काठमाडौँ, १९ भदौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ तथा मुख्य संरचनामा फसेका व्यक्तिको खोजी तथा उद्धार प्रयास तीव्र पारिएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको प्रवेशद्वारमा थुप्रिएको माटो, लेदो, ठूला ढुङ्गा र बाढीले बगाएर ल्याएका फलामजन्य संरचना हटाउँदै सुरुङभित्र प्रवेश गर्ने बाटो खोल्ने काम भइरहेको छ ।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ सुरुङ उद्धार टोली, आयोजना सम्बद्ध प्राविधिक तथा अन्य जनशक्ति गरी ९३ सदस्यीय टोली घटनास्थलमा परिचालित छ । उद्धार टोलीले पाँच वटा एक्स्क्याभेटर, कम्प्रेसर, ब्रेकरलगायत उपकरणको प्रयोग गरी दिनरात काम गरिरहेको जनाएको छ । बाढीले आयोजनाका सुरुङ तथा अन्य मुख्य संरचना पुरिएपछि त्यहाँ मानिसहरू फसेको हुनसक्ने आशङ्कामा खोजी तथा उद्धारलाई प्राथमिकता दिइएको हो ।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो डेब्रिस थुप्रिएको थियो । त्यसमा बाढीले बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूला ढुङ्गा मिसिएका छन् । निरन्तरको प्रयासपछि उद्धार टोलीले थुप्रोको माथिल्लो भागतर्फ करिब १० फिट लम्बाइ र चार फिट उचाइ बराबरको प्रवेशद्वार खोल्न सफल भएको नेपाली सेनाले जनाएको छ ।
तर, यो प्रवेशद्वारबाट उद्धारका लागि आवश्यक मेसिन तथा उपकरण भित्र लैजान पर्याप्त ठाउँ अझै बनेको छैन । त्यसैले बाँकी डेब्रिस हटाउने कामलाई निरन्तरता दिइएको छ । आयोजनास्थलमा रहनुभएका सांसद श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र प्रवेश गरी माटो हटाउने तथा पानी बाहिर निकाल्ने काम पनि गरिरहेको छ ।
उहाँका अनुसार एक्स्क्याभेटर तथा अन्य मेसिन सुरुङभित्र प्रवेश गराएर काम गर्न सुरुङको मुख पूर्ण रूपमा खुलाउनुपर्ने अवस्था छ । त्यसका लागि प्रवेशद्वार वरपर रहेको बाँकी भग्नावशेष हटाउने काम भइरहेको छ । सुरुङको बाटो अवरुद्ध गरिरहेका थप सात ठूला बोल्डरलाई ब्लास्टिङमार्फत हटाउने तयारीसमेत भइरहेको छ ।
करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ । सुरुङभित्र जम्मा भएको माटो, लेदो र ढुङ्गा हटाएर बाटो खुलाएपछि मात्रै पावरहाउस तथा आयोजनाका अन्य संरचनासम्म पुग्न सकिने नेपाली सेनाले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको बाढीले नदीको बहाव क्षेत्र आसपासका विभिन्न जलविद्युत् आयोजना तथा पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । बाढीपछि सुरुङ तथा भूमिगत संरचनाभित्र मानिस फसेको हुनसक्ने आशङ्कामा नेपाली उद्धार टोलीसँगै विभिन्न मुलुकका विशेषज्ञ टोली पनि परिचालन भएका छन् ।
सरकारले सुरुङ खोल्ने दिशामा उल्लेख्य काम अघि बढेको भए पनि भित्री भागमा हिलो र ठूला ढुङ्गा भरिएकाले उद्धारका लागि अझै ठूलो परिमाणमा भग्नावशेष हटाउनुपर्ने जनाएको छ । उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन नेपाली पक्षसँग विदेशी टोली तथा आवश्यक उपकरणको समन्वयसमेत अघि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लाङटाङ क्षेत्रमा नेपाली उद्धार टोलीसँग निकट समन्वयमा काम गरिरहेको छ । आवश्यक उपकरणसहित भारतीय टोलीले खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको र थप सहयोगका रूपमा एउटा एक्स्क्याभेटरसमेत चिलिमेतर्फ पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
