काठमाडौँ, १ भदौ । मोफसलमा रहेर नेपाली मौलिक कला, संस्कृति र लोकसङ्गीतको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय गायक बाबुराम रम्तेलको स्वरमा तीज गीत ‘म त परे जालैमा’ सार्वजनिक भएको छ । तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा मौलिक नेपाली लोकसंस्कृति, तीजको उल्लास र समसामयिक सामाजिक भावनालाई समेटिएको छ ।
गायक रम्तेललाई गायिका रश्मी लकाई र सङ्गिता तिमिल्सेनाले स्वरमा साथ दिनुभएको छ । गीतका शब्द तथा सङ्गीत चर्चित मोडल, सङ्गीतकार तथा गीतकार अभी सुनारको रहेको छ । मौलिक लोकलयमा तयार पारिएको गीतमा तीजको सांस्कृतिक पक्षसँगै मनोरञ्जनात्मक भावलाई प्राथमिकता दिइएको निर्माण पक्षले जनाएको छ ।
‘म त परे जालैमा’को भिडियोसमेत आकर्षक ढङ्गले तयार पारिएको छ । भिडियोमा अभी सुनार, पार्वती श्रेष्ठ, अन्जु रसाइली, नबिन्द्र भण्डारी र बालकलाकार मैइसा भण्डारीले अभिनय गर्नुभएको छ । गीतको भावअनुसार कलाकारको अभिनय, नृत्य तथा दृश्य प्रस्तुतिलाई संयोजन गरिएको छ ।
भिडियोको निर्देशन राहुल बराइलीले गर्नुभएको हो । तीज गीतको मौलिक स्वादलाई कायम राख्दै नयाँ पुस्ताले समेत रुचाउने गरी भिडियो निर्माण गरिएको निर्देशक बराइलीले बताउनुभयो । भिडियोमा ग्रामीण परिवेश, नेपाली मौलिकता र तीज पर्वको उल्लासलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
पछिल्लो समय तीज गीतमा मौलिकता र आधुनिक प्रस्तुतिको संयोजन गर्ने क्रम बढिरहेको छ । परम्परागत तीज गीतमा महिलाका सुखदुःख, पारिवारिक सम्बन्ध, सामाजिक अवस्था र समसामयिक विषय प्रस्तुत हुँदै आए पनि पछिल्ला गीतमा मनोरञ्जन, प्रेम, सामाजिक सन्देश र सांस्कृतिक पहिचानलाई समेत जोड दिने गरिएको छ । ‘म त परे जालैमा’ पनि यही धारलाई पछ्याउँदै तयार गरिएको निर्माण पक्षको भनाइ छ ।
गायक बाबुराम रम्तेल लामो समयदेखि मोफसलमा रहेर नेपाली लोकसङ्गीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले स्थानीय परिवेश र मौलिक नेपाली संस्कृतिसँग जोडिएका गीतलाई प्राथमिकता दिँदै आउनुभएको छ । राजधानीबाहिर रहेर पनि निरन्तर सिर्जना र सांगीतिक गतिविधिमा सक्रिय रम्तेलले आफ्ना गीतमार्फत मौलिक कला र संस्कृतिलाई श्रोता तथा दर्शकमाझ पु¥याउँदै आउनुभएको छ ।
रम्तेलका यसअघि सार्वजनिक भएका विभिन्न गीतले समेत चर्चा पाएका छन् । ‘आइस खनाइदेऊँ’, ‘मेरो देश जलिरहेछ’, ‘ए है जवानी’लगायत उहाँका गीत श्रोता–दर्शकमाझ लोकप्रिय छन् । सामाजिक विषयदेखि प्रेम तथा मनोरञ्जनसम्मका विभिन्न विधाका गीतमा स्वर दिँदै आउनुभएका रम्तेलले पछिल्लो सिर्जनाका रूपमा तीज गीतलाई श्रोता–दर्शकमाझ ल्याउनुभएको हो ।
गायक रम्तेलका अनुसार नेपाली लोकसंस्कृतिसँग जोडिएको तीज पर्वका गीतमा मौलिकता कायम राख्नु आवश्यक छ । पछिल्लो पुस्ताले तीजको सांस्कृतिक महत्व र परम्परासँगै नयाँ प्रस्तुतिलाई समेत रुचाउने भएकाले सोहीअनुसार गीत तयार गरिएको उहाँको भनाइ छ ।
“मोफसलमा रहेर पनि आफ्नो मौलिक कला र संस्कृतिलाई निरन्तरता दिने प्रयास गरिरहेको छु । तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता जोगाउँदै नयाँ पुस्ताले पनि रुचाउने सिर्जना ल्याउने प्रयास गरेका छौँ,” रम्तेलले बताउनुभयो ।
निर्माण पक्षले ‘म त परे जालैमा’ले तीजको सांस्कृतिक उत्सवलाई थप उल्लासमय बनाउने विश्वास लिएको छ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट श्रोता–दर्शकमाझ पु¥याउने तयारीसमेत गरिएको छ । तीज नजिकिँदै जाँदा विभिन्न कलाकारका नयाँ गीत सार्वजनिक हुने क्रम बढिरहेका बेला रम्तेलको यो गीत पनि यस वर्षको तीजका लागि सार्वजनिक भएका नयाँ सिर्जनामध्ये एक बनेको छ ।
प्रतिक्रिया दिनुहोस्