काठमाडौँ, २२ साउन । काठमाडौँ उपत्यकाका लागि दीर्घकालीन समाधानको रूपमा नयाँ यातायात गुरुयोजना सार्वजनिक गरिएको छ । बिहीबार राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गुरुयोजनाको मूल जोड उपत्यकाभित्रको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सम्पर्क सञ्जाल सुदृढीकरणमा रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार हालको यातायात संरचना असन्तुलित र केन्द्रित भएकाले जामको समस्या झन् जटिल बन्दै गएको छ ।
“काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने वैकल्पिक संरचना निर्माण आवश्यक छ,” उहाँले भन्नुभयो, “विशेषगरी उत्तर–पूर्वी खण्डबाट वैकल्पिक मार्ग विकास र प्रमुख चोकहरूको पुनःसंरचनाले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सहज बनाउन सक्छ ।”
उहाँले बढ्दो जनघनत्व र सवारीसाधनको चापलाई मध्यनजर गर्दै पूर्वाधार विकासमा दीर्घकालीन सोच अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार गुरुयोजना कार्यान्वयनमा आएपछि अहिले देखिएका जाम, ट्राफिक अव्यवस्था र सडकसम्बन्धी समस्या क्रमशः समाधानतर्फ जाने अपेक्षा गरिएको छ ।
बहुआयामिक कार्यक्रमः २२ पूर्वाधार, १३ सार्वजनिक यातायात सुधारपूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार गुरुयोजनामा तीन चरणमा कार्यान्वयन हुने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यक्रम समेटिएका छन् । योजना अनुसार २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम र १३ वटा सार्वजनिक यातायात सुधार कार्यक्रम प्रस्ताव गरिएका छन् ।
यी कार्यक्रमहरूले सडक विस्तार मात्र नभई यातायातको गुणस्तर सुधार, यात्रु सुविधामा वृद्धि र सेवा प्रणालीको आधुनिकीकरणलाई लक्षित गरेका छन् । सहसचिव ढकालले भन्नुभयो, “सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउन संरचनागत सुधार अपरिहार्य छ । त्यसका लागि कम्पनी मोडलमा सञ्चालन, रुट व्यवस्थापन र संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको छ ।”
तीव्र सहरीकरण, अनियन्त्रित सवारी चाप र कमजोर व्यवस्थापनका कारण वर्षौँदेखि जाम र अव्यवस्थाको बोझ खेपिरहेको काठमाडौँ उपत्यकाका लागि दीर्घकालीन समाधानको रूपमा नयाँ यातायात गुरुयोजना सार्वजनिक गरिएको छ ।
‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ नाम दिइएको यस योजनाले सन् २०५० सम्म उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउने लक्ष्य लिएको छ ।
यस गुरुयोजनाले केवल सडक विस्तार वा ट्राफिक व्यवस्थापनमै सीमित नभई समग्र सहरी यातायात संरचनालाई पुनःपरिकल्पना गर्ने दृष्टिकोण प्रस्तुत गरेको छ । सार्वजनिक यातायातलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, संस्थागत सुधार र प्रविधिमैत्री व्यवस्थापन प्रणालीको संयोजनमार्फत उपत्यकाको यातायात समस्याको दीर्घकालीन समाधान खोजिएको सरोकारवालाको भनाइ छ ।
गुरुयोजनाको प्रमुख आकर्षणमध्ये चक्रपथमा मास ट्रान्जिट प्रणालीको विकास उल्लेखनीय छ । यसले ठूलो संख्यामा यात्रु बोक्ने उच्च क्षमतायुक्त सार्वजनिक यातायात सञ्चालनको सम्भावना खोल्नेछ । साथै, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा विस्तार गर्ने प्रस्तावले उपत्यकाको पूर्व–पश्चिम आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
