राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट सहयोग जुट्दै, प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी रकम सङ्कलन

काठमाडौँ, १४ भदौ । विभिन्न मुलुक, अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संस्था तथा निजी क्षेत्रबाट सहयोग र सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । शनिबारसम्म प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट सहयोग जुट्न थालेको हो ।
विपद्का कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै क्षतिग्रस्त पूर्वाधार तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकार उच्च प्राथमिकताका साथ परिचालित भइरहेका बेला विभिन्न मुलुक, अन्तर्राष्ट्रिय संस्था, गैरसरकारी संस्था तथा निजी क्षेत्रबाट सहयोग र सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।
सरकारका अनुसार प्राप्त सहयोगमा नगद तथा सहुलियतपूर्ण ऋणदेखि खाद्यान्न, औषधि, अस्थायी आवास, खानेपानी तथा सरसफाइ सामग्री, उद्धार उपकरण, सञ्चार सञ्चालनका सामग्री र स्वास्थ्य तथा पोषणसम्बन्धी सहायता समेटिएका छन् । यसले विपद्पछिको तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक बहुआयामिक सहयोगतर्फ ध्यान केन्द्रित भएको देखाएको छ ।
अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । एडीबीले प्राविधिक सहायताका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
विश्व बैंकले बाढी प्रभावित क्षेत्रका लागि सहुलियतपूर्ण कर्जाका रूपमा १६७ मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । मन्त्रालयका अनुसार नेपालले अनुरोध गरेपछि उक्त रकम प्राप्त हुने प्रक्रिया अघि बढ्नेछ ।
यसैगरी अमेरिकी सरकारले पाँच लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको छ। अस्ट्रेलियाले ५० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीन र अमेरिकाबाट उपलब्ध हुने मानवीय सहायता शनिबारसम्म प्राप्त हुने जनाइएको छ ।
भारत सरकारबाट भने तीन चरणमा गरी हालसम्म ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भइसकेको अर्थ मन्त्रालयले जनाएको छ । विपद्को तत्कालीन अवस्थालाई ध्यानमा राख्दै औषधि तथा मानवीय सामग्रीको आपूर्ति प्रभावित नागरिकको राहत व्यवस्थापनमा महत्त्वपूर्ण हुने देखिन्छ ।
चीन सरकारले बाढी प्रभावित क्षेत्रमा ३० वटा बेलिब्रिज सहयोग गर्ने घोषणा गरेको छ । बाढी तथा पहिरोका कारण सडक तथा आवागमन संरचनामा क्षति पुगेका स्थानमा अस्थायी प्रकृतिका यस्ता पुलले आवागमन पुनःस्थापनामा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । चीनले शव व्यवस्थापनका लागि दुई हजार ‘एयरटाइट ब्याग’ उपलब्ध गराउने पनि जनाएको छ ।
स्विट्जरल्यान्डले संयुक्त राष्ट्रसंघको व्यवस्थापनमा खर्च हुने गरी एक मिलियन स्वीस फ्र्याङ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले बाढी प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि तत्काल १२ लाख अमेरिकी डलर सहयोग गर्ने जनाएको छ ।
आईएफआरसीका महासचिव जगन चापागाईंका अनुसार भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ गर्दै तत्काल मानवीय सहायता पु¥याउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो । नेपाल रेडक्रस तथा राष्ट्रिय निकायसँगको समन्वयमा आवश्यकताअनुसार थप सहयोग परिचालन गर्न आफूहरू तयार रहेको उनले बताएका छन् ।
