काठमाडौं, १९ साउन । नेपाली चलचित्र उद्योगको लोकप्रिय शृंखला ‘ए मेरो हजुर’को पाँचौं संस्करण अब धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रबाट सुरु हुने भएको छ । निर्देशक तथा अभिनेत्री झरना थापाले सामाजिक सञ्जालमार्फत साउन २९ गतेदेखि ‘ए मेरो हजुर ५’को छायांकन प्रारम्भ हुने जानकारी दिँदै यसपटक सिनेमालाई नेपाली प्रकृति, संस्कृति र पर्यटनसँग जोड्ने उद्देश्य रहेको बताउनु भयो ।
नेपाली चलचित्रले पछिल्ला वर्षहरूमा नयाँ–नयाँ गन्तव्यलाई पर्दामार्फत चिनाउने प्रयास गरिरहेका बेला ‘ए मेरो हजुर ५’ले पनि बडीमालिकालाई पहिलो रोजाइ बनाएको हो । सुदूरपश्चिमको प्रमुख धार्मिक तीर्थस्थलका रूपमा परिचित बडीमालिकाबाट छायांकन सुरु गर्ने निर्णयलाई पर्यटन प्रवद्र्धनसँग जोडेर हेरिएको छ । यसअघि पनि विभिन्न नेपाली चलचित्रले छायांकनमार्फत स्थानीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेका छन् ।
झरना थापाले बडीमालिकालाई नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचानको अनुपम धरोहरका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार हिमाल, पहाड, धार्मिक विश्वास र स्थानीय संस्कृतिको अद्भुत संगम रहेको यो क्षेत्र केवल तीर्थस्थल मात्र नभई नेपालको पर्यटन विकासको महत्वपूर्ण आधार पनि हो । यही कारणले चलचित्रको यात्रा त्यहीँबाट सुरु गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।
निर्देशक थापाले नेपालीपनलाई आधुनिक सिनेमाको माध्यमबाट नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्य रहेको पनि स्पष्ट पार्नुभयो । उहाँका अनुसार ‘ए मेरो हजुर ५’ केवल प्रेमकथामा सीमित रहने छैन, यसले नेपाली भूगोल, संस्कृति, परम्परा र भावनालाई समेत सशक्त रूपमा प्रस्तुत गर्ने प्रयास गर्नेछ । चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै नेपालको मौलिक पहिचानसँग पनि जोड्ने विश्वास निर्माण टिमको छ ।
छायांकनका लागि सिनेमाटोग्राफर सञ्जय लामालाई जिम्मेवारी दिइएको छ । प्राकृतिक दृश्यलाई प्रभावशाली रूपमा पर्दामा उतार्न सक्ने छायाकारका रूपमा चिनिएका लामाको अनुभवले बडीमालिकाको प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको छ । यसअघि यि दुई जनाले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा एकसाथ अभिनय गरेका थिए । दुवै चलचित्रमा उनीहरूको जोडीलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए । यसपटक पनि उनीहरूको पुनर्मिलनले दर्शकमाझ उत्सुकता बढाएको छ । अन्य कलाकारको नाम भने निर्माण पक्षले हालसम्म सार्वजनिक गरेको छैन ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुनिलकुमार थापा हुन् । निर्माण टोलीका अनुसार कलाकार तथा प्राविधिक टोलीका थप विवरण छायांकन सुरु भएसँगै क्रमशः सार्वजनिक गरिनेछ ।
‘ए मेरो हजुर’ नेपाली चलचित्र उद्योगको सफल फ्रेन्चाइजमध्ये एक मानिन्छ ।
स्वर्गीय निर्देशक शिव रेग्मीका निर्देशन रहेको पहिलो संस्करणले दर्शकमाझ गहिरो प्रभाव छोडेको थियो । त्यसपछि दोस्रो संस्करणदेखि झरना थापाले निर्देशन सम्हाल्दै आउनु भएको छ । उहाँको निर्देशनमा बनेका पछिल्ला तीन संस्करणले व्यावसायिक सफलता मात्र नभई युवा पुस्तामाझ पनि राम्रो लोकप्रियता हासिल गरेका थिए ।
यस सफल यात्रालाई निरन्तरता दिने लक्ष्यसहित निर्माण हुन लागेको ‘ए मेरो हजुर ५’बाट पनि निर्माण टिम आशावादी देखिएको छ । प्रेमकथा, पारिवारिक भावनासँगै नेपाली पर्यटन र सांस्कृतिक सम्पदालाई जोड्ने प्रयासले यो चलचित्रलाई अघिल्ला संस्करणभन्दा फरक बनाउने अपेक्षा गरिएको छ । बडीमालिकाबाट सुरु हुने छायांकनले चलचित्रलाई मात्र होइन, सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्