अस्ट्रेलियामा नेपाली भलिबलको दोस्रो अवार्ड नाइट

काठमाडौँ, १ असोज । अस्ट्रेलियामा नेपाली भलिबलको गतिविधि विस्तार हुँदै जाँदा खेलाडी, क्लब, प्रशिक्षक र भलिबलसँग जोडिएका व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्ने तयारी भएको छ । नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) ले दोस्रो संस्करणको वार्षिक भलिबल अवार्ड नाइट आगामी असोज १० गते शनिबार अर्थात् २६ सेप्टेम्बरमा आयोजना गर्ने भएको हो ।

रकडेलस्थित रेड रोज फङ्सन सेन्टरमा हुने अवार्ड नाइटमा अस्ट्रेलियामा रहेर नेपाली भलिबलको विकासमा योगदान पु¥याइरहेका खेलाडी, क्लब, प्रशिक्षक, पदाधिकारी तथा अन्य व्यक्तित्वलाई सम्मान गरिनेछ । आयोजकका अनुसार सन् २०२६–२७ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा भलिबल गतिविधिमा उल्लेखनीय योगदान पु¥याउने संस्था र व्यक्तिलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ ।

यसपटक अवार्डको दायरा अघिल्लो संस्करणको तुलनामा विस्तार गरिएको छ । संघले व्यक्तिगत, टोली, प्रतियोगिता र सामुदायिक योगदानलाई समेटेर विभिन्न ११ विधामा अवार्ड प्रदान गर्ने तयारी गरेको छ ।

व्यक्तिगततर्फ पुरुष र महिला दुवैमा सर्वोत्कृष्ट खेलाडी, पिपुल्स च्वाइस, उदियमान खेलाडी, उत्कृष्ट अनक्याप्ड खेलाडी, स्पाइकर, सेटर, सर्भर, ब्लकर र लिबेरोलगायत विधा रहनेछन् । वर्षको उत्कृष्ट क्लब, उत्कृष्ट प्रतियोगिता आयोजक संस्था र उत्कृष्ट प्रशिक्षकलाई पनि सम्मान गरिनेछ ।

यसपटक पिपुल्स च्वाइस, उदियमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट अनक्याप्ड खेलाडी नयाँ विधाका रूपमा थपिएका छन् । विशेषगरी नयाँ प्रतिभालाई पहिचान गर्ने उद्देश्यले थपिएका यी विधाले अस्ट्रेलियामा सक्रिय नेपाली भलिबलको नयाँ पुस्तालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

पिपुल्स च्वाइस अवार्डका लागि कार्यक्रमभन्दा करिब एक साताअघि मनोनयन सार्वजनिक गर्ने तयारी भइरहेको संघले जनाएको छ । अन्य विधामा पनि मनोनयनपछि उत्कृष्ट खेलाडी तथा सम्बन्धित पक्ष छनोट गरिनेछ ।
अस्ट्रेलियामा नेपाली भलिबलको गतिविधि पछिल्ला वर्षमा बढ्दै गएको देखिन्छ ।

सिड्नीमा मात्रै वर्षमा पुरुषतर्फ आठ र महिलातर्फ पाँचभन्दा बढी प्रतियोगिता आयोजना हुँदै आएका छन् । एनभिएएअन्तर्गत न्यु साउथ वेल्समा १२ भन्दा बढी क्लब दर्ता रहेको संघले जनाएको छ । ती क्लबमा खुला पुरुष, महिला तथा भेट्रान्स टोली सहभागी हुँदै आएका छन् ।

एनभिएएले क्लबस्तरको प्रतिस्पर्धामा राष्ट्रिय खेलाडीको सहभागितालाई पनि निश्चित सीमाभित्र राख्ने व्यवस्था गरेको छ । प्रत्येक टोलीले ३५ वर्षमुनिका एक जना मात्र राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधानका कारण क्लबहरूमा स्थानीय तथा नयाँ खेलाडीले अवसर पाउने वातावरण बनेको संघको भनाइ छ ।

अस्ट्रेलियामा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान इमबहादुर रानासहित मानबहादुर श्रेष्ठ, रविनचन्द ठकुरी, टेकराज अवस्थी, विशालबहादुर विक, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, सम्राट भण्डारी, राजु शेरचन, राजेन्द्र विष्टलगायत खेलाडी सक्रिय छन् । घरेलु भलिबलमा परिचित धनपति कुँवर, रमेश विक र मदन साउद पनि अस्ट्रेलियामा छन् ।

महिलातर्फ राष्ट्रिय टोलीकी खेलाडी अरुणा शाहीसँगै प्रतिभा माली, सरस्वती चौधरी, पुनम चन्द, कविता भट्ट, साफिया पुन मगर र मनिषा चौधरीलगायत खेलाडी अस्ट्रेलियामा छन् । यसले अस्ट्रेलियामा नेपाली भलिबलको खेलस्तर र समुदायको दायरा फराकिलो भएको देखाउँछ ।

पहिलो संस्करणमा महिलातर्फ प्रतिभा माली र पुरुषतर्फ राजेन्द्र विष्ट वर्षको सर्वोत्कृष्ट खेलाडी बनेका थिए । सरस्वती चौधरी, मिया पुन र सन्जु पुर्जाले महिला व्यक्तिगत विधामा अवार्ड पाएका थिए । पुरुषतर्फ दिलबहादुर सुनार, खेम पुर्जा, अर्जुन अधिकारी, विजय आचार्य, सरोज घर्तीमगर र डोरबहादुर रानाले विभिन्न विधामा अवार्ड जितेका थिए ।

यसपटकको अवार्ड नाइटमा पुरस्कार तथा सम्मानसँगै सांस्कृतिक प्रस्तुति, मनोरञ्जन र रात्रिभोजसमेत आयोजना गरिनेछ । ‘टुगेदर वि विल्ड अ स्ट्रोङ्गर भलिबल कम्युनिटी’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमले अस्ट्रेलियामा रहेका नेपाली भलिबल खेलाडी र समर्थकलाई एउटै मञ्चमा जोड्ने आयोजकको अपेक्षा छ ।

प्रतियोगितामार्फत खेलाडी उत्पादन र प्रतिस्पर्धा बढाउने प्रयाससँगै उनीहरूको योगदानलाई औपचारिक रूपमा सम्मान गर्ने अभ्यासले अस्ट्रेलियामा नेपाली भलिबलको गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्