बाढीपछि प्रभावित क्षेत्रमा राहतको आवश्यकता खाद्यान्नमा मात्र सीमित नभएको देखिएको छ । घर तथा पूर्वाधारमा क्षति पुगेका परिवारका लागि अस्थायी आवास, स्वच्छ खानेपानी, सरसफाइ, स्वास्थ्य तथा पोषण, सञ्चार सेवा, उद्धार उपकरण र संरक्षणसम्बन्धी सामग्रीको आवश्यकता पनि उत्तिकै देखिएको छ ।
अर्थ मन्त्रालयका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रभावित क्षेत्रमा यिनै आवश्यकतालाई केन्द्रमा राखेर सहयोग उपलब्ध गराइरहेका छन् ।
अक्सफामले दुई सय थान सरसफाइ सामग्रीका प्याकेट तथा एक हजार थान पानी शुद्धीकरणका लागि ‘एक्वा ट्याब्लेट’ उपलब्ध गराएको छ । संस्थाले रसुवा, धादिङ र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सहयोग गर्ने जनाएको छ । आपत्कालीन प्रयोगका लागि अस्थायी आवास र भान्साका सामग्रीसहित करिब एक करोड ६० लाख रुपैयाँ बराबरको गैरखाद्य सामग्री पनि पूर्वतयारी अवस्थामा राखिएको जनाएको छ  ।
डिसिए नेपालले धादिङमा एक सय जोर गमबुट, २० थान पिक्याक्स, २० थान बेल्चा, ५० बक्स पञ्जा र छ बक्स मास्क उपलब्ध गराएको छ । संस्थाले धादिङ र नुवाकोटमा परिवारका लागि टेन्ट, सौर्य बत्ती तथा खाद्यान्नको व्यवस्था गरिरहेको छ । पाँच सय परिवारका लागि खाद्यान्न खरिद प्रक्रिया अघि बढाइएको तथा शव व्यवस्थापनका लागि आवश्यक झोलालगायतका आपत्कालीन सामग्री उपलब्ध गराउने जनाएको छ ।
सेभ द चिल्ड्रेनले नुवाकोटमा दुई सय थान गैरखाद्य राहत सामग्री वितरण गरिसकेको छ । थप आठ सय थान गैरखाद्य राहत सामग्री उपलब्ध रहेको र एक हजार घरधुरीलाई लक्षित गरी राहत वितरणको योजना बनाइएको छ ।
विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित समुदायसम्म सूचना पु¥याउन कठिन हुने भएकाले सञ्चार पूर्वाधारको पुनःसञ्चालनलाई पनि राहत प्रयासको एउटा महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ  ।
ब्लिकनाओ फाउन्डेसनले नुवाकोटका लागि ५.५ किलोभोल्ट एम्पियर क्षमताका दुई जेनेरेटर उपलब्ध गराएको छ ।बिबिसी मिडिया एक्सनले रसुवाको रेडियो लाङटाङ तथा नुवाकोटका रेडियो चिम्टेश्वर र रेडियो त्रिशूलीका लागि ३.५ किलोवाट क्षमताका तीन जेनेरेटर उपलब्ध गराएको छ । संस्थाका कर्मचारीले नुवाकोटमै पुगेर जेनेरेटर हस्तान्तरण गर्नुका साथै स्थानीय रेडियोहरूलाई नियमित प्रसारण सञ्चालनमा सहयोग गरेका छन् । विपद् जोखिमसम्बन्धी सञ्चारका लागि थप आवश्यक सहयोगबारे पनि संस्थाले अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।
एड्रा नेपालले रसुवा, धादिङ र नुवाकोटमा अस्थायी आवासका सामग्री तथा खाद्य राहतमा सहयोग गर्ने भएको छ । हेलेन केलर इन्टरनेसनलले तीनवटै प्रभावित जिल्लामा आपत्कालीन पोषण सहयोग गर्ने जनाएको छ । इस्लामिक रिलिफ नेपालले रसुवा र नुवाकोटका प्रभावित परिवारका लागि त्रिपाल, पी–फोम म्याट, डोरी र कम्बललगायतका अस्थायी आवाससम्बन्धी गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ ।
प्लान इन्टरनेसनल नेपालले रसुवा र नुवाकोटमा खानेपानी, सरसफाइ तथा स्वच्छता, गैरखाद्य सामग्री, अस्थायी आवास र भान्साका सामग्री उपलब्ध गराउने भएको छ । पिपुल इन निडले रसुवामा पहिलो चरणमा एक सय ४० थान गैरखाद्य सामग्री, एक सय ४० थान मर्यादा सामग्री र २७ वटा टेन्ट उपलब्ध गराएको छ ।
