‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक, प्रचार अभियान सुरु

काठमाडौं, १० साउन । आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘बेहुली’ ले आफ्नो प्रचार अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ । निर्माण पक्षले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गर्दै दर्शकमाझ फिल्मको सांगीतिक झलक प्रस्तुत गरेको हो । लोक शैलीको स्वाद बोकेको गीतले प्रेम, रोमान्स र मनोरञ्जनलाई समेट्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक गरिएको गीतमा फिल्मका प्रस्तुतकर्ता तथा निर्माता अर्जुन पोखरेल को शब्द तथा संगीत रहेको छ । गीतमा चर्चित गायिका अञ्जु पन्त तथा गायक प्रशान्त सिवाकोटी र रवि ओड को स्वर सुन्न सकिन्छ । नेपाली लोक लयलाई आधुनिक संगीतसँग संयोजन गरिएको गीतले फिल्मको कथावस्तुको रोमान्टिक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।

गीतको भिडियोमा ‘कुल ब्वाई’ का रूपमा परिचित पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ मुख्य रूपमा देखिएका छन् । उनीहरूको रोमान्टिक प्रस्तुति, आकर्षक नृत्य र रंगीन दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ । गीतको नृत्य निर्देशन सियोन श्रेष्ठ ले गर्नुभएको छ । लोक शैलीलाई आधुनिक नृत्यसँग मिसाएर तयार पारिएको भिडियोले युवा दर्शकलाई विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै संगीतकार तथा निर्माता अर्जुन पोखरेल ले ‘दिलमा ठाउँ छ’ फिल्मको प्रचार–प्रसारलाई ध्यानमा राखेर फरक स्वादमा तयार गरिएको बताउनु भयो । उहाँका अनुसार फिल्मको कथाभन्दा बाहिर नगई दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले गीत निर्माण गरिएको हो । उहाँले आगामी दिनमा फिल्मका अन्य गीत तथा ट्रेलर पनि क्रमशः सार्वजनिक गरिने जानकारी दिनुभयो ।

फिल्मका निर्देशक सशान कँडेल ले ‘बेहुली’ पारिवारिक तथा मनोरञ्जनप्रधान कथामा आधारित रहेको बताउनु भयो । लेखक माधव शर्मा ले तयार पार्नुभएको कथाले समकालीन नेपाली समाज, प्रेम, सम्बन्ध र पारिवारिक मूल्यलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको उहाँको भनाइ छ ।

फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ का साथै सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायत कलाकारहरूको अभिनय रहेको छ । नयाँ र अनुभवी कलाकारहरूको संयोजनले फिल्मलाई थप सशक्त बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्ट को संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता रह्नु भएको छ । दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसरका रूपमा आबद्ध हुनुहुन्छ ।

प्राविधिक पक्षमा पनि अनुभवी टोलीलाई समेटिएको छ । फिल्मको डिओपी नरेन्द्र मैनाली, सम्पादन विकास दाहाल, एक्सन निर्देशन रोशन श्रेष्ठ, मुख्य सहायक निर्देशक सुदीप कुँवर, सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रह्नु भएको छ । यमप्रसाद ओली प्रोडक्सन हेड, किशोर नेपाल प्रोडक्सन डिजाइनर, राजु वाइबा मेकअप आर्टिस्ट तथा एलेक्स बासुकलाको ड्रेस डिजाइन रहेका छन् ।

निर्माण पक्षले फिल्मको प्रदर्शन व्यवस्थापन पनि टुंगो लगाइसकेको छ । काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा श्री व्यंकटेश इन्टरटेन्मेन्ट ले वितरण गर्ने फिल्मको डिजिटल प्रदर्शन अधिकार ओएसआर ले खरिद गरिसकेको छ । यसले प्रदर्शनपछि फिल्म डिजिटल प्लेटफर्ममार्फत पनि दर्शकमाझ पुग्ने निश्चित भएको छ ।

गीत सार्वजनिक भएसँगै ‘बेहुली’ले आफ्नो प्रचार अभियानलाई तीव्र बनाएको छ । निर्माण पक्षले आगामी केही साताभित्र ट्रेलर, पोस्टर र थप सांगीतिक सामग्री सार्वजनिक गर्दै भदौ २६ गतेको प्रदर्शनलाई लक्षित गरी प्रचार–प्रसारलाई अझ प्रभावकारी बनाउने जनाएको छ । लोक स्वाद, नयाँ कलाकारहरूको प्रस्तुति र पारिवारिक कथावस्तुले ‘बेहुली’लाई यस वर्षको प्रतीक्षित नेपाली फिल्ममध्ये एक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्