भोटेकोशी बाढीः ४६९ जनाको शव फेला, ९७७ अझै सम्पर्कविहीन,उद्धार, खोजी तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

 

काठमाडौँ, १२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको मानवीय क्षति क्रमशः भयावह बन्दै गएको छ । बाढीपछि विभिन्न जिल्लामा गरी हालसम्म ४६९ जनाको शव फेला परेको छ भने ९७७ जना अझै सम्पर्कविहीन छन् । उद्धार, खोजी तथा राहतका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि दुर्गम भूगोल, क्षतिग्रस्त सडक तथा सञ्चार सम्पर्क विच्छेदका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ४६९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो ।

त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । बाढीको बहाव तल्लो तटीय क्षेत्रसम्म पुगेपछि त्रिशूली तथा नारायणी नदी आसपासका जिल्लामा समेत शव भेटिएका हुन् ।

बाढीको वास्तविक मानवीय क्षतिको पूर्ण विवरण भने अझै स्पष्ट हुन सकेको छैन । प्राधिकरणका अनुसार सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । त्यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार तथा रसुवाका १६१ र नुवाकोटका एक जनासहित विदेशी नागरिक ५१७ जना र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने नेपाली १२७ जना सम्पर्कविहीन रहेको विवरण छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाकाअनुसार नेपाल अरनिको यातायात सेवा प्रालि र नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका ४० वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात छ । बससहित बसमा सवार यात्री र ५० जना कर्मचारी समेत सम्पर्कविहीन रहेको बताउनुभयो । भोटेकोशी बाढी प्रभावित क्षेत्रका विभिन्न ५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बुधबार आएको बाढीपछि उनीहरू सम्पर्कमा आउन नसकेका हुन् । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना कर्मचारी सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

जसमध्ये आधा नेपाली र आधा विदेशी छन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी सम्पर्कविहीन छन् । यीमध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् ।
आयोजनाको परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन छन् । इप्पानका अनुसार आयोजनामा कार्यरत १२ जना हेडवक्र्स क्षेत्रमा र २०० जना बढी विद्युत् गृह (पावर हाउस) क्षेत्रमा उद्धारको पर्खाइमा छन् ।

रसुवामा आएको बाढीपछि देशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय, जलविद्युत् आयोजना, तीर्थयात्रा तथा अन्य कामका लागि त्यहाँ पुगेका नागरिक परिवारको सम्पर्कमा आउन नसकेको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले दिएका छन् ।

बाराका १५ जना, धादिङका ७९, गुल्मीका सात, खोटाङका आठ, सप्तरीका २४, गोरखाका ५५, काभ्रेपलाञ्चोकका ५२, बाजुराका १३, अर्घाखाँचीका नौ, सिन्धुपाल्चोकका २२४, रोल्पाका १६, सर्लाहीका नौ, बाँकेका १६, महोत्तरीका १०, कैलालीका ४०, पर्साका १६, हुम्लाका १० र कञ्चनपुरका २४ जनासम्म सम्पर्कविहीन रहेको स्थानीय प्रशासनबाट विवरण आएको छ ।

विपद् प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । तीमध्ये नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना छन् ।

उद्धारका लागि हेलिकोप्टरसमेत व्यापक रूपमा परिचालन गरिएको छ । प्राधिकरणका अनुसार बुधबार ६९ हेलिकोप्टर उडानमार्फत ३५१ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली रसुवाको स्याफ्रुबेंसी, टिमुरे र मैलुङलगायत क्षेत्रमा खोजी तथा उद्धारमा सक्रिय छ ।

नेपाली सेनाका अनुसार रसुवाको स्याफ्रुबेंसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी गरी १२० जनाको हवाई उद्धार गरिएको छ ।रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले स्थानीय बासिन्दा र पूर्वाधारसँगै नेपाल भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई समेत गम्भीर रूपमा प्रभावित बनाएको छ । बाढीपछि ३३ देशका ६४४ पर्यटक तथा यात्रु सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सम्पर्कविहीन विदेशी नागरिकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ । बोर्डका अनुसार भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना सम्पर्कविहीन छन् ।
त्यस्तै सिङ्गापुर, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जापान, जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड, नेदरल्यान्डसलगायत विभिन्न मुलुकका नागरिक पनि बाढी प्रभावित क्षेत्रमा रहेको बोर्डले जनाएको छ ।
सेनाका अनुसार बुधबार बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट स्वदेशी तथा विदेशी नागरिकको हवाई उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये छ देशका ४५ जना विदेशी नागरिक समेत रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सेनाका दुई हजार ३५० जना परिचालन गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभएको छ ।बाढी प्रभावित क्षेत्रको भौगोलिक अवस्थाका कारण स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएका स्थानमा हवाई उद्धारलाई प्राथमिकता दिइएको छ । क्षतिग्रस्त सडक तथा पुलका कारण राहत सामग्री पु¥याउने र उद्धार टोलीलाई प्रभावित क्षेत्रसम्म लैजाने काममा पनि चुनौती देखिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार गर्न र विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उच्चस्तरीय बैठकमा उहाँले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।

