तिहारको उमङ्गसँगै सार्वजनिक भयो ‘भैलेनी देउसीरे’

काठमाडौं, १५ कात्तिक । तिहारको सांस्कृतिक रौनकसँगै नेपाली मौलिक भैली तथा देउसी परम्परालाई सांगीतिक माध्यमबाट नयाँ पुस्तामाझ पु¥याउने उद्देश्यले तयार पारिएको गीत ‘भैलेनी देउसीरे’ सार्वजनिक भएको छ । गायिका रेश्मा सुनुवारको स्वर, शब्द र संगीत रहेको गीतको भिडियो नमस्ते वायरलेस र ब्लस हाउसको प्रस्तुतिमा सार्वजनिक गरिएको हो ।

तिहारमा घरघर पुगेर भैली खेल्ने, देउसी गाउने र सांस्कृतिक प्रस्तुतिमार्फत शुभकामना साटासाट गर्ने नेपाली परम्परालाई गीतमा समेट्ने प्रयास गरिएको छ । पछिल्लो समय आधुनिक संगीत र प्रस्तुतिको प्रभाव बढिरहेका बेला मौलिक चाडपर्व तथा संस्कृतिलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतले तिहारको परम्परागत रौनकलाई स्मरण गराउने अपेक्षा गरिएको छ ।

गीतमा रेश्मा सुनुवारले स्वर दिनुका साथै शब्द र संगीतसमेत आफैँले तयार पारेकी छन् । यसले गीतमा उनको व्यक्तिगत सिर्जनात्मक पहिचानसमेत झल्काएको छ । पुष्कर सुनुवारले गीतको संगीत संयोजन तथा ध्वनि मिश्रण गरेका छन् । मेलोडी नेपाल स्टुडियोमा तयार गरिएको गीतको ध्वनि पक्षलाई परम्परागत सांगीतिक स्वाद र आधुनिक प्रस्तुतिको संयोजनमा तयार पारिएको छ ।

गीतको भिडियोमा अभिनेत्री बिना राउत र तालिशा गुरुङको अभिनय रहेको छ । दुवै कलाकारलाई तिहारको सांस्कृतिक परिवेशमा प्रस्तुत गरिएको छ । भिडियोमा परम्परागत भैलीको वातावरण, चाडपर्वको उल्लास र नेपाली मौलिक पहिरन तथा सांस्कृतिक प्रस्तुतिलाई समेटिएको छ । कलाकारको अभिनयसँगै नृत्य र दृश्य संयोजनले गीतको भावलाई थप आकर्षक बनाउने प्रयास गरेको छ ।

भिडियोको निर्देशन निरेन श्रेष्ठ र कुबेर तामाङले गरेका हुन् । मोहन सुनुवारले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । भिडियोको कोरियोग्राफी नितिन वाइबाले गरेका छन् भने मेकअप सोनिका गजमेरले गरेकी छन् । पोस्ट प्रोडक्सनको काम मेलोडी नेपाल प्रोडक्सनले गरेको हो । आरएमडी टक्सको सहयोग रहेको यस प्रस्तुतिको निर्माणमा नमस्ते वायरलेस र ब्लस हाउस जोडिएका छन् ।

नेपाली समाजमा भैली र देउसी केवल मनोरञ्जनका माध्यम मात्र होइनन्, सामाजिक सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक एकताको प्रतीकका रूपमा पनि स्थापित छन् । तिहारका बेला समूह बनाएर घरघर पुग्ने, गीत गाउने, नाच्ने र आशिष दिने परम्पराले पुस्तौँदेखि नेपाली समाजलाई जोड्दै आएको छ ।

विशेषगरी भैलीमा महिलाहरूको सहभागिता र देउसीमा पुरुषहरूको सामूहिक प्रस्तुतिले यस पर्वलाई छुट्टै सांस्कृतिक पहिचान दिएको छ । पछिल्लो पुस्तामा यस्ता परम्परागत प्रस्तुतिको अभ्यास कम हुँदै गएको सन्दर्भमा गीतसंगीतमार्फत तिनको संरक्षण र प्रवद्र्धन गर्ने प्रयासलाई अर्थपूर्ण मान्न सकिन्छ ।

‘भैलेनी देउसीरे’लाई डिजिटल माध्यमबाट पनि व्यापक दर्शकमाझ पु¥याउने तयारी गरिएको छ । गीत स्पोटिफाई, रेसो, टिकटक, युट्युब म्युजिक, आइट्युन्स, सावन, अमेजन म्युजिक र गाना लगायतका विभिन्न डिजिटल माध्यममा उपलब्ध हुने जनाइएको छ ।

चाडपर्वलाई लक्षित गरेर सार्वजनिक हुने गीतहरूले मनोरञ्जनसँगै मौलिक संस्कृति र परम्पराको प्रवद्र्धनमा पनि भूमिका खेल्न सक्छन् । रेश्मा सुनुवारको स्वर, सिर्जना र कलाकारको प्रस्तुतिसहित आएको ‘भैलेनी देउसीरे’ले तिहारको सांगीतिक माहोलमा आफ्नो स्थान बनाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्