यसका अतिरिक्त नयाँ मास ट्रान्जिट विकल्पहरू पनि आवश्यक स्थानमा विकास गर्ने योजना समावेश गरिएको छ, जसले निजी सवारीसाधनमा निर्भरता घटाउने र सार्वजनिक यातायातप्रति आकर्षण बढाउने लक्ष्य राख्छ ।
गुरुयोजनाले उपत्यकाका विभिन्न स्थानमा नयाँ संरचना निर्माणको प्रस्ताव पनि अघि सारेको छ । विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल निर्माण, ठमेल, काठमाडौं महानगरपालिका दरबार क्षेत्र र ललितपुर महानगरपालिका दरबार क्षेत्रमा पार्किङ सुविधा विकासजस्ता कार्यक्रम समावेश छन् ।
त्यस्तै, महाराजगञ्ज तथा चाबहिल–गौशाला क्षेत्रमा भूमिगत मार्ग निर्माण, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघर क्षेत्रमा आकासे पुल निर्माण, र विष्णुमती किनारमा नदी तटीय मार्ग विकासजस्ता योजनाले यातायातको दबाब घटाउने अपेक्षा गरिएको छ ।
सातदोबाटो–गोदावरी जोड्ने नयाँ कर्मनाशा पुल, चौडा चक्रपथ निर्माण, थापाथली–त्रिपुरेश्वर क्षेत्रमा नयाँ पुल र बागमती करिडोरको स्तरोन्नतिसमेत योजनामा समेटिएका छन् । यी परियोजनाहरूले उपत्यकाभित्रको आन्तरिक सम्पर्कलाई मात्र होइन, क्षेत्रीय यातायातलाई समेत सहज बनाउनेछन् ।
गुरुयोजनाले जाम हुने मुख्य चोक र क्षेत्रहरूमा अन्डरपास, सुरुङमार्ग, आकासे सडक र एकीकृत ठूला बस सञ्चालनजस्ता उपायहरू प्रस्ताव गरेको छ । यी उपायहरूले ट्राफिकको प्रवाहलाई निरन्तर बनाउने र चोकमा हुने अवरोधलाई कम गर्ने लक्ष्य राखेका छन् ।
यसका साथै साइक्लिङ पथ, ट्राफिक सेफ्टी सुधार, सडक चोक स्तरोन्नति र आपत्कालीन सडक सञ्जाल विकासजस्ता कार्यक्रमले यातायातलाई सुरक्षित र समावेशी बनाउने प्रयास गरिएको छ ।जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले तीव्र सहरीकरण र बढ्दो लगानी व्यवस्थापनका लागि दीर्घकालीन, समग्र र एकीकृत यातायात योजना आवश्यक रहेकोमा जोड दिएको छ । उक्त टोलीको प्राविधिक सहयोगमा तयार गरिएको यस गुरुयोजनाले अन्तर्राष्ट्रिय अनुभव र स्थानीय आवश्यकतालाई संयोजन गर्ने प्रयास गरेको देखिन्छ ।
यस गुरुयोजनाको प्रभाव केवल यातायात व्यवस्थापनमा सीमित रहने छैन । यसले उपत्यकाको समग्र जीवनशैलीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । सहज आवागमनले आर्थिक गतिविधि तीव्र हुने, समय बचत हुने र प्रदूषण घट्ने सम्भावना छ ।
सार्वजनिक यातायात सुधारले निजी सवारी प्रयोग घटाउने र वातावरणीय सन्तुलन कायम गर्न मद्दत पु¥याउनेछ । साथै, समावेशी संरचना निर्माणले सबै वर्गका नागरिकलाई समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ उपत्यकाको दीर्घकालीन यातायात समस्या समाधानतर्फ प्रस्तुत गरिएको यो गुरुयोजना केवल पूर्वाधार विकासको दस्तावेज होइन, बरु दिगो सहरी विकासको मार्गचित्र हो । यदि योजनाअनुसार कार्यान्वयन हुन सकेमा उपत्यकाले जाम, अव्यवस्था र प्रदूषणको चक्रबाट क्रमशः मुक्त हुने आधार तयार गर्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्