फिल्म ‘आशा’को छायांकन सुरु

काठमाडौं, १ साउन । अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘आशा’को औपचारिक छायांकन सुरु भएको छ । बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन प्रारम्भ गरिएको निर्माण टिमले जनाएको छ । करिब एक महिनाको कार्यतालिका बनाएर सुरु गरिएको छायांकन साउन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्मात्री शर्मिला थापाका अनुसार प्रारम्भिक चरणको छायांकन काठमाडौंमा हुनेछ भने त्यसपछि काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका रमणीय स्थानहरूमा बाँकी दृश्य खिचिनेछन् । प्राकृतिक सौन्दर्य र नेपाली परिवेशलाई कथासँग जोडेर फिल्मलाई दृश्यात्मक रूपमा आकर्षक बनाउने तयारी निर्माण टिमको छ ।

निर्मात्री थापाले फिल्म नेपाली समाजको यथार्थसँग जोडिएको पारिवारिक कथामा आधारित रहेको बताउनु भयो । उहाँका अनुसार ‘आशा’ले एउटा परिवारको संघर्ष, सम्बन्ध, विश्वास, प्रेम र जीवनका उतारचढावलाई प्रस्तुत गर्नेछ । मनोरञ्जनसँगै सामाजिक सन्देश दिने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको उहाँको भनाइ छ ।

“हामी पूर्वतयारी पूरा गरेर निर्धारित योजना अनुसार छायांकनमा निस्किएका छौँ। साउन महिनाभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य छ । नेपालीपन बोकेको कथालाई आधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय रूपमा दर्शकमाझ ल्याउने प्रयास गरेका छौँ,” निर्मात्री थापाले बताउनु भयो ।

फिल्मको निर्देशन राजीव गुरुङले गर्ने जनाइएको छ । उहाँ करिब तीन वर्षपछि निर्देशनमा पुनरागमन गर्नुभएको हो । यसअघि उहाँले निर्देशन गरेको फिल्म ‘ह्यासट्याग माया’ छायांकनकै क्रममा अभिनेता सारुक ताम्राकारको असामयिक निधन भएपछि निर्माण पूरा हुन सकेको थिएन । उक्त घटनाले नेपाली फिल्म उद्योगलाई मात्र होइन, निर्देशक गुरुङलाई पनि गहिरो मानसिक र आर्थिक असर पारेको थियो ।

‘ह्यासट्याग माया’को निर्माण रोकिएपछि निर्देशक गुरुङले सारुक ताम्राकारप्रति श्रद्धाञ्जलीस्वरूप उहाँले अभिनय गरेका केही दृश्य समेटेर विशेष भिडियो सार्वजनिक गर्नुभएको थियो । अहिले ‘आशा’मार्फत उहाँ नयाँ ऊर्जा र नयाँ कथासहित दर्शकमाझ फर्किनु भएको छ ।

फिल्ममा महेश त्रिपाठी र अञ्जना बराइलीसँगै शुशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, चिराग श्रेष्ठ, काश्वी भण्डारी तथा कविता रेग्मीलगायत कलाकारको अभिनय रहनेछ । अनुभवी र नयाँ पुस्ताका कलाकारको संयोजनले फिल्मलाई थप सशक्त बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।

फिल्मको कथा तथा पटकथा निर्देशक राजीव गुरुङले तयार पार्नुभएको हो भने सह–लेखन रामकुमार श्रेष्ठले गर्नुभएको हो । छायांकन निर्देशक (डीओपी) का रूपमा नरेन्द्र मैनाली रह्ने जनाइएको छ ।

यसैगरी फिल्ममा युग भुसाल र समीर खरेलको संगीत रहनेछ भने किशोर आचार्यले साउन्ड डिजाइनको जिम्मेवारी सम्हाल्नु भएको छ । प्राविधिक पक्षलाई पनि उच्च प्राथमिकता दिइएको निर्माण टिमको भनाइ छ ।

पछिल्लो समय नेपाली फिल्म उद्योगमा मौलिक कथा र पारिवारिक विषयवस्तुमा आधारित फिल्म निर्माण गर्ने क्रम बढिरहेको छ । ‘आशा’ पनि त्यही धारको फिल्मका रूपमा हेरिएको छ । निर्माण टिमका अनुसार नेपाली समाज, पारिवारिक सम्बन्ध, मानवीय संवेदना र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई केन्द्रमा राखेर फिल्म निर्माण भइरहेको छ ।

यदि निर्धारित कार्यतालिका अनुसार छायांकन सम्पन्न भयो भने फिल्म पोस्ट–प्रोडक्सनको काम सकेर प्रदर्शन मिति पनि चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ । निर्देशक गुरुङको पुनरागमन, महेश त्रिपाठी र अञ्जना बराइलीको जोडी तथा पारिवारिक कथावस्तुका कारण ‘आशा’प्रति अहिलेबाटै दर्शकमाझ उत्सुकता बढ्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्