काठमाडौं, ३ साउन । आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लज्जावती’ले आफ्नो प्रचार अभियानलाई तीव्र बनाएको छ । निर्माण टिमले फिल्मको पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गर्दै दर्शकमाझ फिल्मको सांगीतिक स्वाद प्रस्तुत गरेको हो । बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको गीतले सार्वजनिक हुनासाथ फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ ।
‘दिलको मोटर’ शीर्षकको गीतमा गायक तथा संगीतकार बाबुल गिरीको शब्द र संगीत रहेको छ । गीतलाई ‘नेपाल आइडल सिजन–२’का विजेता रवि ओड र गायिका सहिमा श्रेष्ठले स्वर दिएका छन् । लोक तथा आधुनिक संगीतको स्वाद मिसिएको यो गीतमा प्रेम, आकर्षण र रमाइलो नोकझोंकलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा अभिनेता मुकुन भुसाल, अभिनेत्री जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालको नृत्य रहेको छ । चर्चित कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशनमा तयार गरिएको भिडियो रंगीन दृश्य, उत्साहपूर्ण प्रस्तुति र आकर्षक छायांकनका कारण दर्शकमाझ रुचाइने अपेक्षा गरिएको छ ।
गीतमा विशेषगरी युवायुवतीबीचको आकर्षण, मायाका भाव र रमाइला संवादलाई नृत्यमार्फत प्रस्तुत गरिएको छ । यही कारण गीत मनोरञ्जनपूर्ण मात्र नभई फिल्मको कथावस्तुबारे पनि केही संकेत दिने माध्यम बनेको निर्माण पक्षको विश्वास छ । सार्वजनिक गीतले सामाजिक सञ्जालमा पनि चर्चा पाउन थालेको छ ।
फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । उहाँले पारिवारिक परिवेशसँगै मनोरञ्जनलाई प्राथमिकतामा राखेर फिल्म निर्माण गरिएको बताउनु भएको हो । उहाँका अनुसार ‘लज्जावती’ले दर्शकलाई हँसाउने मात्र होइन, भावनात्मक रूपमा पनि जोड्ने प्रयास गर्नेछ ।
आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ । अनुभवी र नयाँ कलाकारको संयोजनले फिल्मलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेका छन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको भूमिकामा छन् । दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन फिल्मका प्रमुख आकर्षण हुन् ।
फिल्मको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्ने भएको छ । निर्माण टिमले प्रदर्शनअघि थप गीत, ट्रेलर तथा प्रचारात्मक सामग्री सार्वजनिक गर्दै दर्शकमाझ फिल्मलाई व्यापक रूपमा पु¥याउने तयारी गरेको जनाएको छ ।
नेपाली फिल्म बजारमा पछिल्ला समय संगीतमार्फत प्रचार गर्ने प्रवृत्ति प्रभावकारी बन्दै गएको छ । त्यसैअनुसार ‘लज्जावती’ले पनि पहिलो गीत सार्वजनिक गरेर प्रचार अभियानको सुरुआत गरेको हो ।
आकर्षक संगीत, मुकुन भुसालसहितका कलाकारको ऊर्जाशील नृत्य र रंगीन प्रस्तुतिका कारण ‘दिलको मोटर’ले फिल्मप्रतिको उत्साह बढाउने विश्वास निर्माण टिमले लिएको छ । अब साउन २९ गते प्रदर्शनपछि दर्शकले फिल्मलाई कस्तो प्रतिक्रिया दिन्छन् भन्ने विषयलाई नेपाली फिल्म वृत्तले चासोका साथ हेरेको छ ।
प्रतिक्रिया दिनुहोस्