले उनीसँग विवाह गर्छिन् ।
जब बच्चा हुन्छ र पैसा सकिएर ऋण थोपिरिन्छ, त्यसपछि सम्बन्धमा दरार आउँछ । बेनिशा घर नै छाडेर जान्छिन् । यसपछि सौगातको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले देखाइएको छ ।
पात्रहरूले यथार्थता समात्न बोलेका गहिरो संवाद र गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ । ट्रेलरको अन्तिममा सौगातको ‘भ्वाइस ओभर’मा एउटा हृदयस्पर्शी कवितात्मक हरफ सुनिन्छ, ‘मूल सुक्यो पधेँरीमा धाउनै परेन, तिमी आउँदा म हुँदिन आउनै परेन ।’ यसले सौगातको पात्र बेनिशाको पर्खाइमा रहेको बुझाउँछ । समग्रमा ट्रेलर ‘इन्गेजिङ’ बनेको छ ।
राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल, बाल कलाकारहरु करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसी लगायतको अभिनय छ ।
फिल्ममा निर्देशक साने र प्रदीप भारद्वाजको लेखन रहेको छ । सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्मका निर्माताहरु भुगोल कुमार कार्की र विकासराज जोशी हुन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
फिल्ममा दिव्य सुवेदीको छायांकन, बन्दे प्रसादको सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्