युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने 

काठमाडौँ, २० भदौ । नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज  सारुले बताए । युनाइटेड युवा क्लबले नियमित सञ्चालन गर्दै आएको सो प्रतियोगितालाई जिल्लाकै गौरवको प्रतियोगिताका रुपमा लिने गरिएको छ ।
यस वर्ष भदौ २२ देखि ३७औँ संस्करण हुप्सेकोट–३ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालन गर्न लागिएको क्लवका उनले जानकारी दिए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित  ३७औँ संस्करणको तयारीमा जुटेका छौँ, करिब हाम्रो तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक सारुले बताए । प्रतियोगितामा विजेता हुने टोलीले रु दुई लाख २५ हजार पाँच सय ५५ र उपविजेताले रु एक लाख ३५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सेमिफाइनलमा पुगेर बाहिरिने दुई टोलीले जनही रु २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक  र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष हरि थापाले बताए । प्रतियोगितामा नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, चितवन, काठमाडौँलगायत जिल्लाका गरी करिब एक दर्जन क्लबको सहभागिता रहने र सहभागी क्लबले एउटा टोलीमा बढीमा तीनजना मात्रै विदेशी खेलाडी समावेश गर्न पाउने अध्यक्ष थापाको भनाइ थियो । यसअघि एउटै टोलीमा धेरै विदेशी खेलाडी समावेश गराउने गरिएकामा यस वर्ष तीनजना मात्रै एउटा क्लबले विदेशी खेलाडी सहभागी गराउन पाउने नियम बनाइएको उनले बताए ।
आर्थिक व्यवस्थापनमा समस्या भएसँगै केही वर्षदेखि सञ्चालन हुन नसकेको राइनो गोल्ड कप फुटबल प्रतियोगिता यस वर्ष सञ्चालनका लागि  तयारी गरिएको छ । गैँडालगायत वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले जिल्लाको मध्यविन्दु नगरपालिका–२ मा सञ्चालन हुने गरेको सो गोल्डकप विगत तीन वर्षदेखि सञ्चालन हुन सकेको छैन । वन्यजन्तु संरक्षणको सन्देश दिने देशकै प्रतिष्ठित प्रतियोगिताका रूपमा विगतमा आयोजना हुने गरेको प्रतियोगिता सञ्चालनका लागि सरोकारवालासँग छलफल चलिरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताए ।
गण्डकी प्रदेशले समेत वन्यजन्तु संरक्षण फुटबल गोल्ड कप शीर्षकमा रु १० लाख विनियोजन गरेको र स्थानीय सरोकारवालाले विगतमा सञ्चालित उक्त गोल्डकपलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।
प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले नवलपुरमा हुँदै आएको राइनो गोल्डकप प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारले समेत रकम विनियोजन गरेकाले परिषद्ले समेत समन्वय गरिरहेको बताए ।
‘यो हाम्रो क्षेत्रको मात्रै हैन, गैँडा र वन्यजन्तु संरक्षणको सन्देश दिने देशकै प्रतिष्ठित प्रतियोगिता हो, यसलाई पुनः सञ्चालन गर्ने गरी छलफल र समन्वय भइरहेको छ’, क्लवका अध्यक्ष दोमनबहादुर भण्डारीले   भने । सो प्रतियोगिताका लागि  विगतमा विभागीय क्लबसहित देशका ‘ए’ डिभिजनका क्लबहरू सहभागी हुने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्