गीतका कारण चलचित्र ‘पाँच पाण्डव’ विवादमा

काठमाडौँ, १८ कात्तिक । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ एउटा गीतका कारण विवादमा तानिएको छ । चलचित्रमा समावेश ‘राजा चाहिया छ’ बोलको गीत सार्वजनिक भएसँगै महाभारतका पौराणिक पात्रको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना र बहस सुरु भएको हो । विशेषगरी द्रौपदीको भूमिकामा रहेकी अभिनेत्री इभा गिरीको नृत्य र युधिष्ठिरको भूमिकामा रहेका वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रस्तुतिलाई लिएर दर्शकले प्रश्न उठाएका छन् ।

वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा महाभारतका पाँच पाण्डवलाई आधुनिक नेपाली समाजका पात्रका रूपमा प्रस्तुत गरिएको छ । पाँच पाण्डवको भूमिकामा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला छन् भने द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन् ।

केही समयअघि चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले पाँच पुरुष कलाकारलाई पाँच पाण्डव र इभालाई द्रौपदीका रूपमा परिचित गराएको थियो । त्यसपछि सार्वजनिक ‘दाजुभाइजस्ता हुँदैनन् अरु’ बोलको गीतले दाजुभाइबीचको आत्मीयता र सम्बन्धलाई प्रस्तुत गरेको थियो । तर, शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ गीतले भने चलचित्रलाई विवादमा ल्याएको हो ।

गीतको भिडियोमा इभा गिरीलाई क्यासिनोको परिवेशमा आकर्षक पहिरनमा नृत्य गरिरहेको देखाइएको छ । क्यासिनोमा नाच्ने युवतीले आफूलाई मनपर्ने तथा उपयुक्त जीवनसाथी खोजिरहेको प्रसंगलाई गीतमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । उनको नृत्यमा हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपानेले पनि साथ दिएका छन् ।

युधिष्ठिरको भूमिकामा रहेका हरिवंशलाई क्यासिनोमा तास खेल्दै गीतमा सहभागी भएको दृश्यमा देख्न सकिन्छ ।गीत सार्वजनिक भएपछि महाभारतकी महत्वपूर्ण पात्र द्रौपदीलाई यसरी प्रस्तुत गर्नु उचित नभएको भन्दै केही दर्शकले असन्तुष्टि जनाएका छन् । महाभारतमा द्रौपदीलाई स्वाभिमान, आत्मसम्मान र नारी अस्मिताको प्रतीकका रूपमा चित्रण गरिएको छ । यस्तो पात्रको बिम्ब प्रयोग गरिएको चलचित्रमा उनलाई क्यासिनोमा नृत्य गर्ने युवतीका रूपमा प्रस्तुत गर्नु पौराणिक चरित्रको गरिमासँग मेल नखाने आलोचकहरूको तर्क छ ।

सामाजिक सञ्जालमा कतिपयले यसलाई सनातन धर्म र सांस्कृतिक आस्थामाथिको मजाक भन्दै चलचित्र बहिष्कार गर्नुपर्ने आवाज उठाएका छन् । हिन्दू धर्मकी अभियन्ता बेदिका केसीले पनि गीतको प्रस्तुतिप्रति असन्तुष्टि जनाउँदै कलियुगको कथा देखाउने नाममा धर्म र नारी अस्मितासँग जोडिएका पात्रलाई विकृत गर्न नहुने धारणा राखेकी छन् ।

विवादमा वरिष्ठ कलाकार हरिवंश आचार्यको सहभागिताले पनि चर्चा पाएको छ । लामो समयदेखि नेपाली कला क्षेत्रमा विशिष्ट पहिचान बनाएका आचार्यलाई यस्तो गीतमा प्रस्तुत गरिएको विषयमा केही दर्शकले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले कलाकारले आफ्नो भूमिकाको छनोट गर्दा सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई पनि ध्यान दिनुपर्ने बताएका छन् ।

यद्यपि, सार्वजनिक गीतमा द्रौपदी वा महाभारतको कुनै प्रसंग प्रत्यक्ष रूपमा प्रस्तुत गरिएको छैन । गीतको विषयवस्तु र चलचित्रको मूल कथाबीचको सम्बन्धबारे भने दर्शकमा जिज्ञासा देखिएको छ । एउटा गीतकै आधारमा चलचित्रको समग्र कथावस्तुलाई मूल्याङ्कन गर्न नहुने मत पनि सामाजिक सञ्जालमा व्यक्त भइरहेका छन् ।

निर्देशक वसन्त निरौलाले भने चलचित्रलाई धार्मिक कथामा आधारित फिल्मका रूपमा नबुझ्न आग्रह गरेका छन् । उनका अनुसार महाभारतका पात्र र तिनका बिम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको हो । चलचित्रले कुनै धर्म वा धार्मिक आस्थामाथि चोट पु¥याउने उद्देश्य नराखेको उनको दाबी छ । उनले चलचित्र प्रदर्शन भएपछि मात्र समग्र कथावस्तु हेरेर धारणा बनाउन दर्शकलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्