विनाशकारी बाढीः ६६९ शव फेला, २,४२६ वेपत्ता, २३७१ को उद्धार, भारत र चीनका सुरुङ उद्धार टोलीद्वारा खोज तथा उद्धार जारी

काठमाडौँ, १४ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान जारी रहे पनि विपद्को मानवीय क्षति झन् भयावह बन्दै गएको छ । शनिबार अपराह्न ४ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ६६९ जनाको शव फेला परेको छ ।
शनिबार अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन छन् । विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरी तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा १५ हजार २२४ सुरक्षाकर्मी परिचालन भएका छन् । उद्धार अभियानसँगै घाइते तथा जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, राहत उपलब्ध गराउने र सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने कामलाई तीव्रता दिइएको छ ।
प्राप्त विवरणअनुसार मृतकको संख्या विभिन्न जिल्लामा फैलिएको छ । चितवनमा सबैभन्दा धेरै २४८ शव फेला परेका छन् । त्यसपछि नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेको विवरण छ । बाढीमा परी घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका व्यक्तिको संख्या २ हजार ३७१ पुगेको छ ।
तीमध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरिएको जनाइएको छ । काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या पनि उल्लेख्य रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि सम्पर्कविहीनको संख्या २ हजार ४२६ पुगेको तथ्यले खोजी अभियानको चुनौती स्पष्ट पार्छ । सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीदेखि स्थानीय बासिन्दा, विदेशी नागरिक, विदेशमा बस्ने नेपाली तथा सुरक्षाकर्मीसमेत छन् ।
प्राप्त विवरणअनुसार जलविद्युत् आयोजनासँग सम्बन्धित ९३३ जना, विदेशी नागरिक ५१७ जना तथा विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन् । बाढीमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली नेपाल आएको छ । शनिबार दिउँसो चिनियाँ विज्ञको ६ जनाको टोली नेपाल आएको हो । उनीहरु सरकारको अनुमतिमा बाढीग्रस्त क्षेत्रमा खटिएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ । सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिइ काम सुरु गरेका छन् । रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेकाबेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोलीहरू आजै नेपाल आइपुगेका हुन् ।
भारतबाट शनिबार सहायता सामग्री तथा ११ सदस्यीय चिकित्सा र सुरुङ उद्धार टोलीसहितको उडान काठमाडौँ अवतरण गरी प्रभावित क्षेत्रमा खटिएको हो । त्यस्तै चीनबाट पनि सुरुङ उद्धार विशेषज्ञहरू अपराह्न नेपाल पुगी बाढी प्रभावित क्षेत्रमा खटिइसकेका छन् ।
नेपाल सरकारले आजै उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको जनाएको थियो ।  जिल्लागत विवरणमा रसुवाबाट ५६२, नुवाकोटबाट ११५ र मकवानपुरबाट ६५ जना सम्पर्कविहीन रहेको उल्लेख छ ।
सुरक्षा निकायभित्र पनि क्षति पुगेको छ । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५ तथा सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन रहेको विवरण छ । यसबाहेक भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार तथा लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कमा नरहेको जनाइएको छ  । यसले खोज तथा उद्धार अभियान केवल प्राकृतिक विपद्मा फसेका सर्वसाधारणको खोजीमा मात्र सीमित नभई सरकारी तथा सुरक्षा संयन्त्रमा कार्यरत व्यक्तिको अवस्थासमेत पत्ता लगाउने चुनौतीसँग जुधिरहेको देखाउँछ ।
बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी ज्यान गुमाएकाको अन्तिम संस्कारका लागि प्रतिव्यक्ति रु २५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले शनिबार  आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको हो ।  बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यवस्था गरेको छ ।”
बाढीको बहावसँगै त्रिशूली र नारायणी नदीमा बगेर आएका ठूलो संख्याका शव चितवनमा भेटिएपछि त्यहाँ शवको पहिचान तथा व्यवस्थापन थप जटिल बनेको छ  । चितवनमा फेला परेका शवमध्ये धेरैको तत्काल पहिचान हुन सकेको छैन ।
शव भण्डारणका लागि पर्याप्त ‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा प्रहरीलाई ती शव सुरक्षित राख्न ‘हम्मेहम्मे’ परेको छ । अस्पतालका शव गृह भरिएका छन् । शव भण्डारणमा समस्या देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज केही शव जमिनमा समाधिस्थ गरेको छ ।
प्रशासनका अनुसार शव लामो समयसम्म सुरक्षित राख्न कठिन हुँदै गएपछि पहिचान नभएका शवको डीएनए नमुना संकलन, संकेत नम्बरका आधारमा अभिलेखीकरण र त्यसपछि सम्मानजनक रूपमा जमिनमुनि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ । यसअघि चितवनमा भेटिएका शवको संख्या २३३ रहेको विवरण सार्वजनिक भएको थियो भने पछिल्लो समग्र तथ्याङ्कमा जिल्लामा २४८ शव फेला परेको उल्लेख छ ।
भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा शव व्यवस्थापन गरिएको छ । शव राखिने स्थानलाई भविष्यमा परिवार वा आफन्तले पहिचान तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन सक्ने गरी स्पष्ट रूपमा चिन्ह लगाउने र अभिलेख राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार शवको पहिचान, अभिलेखीकरण र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा सम्बन्धित निकायले जोड दिएका छन् । पहिचान गर्न तत्काल सम्भव नभएका शवलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दा त्यसको स्थान, उपलब्ध पहिचान विवरण तथा सम्भव भएसम्म फोटो र अन्य अभिलेख सुरक्षित राख्नु आवश्यक मानिन्छ ।
यो प्रक्रिया आफैँमा अत्यन्त संवेदनशील छ । बाढीमा आफन्त गुमाएका परिवारका लागि शवको पहिचान केवल प्रशासनिक प्रक्रिया होइन, आफ्ना प्रियजनको अवस्थाबारे अन्तिम सत्य थाहा पाउने अधिकारसँग जोडिएको विषय हो । त्यसैले शव व्यवस्थापन गर्दा स्वास्थ्य सुरक्षा र मानवीय सम्मानसँगै भविष्यमा पहिचान गर्न सकिने सम्भावनालाई पनि सुरक्षित राख्नु आवश्यक हुन्छ ।
बाढीपहिरोपछि शव व्यवस्थापनमा ढिलाइ हुँदा स्वास्थ्य तथा सरसफाइसम्बन्धी जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले यस पक्षलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने अवस्था छ । ठूलो संख्यामा शव एकैपटक संकलन हुँदा अस्पताल तथा शवगृहको क्षमता पर्याप्त नहुन सक्छ । त्यसकारण सुरक्षित भण्डारण, अभिलेखीकरण र व्यवस्थापनका लागि वैकल्पिक संरचनाको आवश्यकता पर्न सक्छ ।
