काठमाडौं, १२ साउन । नेपाली चलचित्र बजारमा लामो समयदेखि स्थापित मान्यता थियो—असार र साउनमा फिल्म प्रदर्शन गर्नु जोखिमपूर्ण हुन्छ । वर्षायामका कारण हलमा दर्शकको उपस्थिति कमजोर रहने विश्वासले अधिकांश निर्माता यी दुई महिनामा फिल्म प्रदर्शन गर्न हिच्किचाउँथे ।
तर, यही स्थापित धारणालाई फिल्म ‘गौँथली’ ले चुनौती मात्र दिएको छैन, बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गर्दै नयाँ इतिहास रच्ने यात्रामा अघि बढेको छ ।
गत साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ले दोस्रो सातामा प्रवेश गरेसँगै व्यापारमा झन् ठूलो उछाल ल्याएको छ । विशेषगरी दोस्रो साताको शनिबार फिल्मले प्रदर्शनयताकै सर्वाधिक व्यापार गर्दै नेपाली चलचित्र उद्योगलाई उत्साहित बनाएको छ ।
चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार शनिबार मात्रै फिल्मले १ करोड ६५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ । यो चालु वर्ष कुनै पनि नेपाली फिल्मले एकै दिनमा गरेको सबैभन्दा ठूलो व्यापार मानिएको छ ।
शनिबारसम्मको कमाइसँगै फिल्मले ६ करोड रुपैयाँभन्दा बढीको व्यापार पार गरिसकेको छ । आइतबार बिहानसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार फिल्मको कुल ग्रस कमाइ ६ करोड ५८ लाख रुपैयाँ नाघिसकेको छ ।
देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्म दर्शकको उत्साहजनक उपस्थितिका कारण आइतबारको व्यापारसमेत बलियो रहने अनुमान गरिएको छ । यस आधारमा फिल्मले छोटो समयमै ७ करोड रुपैयाँको आँकडा पार गर्ने संकेत देखिएको छ ।
फिल्मको सफलताको अर्को विशेष पक्ष भनेको यसको ’वर्ड अफ माउथ’ हो । सामाजिक सञ्जालमा आएका सकारात्मक प्रतिक्रिया, दर्शकको सिफारिस र पारिवारिक कथावस्तुप्रतिको आकर्षणले दोस्रो सातामा पनि फिल्मको अकुपेन्सी उच्च राखेको छ । नेपाली फिल्म बजारमा पहिलो सप्ताहभन्दा दोस्रो सप्ताहमा व्यापार बढ्नु दुर्लभ मानिन्छ । ‘गौँथली’ले भने यही प्रवृत्ति उल्टाउँदै सकारात्मक चर्चालाई व्यापारमा रूपान्तरण गरेको देखिएको छ ।
यस वर्षको सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड हाल ‘लालीबजार’को नाममा छ । चलचित्र विकास बोर्डका अनुसार उक्त फिल्मले ९ करोड ३२ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको थियो ।
तर, ‘गौँथली’को वर्तमान व्यापारिक गति हेर्दा यो रेकर्ड धेरै समय कायम रहने सम्भावना कम देखिएको छ । फिल्मले यही साताभित्र उक्त कीर्तिमान तोड्ने अनुमान गरिएको छ । व्यापारको यही रफ्तार कायम रहेमा ‘गौँथली’ले १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सक्ने आकलनसमेत चलचित्र वृत्तमा हुन थालेको छ ।
‘गौँथली’को सफलताले अर्को महत्वपूर्ण सन्देश पनि दिएको छ । नेपाली फिल्म सफल बनाउन ठूलो ‘स्टारकास्ट’भन्दा बलियो कथा, प्रभावशाली प्रस्तुति र दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सक्ने विषयवस्तु नै निर्णायक हुने देखिएको छ । फिल्ममा चर्चित व्यावसायिक ‘स्टार’हरूको भीड नभए पनि कथावस्तु र अभिनयले दर्शकको मन जितेको प्रतिक्रिया आइरहेको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
शिक्षाको महत्व, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले मनोरञ्जनसँगै भावनात्मक सन्देश दिन सफल भएको समीक्षकहरूको भनाइ छ ।
नेपाली चलचित्र उद्योगमा वर्षायामलाई ‘अफसिजन’ भन्ने परम्परागत बुझाइबीच ‘गौँथली’ले हासिल गरेको सफलता केवल एउटा फिल्मको व्यापारिक उपलब्धि मात्र होइन, भविष्यमा प्रदर्शन रणनीति, दर्शकको मनोविज्ञान र नेपाली चलचित्र बजारको बदलिँदो प्रवृत्तिको संकेतका रूपमा समेत हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्