लाङटाङ क्षेत्रमा पनि उद्धार कार्यलाई थप व्यवस्थित बनाइएको छ । त्यहाँ २५ जना नेपाली सेना, जलविद्युत् आयोजनाका दुई जना कर्मचारी तथा ड्रिलिङ उपकरणसहित आधुनिक मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिमतर्फ अर्को सानो प्वाल खोलिएको छ । उक्त स्थानमा थप काम जारी रहेको मन्त्रालयले जनाएको छ ।
अपर त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा चिनियाँ सुरुङ उद्धार टोली नेपाली उद्धार टोलीसँगै परिचालित छ । मन्त्रालयका प्रवक्ता क्षेत्रीका अनुसार थप जनशक्ति र उपकरणसहित उद्धार टोलीलाई सुदृढ बनाइएको छ । विभिन्न प्राविधिक सीप र उपकरणको उपयोग गर्दै सुरुङभित्रको अवस्था पहिचान गर्ने तथा अवरोध हटाउने काम भइरहेको छ ।
उद्धार अभियान अपर त्रिशूली–३ ‘ए’ मा मात्र सीमित छैन । अपर त्रिशूली–३ ‘बी’ साइटमा पनि नेपाली सेना र जलविद्युत् आयोजनाका प्राविधिक विज्ञसहितको टोली परिचालन गरिएको छ । त्यहाँ ६७ जना नेपाली सेना तथा आयोजनाका तीन जना प्राविधिक विज्ञ एक्स्क्याभेटरसहित खोजी तथा उद्धारमा संलग्न छन् । भग्नावशेष संरचना खोज तथा उद्धार टोलीलाई पनि सो कार्यमा थप गरिएको छ ।
हाकुस्थित अपर त्रिशूली आयोजनामा पनि नेपाली सेना र आयोजनाका कर्मचारी पुनः सुरुङभित्र प्रवेश गरी खोजी कार्यमा जुटिरहेका छन् । सुरुङ तथा आसपासको संरचनामा बाढीले पु¥याएको क्षतिको अवस्थालाई ध्यानमा राख्दै सुरक्षित ढङ्गले खोजी अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै, रसुवागढी साइटमा एक्स्क्याभेटर परिचालन गर्न सकिने वा नसकिने अवस्थाको मूल्याङ्कन गर्न रेकी उडान सञ्चालन भइरहेका छन् । स्थलको भौगोलिक अवस्था, पहुँच तथा मेसिन लैजान सकिने सम्भावनाबारे जानकारी लिएपछि थप उद्धार तथा भग्नावशेष हटाउने योजना अघि बढाइने जनाइएको छ ।
अपर त्रिशूली–१ आयोजनास्थलमा पनि खोजी तथा उद्धार कार्य जारी छ । मन्त्रालयका अनुसार कोरियाली सुरुङ उद्धार टोली नेपाली उद्धार टोलीसँग मिलेर सुरुङ खोल्ने काममा संलग्न छ । विदेशी टोलीको प्राविधिक सहयोग र नेपाली सुरक्षाकर्मी तथा आयोजनाका कर्मचारीको स्थानीय ज्ञानलाई समन्वय गर्दै उद्धार प्रयास अघि बढाइएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा अहिलेको मुख्य चुनौती सम्भावित पीडितसम्म छिटो पुग्नु र अवरुद्ध सुरुङ तथा संरचनाभित्र सुरक्षित रूपमा प्रवेश गर्नु रहेको देखिएको छ । बाढीले थुपारेको डेब्रिसका कारण सामान्य पहुँचसमेत कठिन बनेपछि भारी उपकरणको प्रयोग आवश्यक भएको छ । त्यसैले सुरुङको मुख खोल्ने प्रारम्भिक कामदेखि भित्रको लेदो र ढुङ्गा हटाउने चरणसम्म उद्धार टोलीले क्रमिक रूपमा काम अघि बढाइरहेको छ ।
सरकारले विभिन्न साइटमा स्वदेशी सुरक्षाकर्मी तथा आयोजनाका प्राविधिकसँगै चीन, भारत र कोरियाबाट आएका सुरुङ उद्धार विशेषज्ञ टोली परिचालन गर्नुको उद्देश्य खोज तथा उद्धार क्षमतालाई थप प्रभावकारी बनाउनु रहेको जनाएको छ । आवश्यकताअनुसार उपकरण र जनशक्ति थप गर्दै उद्धार अभियानलाई निरन्तरता दिइने मन्त्रालयको भनाइ छ ।
भोटेकोशी बाढीपछि भूमिगत संरचनामा हुनसक्ने मानवीय क्षतिको सम्भावनालाई गम्भीरतापूर्वक लिँदै सुरुङ खोल्ने, भग्नावशेष हटाउने र सम्भावित प्रभावितको खोजी गर्ने कामलाई प्राथमिकता दिइएको छ । त्रिशूली–३ ‘ए’ मा केही भाग प्रवेशयोग्य बनिसके पनि सुरुङको सम्पूर्ण भाग सुरक्षित रूपमा खुलाउन बाँकी रहेकाले उद्धार टोलीको प्रयास अझै लामो हुनसक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्