पूर्वी पृतनामा ‘पृतनापति ट्रफी–२०८३’ सुरु, एक हजार नजिक सैनिक खेलाडी प्रतिस्पर्धामा

काठमाडौं, १९ जेठ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा सोमबारदेखि ‘पृतनापति ट्रफी–२०८३’ प्रतियोगिता सुरु भएको छ । सैनिक खेलकुदको विकास, उत्कृष्ट खेलाडीको पहिचान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा यस वर्ष झण्डै एक हजार सैनिक खेलाडी सहभागी भएका छन् ।

पूर्वी पृतना अन्तर्गतका विभिन्न युनिटका सैनिक खेलाडीबीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगिता यही जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो तथा एथलेटिक्स गरी आठ विधाका खेल समावेश गरिएका छन् ।

पूर्वी पृतना मुख्यालयका अनुसार प्रतियोगितामा ८२० पुरुष र १७६ महिला गरी कुल ९९६ खेलाडी सहभागी छन् । पूर्वी पृतना हेडक्वाटरअन्तर्गत रहेका तीन बाहिनी, १० गण तथा चार गुल्मका सैनिक खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीले पृतनापति ट्रफीलाई सैनिक खेलकुद विकासको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभयो । उहाँले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता, सीप र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार पृतनापति ट्रफी केन्द्रीयस्तरमा आयोजना हुने प्रधान सेनापति ट्रफीका लागि छनोट प्रतियोगिताका रूपमा समेत रहेको छ । त्यसैले यहाँको प्रदर्शनले खेलाडीहरूको आगामी यात्रामा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“प्रतियोगितामा प्राप्त सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित हुँदैन, यसले सम्बन्धित युनिट, बाहिनी तथा समग्र पृतनाको प्रतिष्ठा, गौरव र गरिमासँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ,” पृतनापति केसीले भन्नुभयो ।

उहाँले खेलकुदलाई केवल प्रतिस्पर्धा र पदक जित्ने माध्यमका रूपमा मात्र नहेर्न आग्रह गर्दै सामूहिक भावना, आपसी सहयोग, अनुशासन, नेतृत्व क्षमता तथा सहनशीलता विकास गर्ने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। खेलकुदले सैनिक जीवनमा आवश्यक पर्ने शारीरिक तथा मानसिक क्षमताको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

नेपाली सेनाले विसं २०६५ देखि ‘प्रधान सेनापति ट्रफी’ सञ्चालन गर्दै आएको छ । उक्त प्रतियोगितामार्फत सेनाभित्र रहेका प्रतिभावान खेलाडीको पहिचान, खेलकुद संस्कृतिको विकास तथा राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान पु¥याउने लक्ष्य लिइएको छ । पृतनास्तरमा सञ्चालन हुने प्रतियोगिताहरूलाई सोही अभियानको महत्वपूर्ण कडीका रूपमा लिइन्छ ।

यस वर्षको पृतनापति ट्रफीबाट उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूले आगामी भदौ महिनामा काठमाडौंमा आयोजना हुने ‘प्रधान सेनापति ट्रफी–२०८३’ मा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् । त्यसैले सहभागी खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण देखिएको आयोजकले जनाएको छ ।

नेपाली सेनाभित्र खेलकुद गतिविधिलाई संस्थागत रूपमा विस्तार गर्दै उत्कृष्ट खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको पृतनापति ट्रफीले सैनिक खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै राष्ट्रिय खेलकुद क्षेत्रमा समेत नयाँ प्रतिभा स्थापित गर्न योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्