काठमाडौँ, १५ कात्तिक । नेपालले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पु¥याउने लक्ष्य लिएका बेला ठूला जलविद्युत् आयोजना विकासका लागि अन्तर्राष्ट्रिय लगानी र प्रविधि भित्र्याउने पहल अघि बढेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालका जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा व्यापार प्रदर्शनी (ट्रेड सो) २०२६ लाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासको ठूलो सम्भावना रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्ता र प्राविधिक संस्थासँग सहकार्य गर्न सकिने बताउनु भयो । विशेषगरी बाँध निर्माण, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार विकासमा क्यानडाको अनुभव नेपालका लागि उपयोगी हुने उहाँको भनाइ छ ।
उहाँले नेपाल र क्यानडाबीच सुरक्षित, दिगो तथा जलवायु उत्थानशील जलविद्युत् आयोजना निर्माणमा दीर्घकालीन साझेदारीको अवसर रहेको उल्लेख गर्नुभयो । नेपालले जलविद्युत् उत्पादनको सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशलाई लाभ पुग्ने उहाँको धारणा थियो ।
सम्मेलनमा नेपालमा अन्तर्राष्ट्रिय लगानीको सम्भावना रहेका केही ठूला आयोजनासमेत प्रस्तुत गरिएको छ । अध्यक्ष डाँगीका अनुसार ७६२ मेगावाटको तमोर जलाशय, ६७० मेगावाटको दूधकोशी जलाशय, एक हजार २०० मेगावाटको बूढीगण्डकी र एक हजार ६० मेगावाटको माथिल्लो अरुण आयोजना लगानीका दृष्टिले महत्वपूर्ण छन् ।
यी आयोजनाको विकासका लागि लगानी मात्र नभई वित्तीय व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण र आधुनिक प्रविधिको आवश्यकता रहेको उहाँले बताउनु भयो । त्यसैले अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, आयोजना विकासकर्ता तथा प्राविधिक विज्ञलाई नेपालमा लगानी र सहकार्यका लागि उहाँले आग्रह गर्नुभएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयले सन् २०१९ मा गरेको अध्ययनलाई उद्धृत गर्दै डाँगीले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको उल्लेख गर्नुभयो । नदी प्रवाही, पिकिङ रन अफ रिभर, जलाशययुक्त र पम्प्ड स्टोरेज आयोजना विकास गर्न सके नेपाल दक्षिण एसियाकै स्वच्छ ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उहाँको भनाइ छ ।
नेपाल सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट जडित क्षमता पु¥याउने लक्ष्य हासिल गर्न हालको उत्पादन क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको उहाँले औँल्याउनु भयो । यसका लागि निजी क्षेत्रसँगै अन्तर्राष्ट्रिय लगानीसमेत महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
नेपालको ९८ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगिसकेको उल्लेख गर्दै उहाँले जलविद्युत्ले आर्थिक वृद्धि, रोजगारी सिर्जना र जीवनस्तर सुधारमा योगदान गरिरहेको बताउनु भयो । विद्युत् उत्पादनसँगै प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत् व्यापार विस्तार गर्न सके छिमेकी मुलुकमा विद्युत् निर्यातको सम्भावना पनि बढ्ने उल्लेख गर्नुभयो ।
क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् परिवर्तनका लहरहरू भन्ने मूल विषयमा सम्मेलन आयोजना गरेको हो । कार्यक्रममा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, भोटेकोशी बाढीबाट प्राप्त पाठ र अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्