काठमाडौँ, ११ भदौ । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज लक्षित गीत सार्वजनिक हुने क्रम बढेको छ । यही क्रममा गायिका भावना आचार्यले लोकप्रिय गायक बद्री पंगेनीसँगको सहकार्यमा नयाँ तीज गीत ‘सर्लक्कै’ सार्वजनिक गरेकी छन् । तीजको रमाइलो, नाचगान र उत्सवको माहोललाई केन्द्रमा राखेर तयार पारिएको गीतले यस वर्षको तीजमा दर्शक–श्रोतामाझ छुट्टै छाप बनाउने अपेक्षा गरिएको छ ।
‘बग्ने खोला’लगायतका गीतबाट लोकप्रियता हासिल गरेकी आचार्यले हरेक वर्ष तीजलाई लक्षित गर्दै नयाँ सांगीतिक प्रस्तुति ल्याउँदै आउनु भएको छ । यसपटक भने बद्री पंगेनीसँग स्वर मिलाउँदै ‘सर्लक्कै’ ल्याउनु भएको हो । तीजमा परिवार, साथीभाइ र आफन्तसँग रमाइलो गर्दै छमछमी नाच्ने वातावरण बनाउन गीत तयार गरिएको गायिका आचार्यको भनाइ छ ।
गीतको भिडियोमा अभिनेत्री पुजन घिमिरे ‘पुकु’, सुरेश देवल र भावना आचार्य स्वयंको अभिनय रहेको छ । भिडियोमा कलाकारहरूको नृत्य, हाउभाउ र अभिनयमार्फत गीतको उत्सवमय भावलाई प्रस्तुत गरिएको छ । तीजको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई आकर्षक दृश्यसँग जोडेर भिडियो तयार गरिएको निर्माण पक्षले जनाएको छ ।
‘सर्लक्कै’को भिडियो अभिषेक वाग्ले ‘अबि’ले निर्देशन गुर्नभएको छ । गीतको भावअनुसार नृत्य र दृश्य संयोजनलाई प्राथमिकता दिइएको भिडियोमा भावना आचार्यको नृत्य तथा अभिनयलाई पनि विशेष स्थान दिइएको छ । गायनसँगै नृत्यमा समेत रुचि राख्ने आचार्य आफ्ना गीतका भिडियोमा आफैं प्रस्तुत हुँदै आउनु भएको छ ।
आचार्यले ‘बग्ने खोला’, ‘मुलको पानी’, ‘चट्ट रातो सारीमा’, ‘टिकटक चलाउने’, ‘उडी उडी आ सुवा’, ‘मलाई दिउँ दिउँ झैँ लाग्ने’, ‘खानी भातै हो’ र ‘जानी घाटै हो’लगायत गीत सार्वजनिक गरिसक्नु भएको छ । उहाँको गीतमा नेपाली मौलिकता, तीजको उत्सव र मनोरञ्जनलाई प्राथमिकता दिइँदै आएको छ ।
पछिल्लो समय तीज गीतमा नयाँ पुस्ताका कलाकारको सहभागिता बढिरहेका बेला अनुभवी गायक बद्री पंगेनीसँगको सहकार्यले ‘सर्लक्कै’लाई थप आकर्षण दिएको छ । तीज तथा लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय पंगेनीको स्वर र आचार्यको प्रस्तुतिले गीतलाई फरक स्वाद दिने प्रयास गरिएको छ ।
गीत तथा भिडियो भावना आचार्यकै आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । तीजको माहोल सुरु भएसँगै विभिन्न नयाँ गीत बजारमा आइरहेका बेला ‘सर्लक्कै’ पनि यस वर्षको तीज गीतको सूचीमा थपिएको छ । आकर्षक भिडियो, चर्चित कलाकारको अभिनय र दुई पुस्ताका लोकप्रिय स्वरको संयोजनका कारण गीतले तीजका कार्यक्रम तथा सामाजिक सञ्जालमा दर्शकको साथ पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्