ललितपुर, २ असोज । पूर्वसभापति शेरबहादुर देउवा समूहका अधिकांश नेताहरू सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन । बिहीबार १५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भएका हुन ।
बैठकमा सहभागी हुने नेताहरूमा डा. शेखर कोइरालाको समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित नेतृ किरण यादव ,देउवा समूहबाट केन्द्रीय सदस्य बनेका नेता देवेन्द्रराज कँडेल ,राजिवविक्रम शाह ,नेता ज्ञानेन्द्रबहादुर कार्की,महालक्ष्मी उपाध्याय ‘डिना’, मीन विश्वकर्मा, रामहरि खतिवडा, गोविन्द भट्टराई, नैनसिंह महर, राधा घले, जीपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति परियार,उमेशजंग रायमाझी र भीम पराजुली र नेता रामहरि खतिवडा रहेका छन ।
नेता मीन विश्वकर्माले देउवा समूहले अघि सारेका पूर्वसर्तहरू पूरा हुँदै गएकाले १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय गरिएको बताउनुभएको छ ।केन्द्रीय कार्यसम्पादन समितिको २८ भदौमा सम्पन्न बैठकले १४ औं महाधिवेशनका तत्कालिन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा समावेश गर्ने निर्णय गरेको थियो ।
यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै तह, वर्ग र समूहलाई समेटेर संगठनलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले विगतका असहमति र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट व्यवस्थापन गर्दै सबैलाई पार्टीको मूलधारमा जोड्ने बताउनुभएको हो ।
सभापति थापाले महाधिवेशनको निर्धारित प्रक्रियालाई अघि बढाउँदै पार्टीलाई एकताबद्ध बनाउने विषयलाई प्राथमिकतामा राख्नुभएको छ । उहाँका अनुसार पार्टीभित्र अड्किएका विषयहरू सम्बोधन भइसकेका छन् र अब महाधिवेशनलाई सबै पक्षको सहभागितासहित सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ ।
उहाँले पार्टीभित्रको एकतालाई केवल नेताहरूबीचको समझदारीमा सीमित नगरी पार्टीबाट टाढिएका पुराना नेता, कार्यकर्ता, समर्थक र मतदातासम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।“नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ,” सभापति थापाले बैठकको सुरुआतमा भन्नुभयो, “पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने होइन, रिसाएर कांग्रेस छोडेकाहरूलाई जोड्नु आवश्यक छ ।”
उहाँले पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई व्यक्तिगत विवादको विषय बनाउन नहुने धारणा राख्नुभयो । संवाद र सहमतिका माध्यमबाट असहमति समाधान गर्दै सबै पक्षले केही न केही लचकता अपनाउनुपर्ने उहाँको भनाइ थियो । पार्टीको महाधिवेशन कसैको जित वा हारका रूपमा नभई संगठनको बृहत्तर हितमा भएको सहमतिका रूपमा बुझ्न पनि उहाँले आग्रह गर्नुभयो ।
सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीका अग्रज नेताहरूलाई पनि महाधिवेशन प्रक्रियामा सहभागी भई एकताको सन्देश दिन आग्रह गर्नुभएको छ । वडा, जिल्ला तथा अन्य तहका अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्दै उहाँले कुनै कारणले सहभागी हुन नसक्ने अवस्था आए विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
महाधिवेशन व्यवस्थापनका लागि आवश्यक समितिहरू गठन गरी छोटो समयमै तयारीका काम व्यवस्थित गर्नुपर्नेमा पनि सभापति थापाले जोड दिनुभयो । पार्टीभित्र लामो समयदेखि देखिएका मतभेद तथा महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि विभिन्न चरणमा संवाद हुँदै आएको उल्लेख गर्दै उहाँले पछिल्ला छलफल र सुझावका आधारमा सहमतिको वातावरण बनेको बताउनुभयो ।
थापाले महाधिवेशन सम्पन्न भएपछि पार्टीलाई जनतासामु लैजाने तयारी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले देशभरका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दै पार्टीभित्रको वर्तमान अवस्थालाई आरोप–प्रत्यारोपमा भन्दा संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।
यसैबीच, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगन गरी पार्टीभित्र निर्णायक संवाद अघि बढाउन सभापति थापालाई आग्रह गर्नुभएको छ ।
खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सभापति थापाकै अग्रसरतामा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा तथा पार्टीका अग्रज नेताहरूसँग तत्काल वार्ता गर्न आग्रह गर्नुभएको हो । पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको विश्वास व्यक्त गर्दै उहाँले त्यसका लागि केही समय लिएर संवाद अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ ।
खड्काको आग्रह पार्टीभित्र दुई फरक महाधिवेशन प्रक्रियाको सम्भावना देखिएको पृष्ठभूमिमा आएको हो । पछिल्ला दिनमा कांग्रेसका विभिन्न नेताहरूले समेत महाधिवेशनको कार्यतालिका स्थगन गरेर पार्टी एकताका लागि निर्णायक वार्ता गर्न आग्रह गर्दै आएका छन् ।
केही नेताहरूले संवाद, सहमति र सहकार्यबाट विवाद समाधान गरी सबैलाई सहभागी गराएर १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । कांग्रेसको सभापति थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि वडा तहको अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। निर्वाचन समितिले पनि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने संशोधित तालिका सार्वजनिक गरेको छ ।
अर्कोतर्फ, पूर्वसभापति देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउने र मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरेको विवरण सार्वजनिक भएको छ । देउवाले असोज ३ गतेदेखि सुरु हुने थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।
उहाँले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निरूपण नहुँदै अघि बढाइएको महाधिवेशन प्रक्रियामा सहभागी हुन नहुने धारणा राख्नुभएको छ ।
यद्यपि, सभापति थापा नेतृत्वको पक्षले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने निर्णय गरिसकेको जनाएको छ । त्यसपछि पूर्वसभापति देउवा पक्षमा रहेका केही नेता वर्तमान केन्द्रीय कार्यसमितिमा समाहित हुने प्रक्रिया अघि बढेको छ ।
यसले कांग्रेसभित्र एकताका लागि केही तहमा सहमतिको प्रयास अघि बढेको देखिए पनि महाधिवेशनको मिति, नेतृत्व र प्रक्रियासम्बन्धी मतभेद पूर्ण रूपमा समाधान भइसकेको अवस्था भने छैन । सभापति थापाले निर्धारित महाधिवेशनलाई अघि बढाउँदै सबै पक्षलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने खड्कालगायत केही नेताले त्यसअघि नै थप संवाद र सहमतिको वातावरण बनाउन कार्यतालिका स्थगन गर्न आग्रह गरेका छन् ।
पार्टीको आन्तरिक विवादलाई कसरी व्यवस्थापन गर्ने र १५औँ महाधिवेशनलाई कुन प्रक्रियाबाट सबै पक्षको सहभागितामा सम्पन्न गर्ने भन्ने विषयमा कांग्रेसभित्रको आगामी संवाद महत्वपूर्ण हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्