काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका दुवै जनाको पहिचान भएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण आयोजनाका विभिन्न संरचनामा क्षति पुगेपछि सुरुङभित्र मानिसहरू फसेको आशङ्कामा नेपाली सेना तथा प्राविधिक टोलीले खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो। निरन्तरको खोजी तथा उद्धार प्रयासपछि शुक्रबार बिहान साह र महर्जनलाई जीवित अवस्थामा बाहिर निकालिएको हो।
उद्धार गरिएका कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ। आयोजना प्रमुख आवास ओझाले महर्जन आयोजनाका कर्मचारी रहेको जानकारी दिनुभयो।
त्यस्तै, शुक्रबार बिहानै जीवितै उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी हुनुहुन्छ। उहाँ प्राधिकरणको चौथो तहका कर्मचारी रहेको जनाइएको छ।
बाढीपछि सुरुङमा थुप्रिएको माटो, लेदो, ढुङ्गा तथा भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। सुरुङसम्म पुग्ने बाटो खोल्न नेपाली सेनाको नेतृत्वमा स्वदेशी तथा विदेशी उद्धार टोली परिचालित थिए।
यसअघि सुरुङको प्रवेशद्वारमा थुप्रिएको ठूलो परिमाणको डेब्रिस हटाउँदै उद्धार टोलीले भित्री भागतर्फ प्रवेश गर्ने बाटो बनाएको थियो। विभिन्न उपकरण तथा प्राविधिक जनशक्तिको प्रयोग गर्दै सुरुङभित्रको माटो र पानी हटाउने कामसमेत अघि बढाइएको थियो।
दुई जनाको जीवित उद्धारसँगै लामो समयदेखि सुरुङभित्र फसेका व्यक्तिको खोजीमा जुटिरहेका उद्धार टोलीको प्रयासले महत्वपूर्ण सफलता पाएको छ। बाढीबाट प्रभावित अन्य क्षेत्रमा पनि सम्भावित रूपमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्