काठमाडौँ, १ असोज । टोटनहम हट्सपरले प्रिमियर लिग टोलीविरुद्ध लामो समयदेखि जारी गोलको खडेरी अन्त्य गरे पनि काराबाओ कपको यात्रा भने तेस्रो चरणमै टुंग्याएको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा टोटनहमलाई ३–१ ले हराउँदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो ।
लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सोबोस्लाईले गोल गरे । टोटनहमका लागि कोनर गालाघरले एक गोल फर्काए । दुई टोलीले नियमित खेलाडीलाई आराम दिँदै ठूलो संख्यामा परिवर्तन गरेको अवस्थामा पनि खेल प्रतिस्पर्धात्मक बनेको थियो । लिभरपुलले अघिल्लो खेलको टोलीमा १० परिवर्तन गरेको थियो भने टोटनहमले आठ खेलाडी परिवर्तन गरेको थियो ।
टोटनहमले सुरुआतमै गोल गर्ने राम्रो अवसर पाएको थियो । लुकास बर्गभालको नजिकबाट गरिएको प्रहारलाई लिभरपुलका गोलरक्षक जियोर्जी मामार्दाश्भिलीले खुट्टाले रोक्दै टोलीलाई संकटबाट जोगाए । त्यसको केही समयपछि लिभरपुलले अग्रता लियो ।
२१औँ मिनेटमा रियो एनगुमोहाको पासलाई म्याक एलिस्टरले उत्कृष्ट फिनिसिङ गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । त्यसपछि टोटनहमले बराबरीको अवसर सिर्जना गरे पनि मोहम्मद कुडुसको प्रहार लक्ष्यमा पुग्न सकेन । पहिलो हाफ लिभरपुलको अग्रतामै सकियो ।
दोस्रो हाफमा लिभरपुलले अग्रता थप फराकिलो बनायो । ५४औँ मिनेटमा म्याक एलिस्टरसँगको उत्कृष्ट संयोजनपछि कोडी गाक्पोले गोल गर्दै घरेलु टोलीलाई २–० को अवस्थामा पु¥याए । गाक्पोले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार टोटनहमका गोलरक्षक मार्टिन डुब्राभ्काले रोक्न सकेनन् ।
दुई गोलले पछि परेको टोटनहमले त्यसपछि खेलमा फर्कने प्रयास ग¥यो । ६९औँ मिनेटमा गालाघरले कर्नरबाट आएको बलमा हेडमार्फत गोल गर्दै अन्तर २–१ मा झारे । यो गोल टोटनहमका लागि यस सिजन शीर्ष डिभिजनका विपक्षीविरुद्ध पहिलो गोल पनि बन्यो । टोलीले यसअघि प्रिमियर लिगका विपक्षीविरुद्ध गोल गर्न सकेको थिएन ।
गालाघरको गोलपछि टोटनहमले बराबरीका लागि दबाब बढायो । ओमार मार्मुसले गोल गर्ने उत्कृष्ट अवसर पाए पनि मामार्दाश्भिलीले महत्वपूर्ण बचाउ गर्दै लिभरपुलको अग्रता जोगाए । टोटनहमले खेलको पछिल्लो चरणमा दबाब सिर्जना गरे पनि बराबरी गोल निकाल्न सकेन । खेलमा टोटनहमले ५६ प्रतिशत बल नियन्त्रणमा राख्दै १७ प्रहार गरेको थियो भने लिभरपुलले १२ प्रहार गरेको थियो ।
बराबरीको सम्भावना देखिन थालेका बेला लिभरपुलका डोमिनिक सोबोस्लाईले खेलको अन्त्यतिर उत्कृष्ट प्रहार गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा उनले करिब लामो दूरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि लिभरपुलले ३–१ को जित पक्का ग¥यो ।
लिभरपुलले यस खेलमा नियमित टोलीका धेरै खेलाडीलाई विश्राम दिएको थियो । कप्तान जो गोमेजले टोलीको नेतृत्व गरेका थिए भने रोनाल्ड अराउखो मात्र अघिल्लो खेलबाट सुरुआती टोलीमा कायम रहेका थिए । जो गोमेजले चोटपछि यस सिजन पहिलोपटक मैदानमा उत्रिएका थिए ।
लिभरपुलका प्रशिक्षक एन्डोनी इराओलाका लागि ठूलो संख्यामा खेलाडी परिवर्तन गरे पनि टोलीले नतिजा निकाल्नु सकारात्मक पक्ष बनेको छ । युवा खेलाडी लुइस कौमासले पनि प्रभावशाली प्रदर्शन गरेपछि समर्थकको मतबाट खेलका उत्कृष्ट खेलाडी चुनिएका छन् ।
यता टोटनहमका लागि हारसँगै काराबाओ कपको यात्रा समाप्त भएको छ । यद्यपि गालाघरको गोलले टोलीको लामो गोलविहीनता भने तोडिएको छ । अब टोटनहमको ध्यान घरेलु लिगमा केन्द्रित हुनेछ भने लिभरपुलले काराबाओ कपको चौथो चरणमा स्थान बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्