काठमाडौँ, १२ कात्तिक । कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतक र इशान पाण्डेसँगको उत्कृष्ट साझेदारीको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । सुरुवाती ब्याटरले अपेक्षित प्रदर्शन गर्न नसके पनि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए ।
दीपेन्द्रले ३६ बलमा चार चौका र दुई छक्कासहित अविजित ५१ रन बनाए । जारी एनपिएलमा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् भने नेपाली खेलाडीमध्ये पहिलो हुन् ।
यसअघि चितवन राइनोजका डेविड मलानले विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए । इशानले ३१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३७ रन जोडे । उनी मेहदी हसनको बलमा एलबीडब्लु आउट भए पनि त्यसअघि दीपेन्द्रसँग मिलेर टोलीलाई बलियो अवस्थामा पु¥याइसकेका थिए । दुवैको संयमित ब्याटिङले सुदूरपश्चिमलाई लक्ष्य पछ्याउन सहज बनायो ।
लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो ओभरमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । धनञ्जय लक्षणको बलमा बोल्ड हुनुअघि विनोदले चार रन मात्रै बनाउन सके ।
अर्का ओपनर ब्रान्डन म्याकमुलेनले आक्रामक सुरुवात गर्दै १२ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । तर, उनी सकिब अल हसनको बलमा एलबीडब्लु आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो ।
त्यसपछि दीपेन्द्र र इशानले पारी सम्हाल्दै टोलीको जितको आधार तयार पारे। उनीहरूको साझेदारीले आवश्यक रनरेट नियन्त्रणमा राख्न मद्दत ग¥यो ।
पोखराका धनञ्जय लक्षण, मेहदी हसन र सकिब अल हसनले समान एक–एक विकेट लिए पनि सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्नबाट रोक्न सकेनन् । पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिमका लागि यो जित प्रतियोगितामा फर्किने महत्त्वपूर्ण अवसर बनेको छ ।
अर्कोतर्फ, पोखरा सुदूरपश्चिमविरुद्ध एनपिएलमा आफ्नो पहिलो जितको खोजीमा रहेको थियो । यस खेलमा पनि पराजित भएपछि पोखराले उक्त प्रतीक्षा लम्ब्याउनुपरेको छ ।
यसअघि टस जितेर सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रन बनाएको थियो ।
पोखराका ओपनर मेहदी हसनले टोलीका लागि सर्वाधिक ३२ रन जोडे । उनले २१ बलमा चार चौका र एक छक्का प्रहार गरे। तर, अनिल खरेलको बलमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भएपछि उनको पारी समाप्त भयो ।
अर्का ओपनर दिनेश खरेल चार रनमै आउट भए । हेमन्त धामीको बलमा उनलाई विकेटकिपर विनोद भण्डारीले क्याच लिए । कप्तान कुशल भुर्तेलले २१ रन बनाए पनि दीपेन्द्रको बलमा अनिल खरेलबाट क्याच आउट भए ।
सकिब अल हसनले १४ रन जोडे । उनी अनिल खरेलको बलमा स्कट कुग्लेजिनबाट क्याच आउट भए। सदीराले आठ रन बनाउँदा धनञ्जय लक्षण ११ रनमा रनआउट भए । किरण ठगुन्नाले एक रन मात्रै बनाउन सके ।
मध्यक्रममा अर्जुन घर्तीले केही स्थिरता प्रदान गरे। उनी २५ बलमा चार चौका र एक छक्कासहित ४० रनमा अविजित रहे । विपिन खत्री पाँच रनमा नटआउट रहे । अर्जुनको योगदानले पोखरालाई सम्मानजनक योगफलसम्म पु¥याए पनि त्यो सुदूरपश्चिमलाई रोक्न पर्याप्त भएन ।
सुदूरपश्चिमका लागि अनिल खरेलले प्रभावकारी बलिङ गर्दै तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । स्कट कुग्लेजिन, हेमन्त धामी, अविनाश बोहोरा र दीपेन्द्रले समान एक–एक विकेट लिए । सुदूरपश्चिमको कसिलो बलिङले पोखरालाई ठूलो योगफल बनाउनबाट रोकेको थियो ।
प्रतिक्रिया दिनुहोस्