एसिसी मेन्स प्रिमियर कपमा बहराइनमाथि नेपालको जित एसिसी मेन्स प्रिमियर कपमा बहराइनमाथि नेपालको जित

 

काठमाडौँ, १६ भदौ । काठमाडौं । कप्तान सन्दीप लामिछानेको घातक बलिङ र ओपनर अर्जुन कुमालको संयमित ब्याटिङसँगै नेपालले मलेसियामा जारी एसिसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहे भने रोहित पौडेलले १९ रनको नटआउट योगदान दिए । दुई ब्याटरले चौथो विकेटका लागि संयमित साझेदारी गर्दै नेपाललाई सहज जितसम्म पु¥याए ।

लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुआत भने केही सतर्क भएर गरेको थियो । अर्जुन कुमाल र आशिफ शेखले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गर्दै जितको आधार तयार पारे। आशिफ १८ रन बनाएर आउट भएपछि नेपालले लगातार दुई विकेट गुमायो ।

देव खनाल १० रनमा रनआउट भए भने इशान पाण्डेले १ रन मात्रै बनाउन सके । ५८ रनमा तेस्रो विकेट गुमाएपछि केही समय नेपाल दबाबमा देखिए पनि अर्जुन र रोहितले सम्हालिएको ब्याटिङ गर्दै टोलीलाई लक्ष्यसम्म पु¥याए ।
त्यसअघि टस जितेर नेपालले बहराइनलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपाली बलरले सुरुदेखि नै विपक्षी ब्याटिङमाथि दबाब कायम राखे । बहराइनले ३६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो ।

बहराइनको सुरुआत निकै कमजोर रह्यो। २९ रन जोड्दासम्म उसले तीन विकेट गुमाइसकेको थियो । कप्तान आशिफ अली ४ रनमा तथा फ्लाज अहमद १५ रनमा करण केसीको बलमा आउट भए । करणले सुरुआतमै दुई विकेट लिएपछि बहराइनको ब्याटिङ दबाबमा परेको थियो ।

ललित नारायण राजवंशीले ९ रन बनाएका प्रशान्त कुरूपलाई आउट गर्दै नेपालको पकड थप बलियो बनाए । त्यसपछि कप्तान सन्दीप लामिछाने बलिङमा आएपछि बहराइनका ब्याटरहरू झनै समस्यामा परे ।

सन्दीपले आमेर बिन नासिर र सुजात रसोल खानलाई समान २ रनमा आउट गरे। त्यसपछि इमरान जाभेद ९ रनमा र अर्का ब्याटर १ रनमा सन्दीपकै बलिङको सिकार बने । यस क्रममा उनले बहराइनको मध्यक्रमलाई ध्वस्त पार्दै नेपालको जितको आधार तयार पारे ।

बहराइन २४.५ ओभरमा ८ विकेट गुमाएर ६७ रनमा सीमित भइसकेको थियो । त्यसपछि रिजवान बट्लाई २ रनमा एलबिडब्लु आउट गर्दै सन्दीपले आफ्नो पाँचौँ विकेट पूरा गरे । अन्ततः अलि दाउद १० रनमा आउट भएपछि बहराइन ८७ रनमै समेटियो ।

सन्दीपको बलिङ तथ्यांक नेपाली टोलीको दबदबा देखाउन पर्याप्त रह्यो । उनले १० ओभरमा केवल १४ रन खर्चेर ५ विकेट लिए । ललित नारायण राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइनको पूरै इनिङ्स ८७ रनमा रोकिएको थियो ।

बलिङमा कप्तानको उत्कृष्ट प्रदर्शनपछि ब्याटिङमा अर्जुन र रोहितले जिम्मेवारी सम्हाल्दा नेपालले प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली जित निकाल्यो । सात विकेटको जितसँगै नेपालको आत्मविश्वास पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्