बैठकमा रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसहित विपद् व्यवस्थापन, उद्धार तथा राहतसँग प्रत्यक्ष जोडिएका अधिकारी सहभागी थिए ।प्रधानमन्त्रीले उद्धार र उपचारसँगै विस्थापित नागरिकका लागि निर्माण गरिएका राहत शिविरलाई व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउन निर्देशन दिनुभएको छ । विशेषगरी महिला, बालबालिका तथा वृद्धवृद्धाको सुरक्षा र आवश्यकताप्रति संवेदनशील हुन तथा राहत शिविरमा व्यक्तिगत गोपनीयता कायम गर्न उहाँले जोड दिनुभएको जनाइएको छ ।

बाढीका कारण क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन पनि सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजनासहित काम गर्न निर्देशन दिइएको छ । यसले उद्धारसँगै प्रभावित क्षेत्रमा सामान्य जनजीवन फर्काउने कामलाई पनि सरकारले प्राथमिकतामा राखेको देखाउँछ ।

भोटेकोशी नदी आसपासका क्षेत्रमा सञ्चार सम्पर्क टुट्नु बाढीपछिको खोजी कार्यको प्रमुख चुनौती बनेको छ । प्रभावित क्षेत्रमा रहेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्क हुन नसक्दा उनीहरू सुरक्षित स्थानमा पुगेका हुन् वा बाढीमा परेका हुन् भन्ने तत्कालै यकिन गर्न कठिन भएको छ ।

विशेषगरी जलविद्युत् आयोजना, भन्सार तथा अध्यागमन कार्यालय, सुरक्षा निकाय र पर्यटन क्षेत्रमा कार्यरत व्यक्तिहरूको अवस्था पत्ता लगाउन छुट्टाछुट्टै खोजी आवश्यक परेको छ ।यसअघि प्राप्त विवरणअनुसार रसुवागढी क्षेत्रका सरकारी कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी, जलविद्युत् आयोजनामा कार्यरत श्रमिक तथा प्राविधिक र पर्यटकसमेत ठूलो संख्यामा सम्पर्कबाहिर थिए ।

पछिल्लो विवरणमा केही व्यक्ति सम्पर्कमा आए पनि अझै ठूलो संख्या सम्पर्कविहीन रहेकाले खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने अवस्था छ । बुधबार साँझसम्म स्थानीयबाहेक पर्यटक, कर्मचारी, मजदुर र सुरक्षाकर्मीसहित कम्तीमा ६ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको थियो ।

पर्यटक तथा तीर्थयात्रीको अवस्थालाई लिएर पनि खोजी जारी छ । यसअघि कैलाश मानसरोवर यात्रासँग सम्बन्धित सयौँ पर्यटक तथा तीर्थयात्री सम्पर्कविहीन भएको विवरण आएको थियो ।भोटेकोशीको बाढीले रसुवासहित नुवाकोट, धादिङ र तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै पूर्वाधार पुनःस्थापनाको चुनौती पनि थपिएको छ ।

अहिलेको प्राथमिकता भने उद्धार तथा जीवनरक्षा नै हो । सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार, विस्थापितको सुरक्षित व्यवस्थापन र प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न तथा औषधि पु¥याउनु तत्कालका प्रमुख जिम्मेवारी हुन् ।
यससँगै, क्षतिको यकिन विवरण संकलन गरी राहत तथा पुनःस्थापनालाई तथ्यमा आधारित बनाउनुपर्ने आवश्यकता छ । प्रारम्भिक विवरणहरू क्रमशः अद्यावधिक भइरहेका कारण मृतक, सम्पर्कविहीन तथा उद्धार गरिएकाहरूको संख्या पनि परिवर्तन हुन सक्ने देखिन्छ ।

भोटेकोशी बाढीले सिर्जना गरेको संकटले विपद् व्यवस्थापनमा पूर्वतयारी, पूर्वसूचना, सुरक्षित पूर्वाधार र स्थानीय तहदेखि केन्द्रसम्मको प्रभावकारी समन्वयको महत्व पुनः उजागर गरेको छ । तत्कालको मानवीय संकट समाधानसँगै आगामी दिनमा यस्ता जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना निर्माण गर्नु पनि उत्तिकै आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्