काठमाडौं, २९ असार । फिल्म ‘मुनामदनको ब्रेकअप’ बनाउने घोषणा भएको छ । २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘गोपी’को टिमले ‘मुनामदनको ब्रेकअप’ शीर्षकमा नयाँ फिल्म बनाउन लागेको हो । आइतबार यो फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएको छ । यस फिल्मको कथा लेखन ने सामीप्यराज तिमल्सेनाको रह्ने जनाइएको छ । फिल्मको कार्यकारी निर्मातामा फोटोग्राफर श्रीधर पौडेल रहेका छन् ।
फिल्ममा अभिनेता राज कटुवालको मुख्य भूमिका रहनेछ । उनले मदन पात्रको भूमिका निर्वाह गर्नेछन् । उनले पछिल्लो पटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए । यसमा उनको एक्सनको प्रशंसा भएको थियो । २ वर्षअघि रिलिज भएको ‘मेसो मिलाएर’ गीतमा अभिनय गरेपछि चर्चामा आएका उनले ‘लाल्टिन’, ‘लीला’ जस्ता फिल्ममा पनि काम गरेका छन् ।
निर्देशक लामाले फिल्ममा बाँकी कलाकारको विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्ने बताए । डेब्यू निर्देशकीय फिल्म ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई मनोरञ्जक फिल्मको रुपमा तयार पार्ने सोचमा छन् । उनका अनुसार फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइनेछ ।
फिल्मका लेखक तिमल्सेनाले पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएको भन्दा भिन्न स्वभावको प्रेमकथा फिल्ममा प्रस्तुत गरिने बताएका छन् । उनले अहिले दर्शकलाई हलसम्म तान्न धेरै मुश्किल रहेकाले पटकथामा सक्दो मिहिनेत गरिने बताए । यसअघि उनले ‘क्याप्टेन’, ‘नाइँ नभन्नू ल ५’, ‘किस्मत २’ जस्ता २० बढी फिल्मको कथा लेखिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्