चितवनमा शव कुहिन थालेपछि स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्था देखिएको प्रशासनले जनाएको छ । यही कारण पहिचानका लागि आवश्यक नमुना संकलन गरी शवलाई सुरक्षित र सम्मानजनक रूपमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको हो ।
तर शव कुहिनु र त्यसबाट तत्कालै ठूलो संक्रामक रोग फैलिन्छ भन्ने निष्कर्षमा पुग्नु उचित हुँदैन । विपद्पछिको स्वास्थ्य जोखिमलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । दूषित पानी, सरसफाइको अभाव, खानेपानीको समस्या, भीडभाड र स्वास्थ्य सेवामा अवरोधजस्ता पक्षले भने विपद्पछिको स्वास्थ्य जोखिम बढाउन सक्छन् ।
त्यसैले शव व्यवस्थापनसँगै सुरक्षित खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई समान प्राथमिकता दिनुपर्ने हुन्छ ।सम्पर्कविहीन व्यक्तिको संख्या ठूलो रहेकाले अहिलेको सबैभन्दा महत्वपूर्ण कार्य खोजी तथा उद्धारलाई निरन्तरता दिनु हो ।
सुरक्षाकर्मीले कठिन भौगोलिक क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट खोजी गरिरहेका छन् ।  बाढीले सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा क्षति पु¥याएका कारण कतिपय क्षेत्रमा पुग्न अझै कठिनाइ रहेको छ ।
खोज तथा उद्धारलाई प्रभावकारी बनाउन दक्ष उद्धारक, ड्रोन, खोजी कुकुर, गोताखोर तथा भत्किएका संरचनामा उद्धार गर्ने विशेष टोली परिचालन गरिएको छ । यसले विपद् व्यवस्थापनलाई परम्परागत उद्धारभन्दा आधुनिक प्रविधि र विशेषज्ञतासँग जोडेर अघि बढाइएको देखाउँछ ।
तर हजारौँ मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोजी अभियानसँगै तथ्याङ्क व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण छ । एउटै व्यक्तिको नाम विभिन्न जिल्लाबाट सम्पर्कविहीनको सूचीमा पर्न सक्ने वा सम्पर्कमा आइसकेका व्यक्तिको विवरण अद्यावधिक हुन ढिलो हुने सम्भावना रहन्छ । त्यसैले स्थानीय प्रशासन, सुरक्षा निकाय, अस्पताल, पर्यटनसम्बन्धी निकाय तथा परिवारबीच सूचनाको एकीकृत प्रणाली आवश्यक हुन्छ ।
विपद्को तथ्याङ्कमा अंक देखिए पनि प्रत्येक अंक पछाडि एउटा परिवार, एउटा सम्बन्ध र एउटा जीवन जोडिएको हुन्छ । २ हजार ४२६ जना सम्पर्कविहीन रहेको तथ्यले हजारौँ परिवार अहिले अनिश्चितताको अवस्थामा रहेको देखिन्छ ।  उनीहरूका लागि आफ्नो आफन्त जीवित छन् वा छैनन् भन्ने यकिन सूचना पाउनु नै पहिलो आवश्यकता हो ।
यसकारण खोजी तथा उद्धारसँगै सम्पर्कविहीन व्यक्तिको विवरण सार्वजनिक गर्ने, पहिचानको प्रक्रिया पारदर्शी बनाउने र परिवारलाई नियमित सूचना उपलब्ध गराउने व्यवस्था प्रभावकारी हुनुपर्छ । शव भेटिएपछि पनि पहिचान प्रक्रिया वैज्ञानिक र सम्मानजनक हुन आवश्यक छ ।
भोटेकोशी बाढीले तत्कालीन उद्धार र राहतसँगै विपद्पछिको व्यवस्थापन कति जटिल हुन सक्छ भन्ने गम्भीर पाठ दिएको छ । ठूलो संख्यामा मानवीय क्षति हुँदा शव व्यवस्थापन, पहिचान, स्वास्थ्य सुरक्षा र परिवारसँग समन्वयलाई उद्धार अभियानकै अभिन्न अंगका रूपमा लिनुपर्ने हुन्छ ।
अहिले सम्पर्कविहीन रहेका नागरिकको खोजी गरी सम्भव भएसम्म जीवनरक्षा गर्नु र अर्कोतर्फ फेला परेका शवको वैज्ञानिक, सुरक्षित तथा सम्मानजनक व्यवस्थापन गर्नु रहेको छ ।  बाढीको पानी घट्दै गए पनि विपद्को मानवीय प्रभाव तत्काल समाप्त हुँदैन । प्रभावित परिवारको पीडा, सम्पर्कविहीनको खोजी, घाइतेको उपचार, शवको पहिचान र व्यवस्थापन तथा सम्भावित स्वास्थ्य जोखिमको निगरानी लामो समयसम्म जारी राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्