काठमाडौँ, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवं सार्थक रहेको बताएका छन ।
थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटाँै शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन ।
समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिएका छन ।“छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ”, सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, “यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।”
प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचारविमर्श भएको जानकारी दिए । उनले भने, “भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधराचाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए ।” प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिँदै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने बताए ।
“मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ ।”
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने बताए । उनले भने, “सरकारले सुन्छ भन्ने उहाँहरुलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुको कुरा पनि सुन्छ ।”
शिक्षकले राखेका मागका सम्बन्धमा के–कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाए ।
“धेरै यसमा उहाँहरुले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?”, उनले भने, “शिक्षकका समस्या टुङ्गिन्छ ।” सरकारले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरिरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले थाइ समकक्षी पे थोङ् थान् शिनावातसँगको भेटमा दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संशाधन विकासलगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा फलदायी कुराकानी भएको जानकारी दिए ।
उनले बौद्ध धर्म एवं दर्शनले जोडेको सांस्कृतिक सम्बन्ध एवं छ दशकभन्दा लामो द्विपक्षीय घनिष्ठ कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने र यसको जगमा उभिएर दुई देशबीचको आर्थिक सम्बन्धलाई पनि समयानुकूल फराकिलो र गहिरो बनाउँदै दुई देशबीच सहमति भएको बताए ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा नेपाललाई थाइल्याण्ड सरकारको सक्दो सहयोग रहने प्रतिबद्धता प्राप्त भएको जानकारी दिए ।
उनले कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधिलगायत क्षेत्रमा सहयोग गर्न थाइल्याण्ड सरकार तयार रहेको जानकारी दिए । “द्विपक्षीय सम्बन्ध सुदृढीकरण साथसाथै जलवायु परिवर्तन, दिगो विकास, विश्व शान्तिलगायतका साझा चासोका विषयमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि आपसी सहयोग र सहकार्य थप बलियो र प्रभावकारी बनाउँदै जाने कुरामा दुवै पक्षबीच सहमति भएको छ”, प्रधानमन्त्री ओलीले भने ।
उनले भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबीच आपसी सहयोग आदानप्रदान गर्ने सन्दर्भमा पर्यटन क्षेत्रमा सहयोग र सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता एवं निजी क्षेत्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफूले थाइल्याण्डका प्रधानमन्त्री शिनावातलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिँदै उनिबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेको बताए ।
प्रधानमन्त्री ओलीले बिम्स्टिेक सम्मेलनलाई सम्बोधन गर्दै बङ्गालको खाडी र विश्वभर सघन परिवर्तन आएको र आर्थिक असमानता, बढ्दो वातावरणीय जोखिम, राजनीतिक अनिश्चितता जस्ता साझा वैश्विक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएको बताए । “शिखर सम्मेलनको नारा ‘समृद्ध, उत्थानशील र खुला बिम्स्टेक’ ले दिगो विकासका लक्ष्यहरु प्रतिविम्बित गर्नुकासाथै नेपालको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई समेत प्रतिध्वनित गरेको कुरा मैले चर्चा गरेँ”, उनले भने ।
प्रधानमन्त्री ओलीले वातावरणीय एवं अन्य क्षेत्रीय, अन्तरराष्ट्रिय चुनौतीबारे छलफल गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागिताका लागि बिम्स्टेक राष्ट्रका समकक्षीलाई पुनः आमन्त्रण गरेको जानकारी दिए ।
उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनले समस्त मानव समुदायको अस्तित्वलाई नै खतरामा पारेको र एसियाको चिस्यान केन्द्र तथा विश्वको ताप शोषकका रुपमा रहेको नेपालको हिमशृङ्लामा जलवायु परिवर्तनको असर अझ अत्यधिक रहेको उल्लेख गरेको बताए । भ्रमणका क्रममा म्यानमार र थाइल्याण्डमा महाभूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा नेपाल सरकार, नेपाली जनता र आफ्नोतर्फबाट समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक क्षेत्रको विकास, समृद्धि र दिगोपनाको लागि ‘बिम्स्टिेक भिजन २०३०’ कार्यान्वयन गर्ने, क्षेत्रीयरुपमा उपलब्ध आर्थिक वृद्धिका अवसरहरुलाई उपयोग गर्नेलगायत विषय समेटिएको बैंकक घोषणापत्र जारी भएको बताए ।
उनले सो शिखर सम्मेलनअघि बिम्स्टिेकको मन्त्रीस्तरीय बैठकले मानव स्रोत विकास, सार्वजनिक स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालाई पारित गरी यथाशीघ्र कार्यान्वयनमा लैजान जोड दिएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइ व्यवसायीसँग नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त कानूनी, सामाजिक र आर्थिक वातावरण रहेको र वैदेशिक लगानीलाई सरल, सहज, सुरक्षित एवं प्रतिफलमुखी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीका लागि आग्रह गरेको भनाइ राखे ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट तयार गरिएको प्रेस नोट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले वाचन गरेका थिए । प्रधानमन्त्री ओलीले बिम्स्टिेक शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका प्रधानमन्त्री डा. हरिणी अमरसुर्या, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र म्यानमारका प्रधानमन्त्री मिन आङ ल्हाङ्गसँग भेटवार्ता गरेका थिए ।
भेटमा प्रधानमन्त्रीले नेपाल र ती मुलुकहरूबीच कायम रहँदै आएको मैत्रिपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने एवं द्विपक्षीय सम्बन्धका साथै बिम्स्टेक लगायत क्षेत्रीय तथा अन्य बहुपक्षीय सहयोग र सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री शिनावात्को मैत्रिपूर्ण निमन्त्रणामा यही चैत १९ गते थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टिेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्