काठमाडौं, ३ साउन । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ले आफ्नो प्रचार अभियानलाई थप प्रभावकारी बनाउँदै नयाँ गीत ‘कहाँबाट ल्याऊँ बाबा’ सार्वजनिक गरेको छ । यसअघि मनोरञ्जनात्मक शैलीको ‘चानस पाए त’ गीत सार्वजनिक गरेको निर्माण टिमले यसपटक भावनाले भरिएको मर्मस्पर्शी गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतले छाउपडी प्रथाको पीडा र बाबुको अभावमा छोरीले भोग्नुपरेको मानसिक तथा भावनात्मक अवस्थालाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको छ ।
गीतमा प्रमोद दीपको शब्द, अभि सुनारको संगीत तथा चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ । गीतका शब्दहरूले पीडामा छटपटिएकी एक छोरीले दिवंगत बाबुलाई सम्झँदै आफूलाई अन्धकारमय अवस्थाबाट मुक्त गरिदिन गरेको भावनात्मक याचनालाई अभिव्यक्त गर्छ । गीतले पारिवारिक सम्बन्ध, अभिभावकको अभाव र समाजमा विद्यमान कुरीतिले सिर्जना गर्ने पीडालाई अत्यन्त संवेदनशील ढंगले उजागर गरेको छ ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका कथावस्तुसँग मेल खाने भावनात्मक दृश्यहरू समेटिएका छन् । छाउपडी प्रथाका कारण महिलाले भोग्नुपर्ने विभेद, असुरक्षा र मानसिक यातनालाई दृश्यमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । निर्देशक ओम प्रतीकले गीतमार्फत फिल्मको मूल सन्देशलाई दर्शकमाझ पु¥याउने प्रयास गरेका छन् ।
यसअघि सार्वजनिक गरिएको फिल्मको प्रवद्र्धनात्मक गीत ‘चानस पाए त’ ले पनि उल्लेखनीय सफलता प्राप्त गरेको थियो । बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतलाई युट्युबमा एक वर्षको अवधिमा २६ लाखभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ । गीतको भिडियोमा दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको आकर्षक नृत्य देख्न सकिन्छ । यी कलाकारहरू फिल्ममा भने उक्त विशेष गीतमा मात्र देखिनेछन् ।
फिल्म ‘हली’ नेपाली समाजमा अझै पनि केही स्थानमा विद्यमान छाउपडी प्रथा र किसानको संघर्षको कथामा आधारित छ । महिलामाथि हुने विभेद, सामाजिक अन्धविश्वास र ग्रामीण जीवनका यथार्थलाई फिल्मले मुख्य विषयवस्तु बनाएको निर्देशक ओम प्रतीकले बताउनु भयो । सामाजिक सन्देशसँगै मनोरञ्जनलाई पनि सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको उहाँको भनाइ छ ।
फिल्ममा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाडी, कमल गाउँलेलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक ओम प्रतीकको पनि अभिनय रहेको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारको संयोजनले फिल्मलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ हुन् । अर्जुन भुसाल कार्यकारी निर्माता तथा नम्रता भण्डारी सह–निर्माताको भूमिकामा छन् । फिल्ममा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।
सामाजिक यथार्थमा आधारित कथावस्तु, भावनात्मक गीत, अनुभवी कलाकारको अभिनय र सशक्त प्रस्तुतिका कारण ‘हली’ अहिले प्रदर्शनअघि नै चर्चामा छ । विशेषगरी ‘कहाँबाट ल्याऊँ बाबा’ गीतले दर्शकको मन छुने विश्वास निर्माण टिमले लिएको छ । साउन २२ गते प्रदर्शनमा आउने फिल्मले मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्