मर्सी कप्र्सले नुवाकोटका लागि दुई सय थान गैरखाद्य राहत सामग्री मौज्दातमा राखेको जनाएको छ । संस्थाले खानेपानी तथा सरसफाइसँगै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा समेत काम गर्ने जनाएको छ  । युनाइटेड मिसन टु नेपालले धादिङमा खाद्यान्न तथा गैरखाद्य सामग्री उपलब्ध गराउने भएको छ ।
बाढीका कारण घाइते भएका तथा विशेष आवश्यकता भएका व्यक्तिको व्यवस्थापनलाई समेत राहत प्रयासमा समेटिएको छ । ह्यान्डिक्याप इन्टरनेसनलले नुवाकोट र रसुवामा घाइतेको व्यवस्थापन, भौतिक पुनःस्थापना तथा सहायक उपकरण उपलब्ध गराउने काम गरिरहेको छ । संस्थाले एक सय १० थान गैरखाद्य सामग्री तथा विभिन्न प्रकारका एक सय थान सहायक उपकरण उपलब्ध गराएको छ ।
केयर नेपालले रसुवा र नुवाकोटमा खाद्यान्न, आश्रय तथा गैरखाद्य सामग्रीसहितको आपत्कालीन राहत प्याकेज उपलब्ध गराउने भएको छ । यसमा भान्साका सामग्री, ओछ्यान तथा बिछ्यौना, अस्थायी आवास सामग्री, पारिवारिक टेन्ट, सरसफाइ सामग्री र शिशु सामग्रीलगायत छन् । महिला तथा बालबालिकाका लागि सुरक्षित तथा मैत्रीपूर्ण स्थान स्थापना गर्ने योजना पनि संस्थाले अघि सारेको छ ।
सरकारले बाढी प्रभावित नागरिक तथा क्षेत्रका लागि सुरु गरेको प्रधानमन्त्री राहत कोषमा पनि सहयोग रकम जम्मा हुने क्रम जारी छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार रातिसम्म कोषमा चार अर्ब ३८ करोड आठ लाख ५२ हजार २५२ रुपैयाँ जम्मा भएको छ । यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली मुद्रा हो ।
यसैगरी,आइएमई ग्रुपले भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार र तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग प्रदान गर्ने भएको छ ।

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवद्र्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत सो सहयोग उपलब्ध गराइएको हो ।

हिमालयन बैंक र लक्ष्मी बैंकमा थप ६ लाख ८० हजार ६१८ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। उक्त रकम करिब १० करोड ३८ लाख रुपैयाँ बराबर हुन्छ ।यसरी बाढीपछि राहतका लागि जुटेको सहयोगको दायरा आर्थिक सहयोगभन्दा धेरै फराकिलो बनेको छ । तत्काल उद्धार र राहतसँगै प्रभावित परिवारका लागि आवास, स्वच्छ पानी, स्वास्थ्य, पोषण, सञ्चार तथा संरक्षणका आवश्यकता सम्बोधन गर्ने प्रयास अघि बढेको छ ।

विपद्पछिको अवस्थामा राहत सामग्री प्रभावित नागरिकसम्म समयमै पु¥याउनु र त्यसको आवश्यकताअनुसार प्रभावकारी वितरण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । प्राप्त तथा प्रतिबद्ध सहयोगलाई स्थानीय आवश्यकता, क्षतिको अवस्था र पुनःस्थापनाको प्राथमिकतासँग जोडेर परिचालन गर्न सके प्रभावित क्षेत्रमा जनजीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउन सहयोग पुग्नेछ ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याए पनि विपद्को यस कठिन घडीमा स्वदेश तथा विदेशबाट प्राप्त भइरहेको सहयोगले प्रभावित समुदायलाई राहत र पुनःस्थापनाका लागि थप आधार प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्