बाढीको जोखिम अझै कायमै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ भदौ । चीनतर्फ भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको पानीको सतह बढिरहेको सूचना प्राप्त भएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम अझै कायम रहेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दा, यात्रु र उद्धारमा खटिएका जनशक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

चीनले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराएको पछिल्लो सूचना, भू–उपग्रहबाट प्राप्त तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ । उक्त ताल निरन्तर बढिरहेको र फुट्न सक्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारकर्ता तथा सम्बन्धित सबै पक्षलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत महाशाखाले आग्रह गरेको छ ।

चीनको जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा हिमपहिरोका कारण नदी थुनिएर ताल बनेको जनाएको छ । चिनियाँ रिपोर्टअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो ।
रिपोर्टमा तालबाट पानी बाहिर जान सुरु भएको उल्लेख भए पनि आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने सम्भावना औँल्याइएको छ । यसले ताल फुटेमा वा पानीको बहाव अचानक बढेमा तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने चिन्ता बढाएको छ ।

चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा यस्तो ताल बनेको जनाएको छ । चिनियाँ पक्षले तालको निरन्तर निगरानी गरिरहेको र त्यसबाट उत्पन्न हुन सक्ने बाढीको जोखिमबारे मोडलिङसमेत गरिरहेको बताइएको छ ।

भू–उपग्रह तस्बिर, नदीको अवस्था र माथिल्लो क्षेत्रमा जम्मा भएको पानीको परिमाणका आधारमा जोखिमको आकलन गर्ने प्रयास भइरहेको अवस्थामा नेपालतर्फको तल्लो तटीय क्षेत्रमा सतर्कता बढाइएको हो ।

यसअघि आएको बाढीले रसुवा तथा आसपासका क्षेत्रमा सडक र पुलसहितका पूर्वाधारमा ठूलो क्षति पु¥याइसकेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको मन्त्रालयले जनाएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

रसुवागढी नाका जोड्ने यो सडक व्यापार, आवागमन तथा सीमावर्ती क्षेत्रका नागरिकका लागि महत्वपूर्ण मार्ग हो । सडक क्षतिग्रस्त हुँदा प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पु¥याउने कामसमेत चुनौतीपूर्ण बन्न पुगेको छ ।
त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द रहेको मन्त्रालयले जनाएको छ । पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ ।

सडक र पुलमा पुगेको क्षतिको प्रत्यक्ष प्रभाव प्रभावित बस्तीको आवागमनमा परेको छ । बाढीको जोखिम कायमै रहेको अवस्थामा क्षतिग्रस्त संरचनाबाट आवतजावत गर्दा थप जोखिम हुन सक्ने भएकाले सुरक्षा निकाय तथा सम्बन्धित निकायले सावधानी अपनाउनुपर्ने अवस्था छ ।

भोटेकोशीमा आएको बाढीले प्रारम्भिक क्षतिसँगै त्यसपछिको जोखिम व्यवस्थापनको चुनौतीसमेत देखाएको छ । माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको अवस्थाबारे नियमित सूचना प्राप्त हुनु तल्लो तटीय क्षेत्रमा सम्भावित जोखिमबारे पूर्वतयारी गर्न महत्वपूर्ण मानिन्छ ।

यसका लागि चीनतर्फबाट प्राप्त सूचना र नेपालमा गरिने नदी तथा मौसमसम्बन्धी निगरानीबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ । विशेषगरी नदीको बहाव अचानक बढ्न सक्ने अवस्थामा स्थानीय तहदेखि सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रसम्म एउटै सूचना प्रणालीमार्फत तत्काल जानकारी पु¥याउनुपर्ने हुन्छ ।

बाढी पूर्वानुमान महाशाखाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिसकेको अवस्थामा स्थानीय प्रशासनले समेत सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्ने देखिन्छ । नदी किनारमा रहेका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा जोखिमको अवस्था निरन्तर मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ ।

यसैबीच, क्षतिग्रस्त सडक र पुल पुनः सञ्चालन गर्ने काम अघि बढाउनु तत्कालीन आवश्यकता भए पनि माथिल्लो क्षेत्रमा नयाँ जोखिम उत्पन्न हुन सक्ने सूचनाका बीच पुनःनिर्माण तथा आवागमन सञ्चालनमा पनि सुरक्षा पक्षलाई प्राथमिकता दिनुपर्ने अवस्था छ ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा यसअघि नै मानवीय तथा भौतिक क्षति ठूलो भइसकेको छ । त्यसमा थप क्षति हुन नदिन अहिलेको मुख्य आवश्यकता सम्भावित बाढीको पूर्वसूचना, जोखिम क्षेत्रमा रहेका नागरिकको सुरक्षित स्थानान्तरण, उद्धार संयन्त्रको तयारी र नेपाल–चीनबीच निरन्तर सूचना आदानप्रदान हो ।

माथिल्लो क्षेत्रमा बनेको तालको पानी बढिरहेको सूचनाले भोटेकोशीको जोखिम समाप्त नभएको संकेत गरेको छ । त्यसैले क्षतिपछि राहत र पुनःस्थापनामा केन्द्रित भइरहेका सरकारी संयन्त्रले सम्भावित अर्को जोखिमलाई समेत समान रूपमा ध्यानमा राख्दै पूर्वतयारीलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

यस्तो अवस्थामा नागरिकले आधिकारिक सूचनालाई आधार मान्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नु र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्नु महत्वपूर्ण हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्