काठमाडौँ, २२ साउन । उपचारका लागि विदेशमा रहनुभएको नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कदैहुनुहुन्छ । देउवानिकट नेता तथा नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते राति ९ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । “उहाँ सोही दिन राति नेपाल आइपुग्नुहुन्छ भन्ने जानकारी प्राप्त भएको छ,” महतले बताउनुभएको छ ।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । त्यहाँ स्वास्थ्य परीक्षण तथा उपचारपछि उहाँ २०८२ साल चैत ७ गते हङकङ पुग्नुभएको थियो । लामो समय विदेश बसाइपछि उहाँको स्वदेश फिर्तीलाई कांग्रेसभित्र नेतृत्व र रणनीतिक पुनर्संरचनासँग जोडेर पनि हेरिएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएपछि कांग्रेसभित्रको शक्ति सन्तुलन फेरि एकपटक बहसको केन्द्रमा आएको छ । राजनीतिक र कानुनी दुवै मोर्चामा एकैसाथ विकसित भएका यी घटनाक्रमले कांग्रेसको आन्तरिक समीकरण र आगामी दिशा दुवैलाई प्रभावित पार्ने संकेत गरेका छन् ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नै अघिल्लो फैसलामाथि पुनरवलोकन गर्न अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै उक्त अनुमति दिएको हो ।
सर्वोच्चले अघिल्लो फैसला पुनः परीक्षण गर्नुपर्ने आधार प्रस्तुत गर्दै “प्राकृतिक न्यायको सिद्धान्त” र “सुनुवाइको अवसर” सम्बन्धी स्थापित कानुनी नजिरहरूलाई मुख्य सन्दर्भ बनाएको छ । अदालतको आदेशअनुसार, अघिल्लो फैसलामा यी सिद्धान्तहरूको पर्याप्त पालना भएको छ वा छैन भन्ने विषय पुनः परीक्षण हुनेछ ।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्व समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । निर्वाचन आयोगले २०८२ माघ २ गते कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै त्यहाँबाट निर्वाचित पदाधिकारीहरूको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दायर गरेका थिए । तर, सर्वोच्चको अघिल्लो इजलासले उक्त रिट खारेज गर्दै भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई वैधानिक प्रक्रिया मानेको थियो । अब भने सर्वोच्चले सोही फैसलामाथि पुनरवलोकनको अनुमति दिएसँगै कानुनी बहस नयाँ चरणमा प्रवेश गरेको छ ।
सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिँदा विशेषगरी दुई पुराना नजिरलाई आधार बनाएको छ । तीमध्ये एक २०६८ सालको “वीरबहादुर राउत अहिर विरुद्ध गृह मन्त्रालय” सम्बन्धी मुद्दा हो, जसले कुनै पनि निर्णय अघि प्रभावित पक्षलाई सुनुवाइको अवसर दिनुपर्ने अनिवार्यता स्पष्ट गरेको थियो ।
उक्त नजिरअनुसार, “कुनै निर्णयबाट कसैको हकमा असर पर्छ भने निर्णय अघि सुनुवाइको अवसर दिनु न्यायको आधारभूत शर्त हो।”अर्को नजिर २०६९ सालको “रत्नकाजी महर्जन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग” सम्बन्धी मुद्दासँग सम्बन्धित छ, जसले प्राकृतिक न्यायको सिद्धान्तलाई व्याख्या गर्दै कुनै पनि न्यायिक निर्णय निष्पक्ष र पारदर्शी प्रक्रियाबाट हुनुपर्नेमा जोड दिएको थियो ।
सर्वोच्चले यी नजिरहरूको कसीमा अघिल्लो फैसला परीक्षण हुनुपर्ने ठहर गरेको छ । यसको अर्थ, अबको सुनुवाइमा मुख्य प्रश्न हुनेछ निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई आधिकारिकता दिँदा देउवा पक्षलाई पर्याप्त रूपमा आफ्नो तर्क राख्ने अवसर दिएको थियो कि थिएन ?
यदि सर्वोच्चले अघिल्लो निर्णयमा प्राकृतिक न्यायको सिद्धान्त वा सुनुवाइको अवसरको उल्लंघन भएको ठहर गरे, भने निर्वाचन आयोगको निर्णय र त्यसलाई सदर गर्ने सर्वोच्चको अघिल्लो फैसला दुवै बदर हुन सक्ने कानुनी सम्भावना देखिएको छ ।
यसले कांग्रेसभित्रको शक्ति सन्तुलनमा पुनः ठूलो परिवर्तन ल्याउन सक्छ । राजनीतिक रूपमा हेर्दा, यो विवाद केवल नेतृत्वको प्रश्न नभई पार्टीको संगठनात्मक वैधता र निर्णय प्रक्रियासँग पनि सम्बन्धित छ ।देउवाको स्वदेश फिर्ती र सर्वोच्चको पुनरवलोकन अनुमति लगभग एउटै समयमा सार्वजनिक हुनु संयोग मात्र नभई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा व्याख्या गर्न थालिएको छ ।
देउवा लामो समयपछि सक्रिय राजनीतिमा प्रत्यक्ष रूपमा फर्किने तयारीमा रहँदा, कानुनी मोर्चामा खुलेको यो नयाँ ढोकाले उहाँको पक्षलाई रणनीतिक रूपमा बलियो बनाउन सक्ने विश्लेषण भइरहेको छ ।कांग्रेसको आन्तरिक विवाद अब केवल राजनीतिक बहसमा सीमित छैन, यो कानुनी परीक्षणको नयाँ चरणमा प्रवेश गरिसकेको छ ।
सर्वोच्च अदालतको पुनरवलोकन अनुमति र देउवाको स्वदेश फिर्ती यी दुई घटनाले आगामी दिनमा कांग्रेसभित्रको शक्ति संरचना कता मोडिनेछ भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ । अबको मुख्य ध्यान सर्वोच्चको अन्तिम निर्णयमा केन्द्रित रहनेछ ।
प्रतिक्रिया दिनुहोस्