भारी वर्षाको चेतावनीसँगै उच्च सतर्कता अपनाउन आग्रह

 

काठमाडौँ, २९ असार । देशभर सक्रिय मनसुनका कारण आगामी दुई दिन विशेषगरी (आइतबार र सोमबार) पहाडी र तराई क्षेत्रहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो पूर्वानुमानले जनजीवनमा प्रत्यक्ष असर पर्न सक्ने संकेत गर्दै सर्वसाधारणदेखि सरोकारवाला निकायसम्मलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी आइतबार राति र सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल पश्चिमी क्षेत्रमा सामान्य अवस्थाभन्दा केही माथि र पूर्वी क्षेत्रमा नेपालको तराई भूभाग नजिक सक्रिय रहेको छ । यही अवस्थाले देशभर व्यापक बदलीको वातावरण सिर्जना गरेको छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको अवस्था छ ।

अधिकांश स्थानमा बदली रहने र हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ, जसले पर्वतीय गतिविधि र यातायातमा थप चुनौती निम्त्याउन सक्छ । त्यसैगरी मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि वर्षासहितको मौसम रहनेछ ।

विशेषगरी मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसले स्थानीय तहमा बाढी, पहिरो र भूक्षयको जोखिम उल्लेखनीय रूपमा बढाउन सक्ने देखिन्छ ।
आइतबार राति पनि मौसममा खासै सुधार नआउने संकेत गरिएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाको चेतावनी छ । यसले नदी–नालामा आकस्मिक बहाव वृद्धि, डुबान तथा पहिरोको जोखिम अझ तीव्र बनाउन सक्छ ।

महाशाखाले आइतबार र सोमबार विशेष सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ । यी दिनहरूमा पूर्वी तथा मध्य नेपालका केही क्षेत्रहरूमा अत्यधिक वर्षा हुन सक्ने भएकाले स्थानीय प्रशासन, उद्धार निकाय तथा सर्वसाधारणले जोखिमको पूर्वतयारी गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

मौसमको यस प्रतिकूल अवस्थाले दैनिक जनजीवनमा व्यापक असर पार्ने देखिएको छ । कृषि गतिविधि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणजस्ता क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव पर्ने सम्भावना छ भने सडक तथा हवाई यातायातसमेत अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ । त्यसैले महाशाखाले नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचना लिन र त्यसअनुसार व्यवहार गर्न आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निकायबीच समन्वयलाई तीव्र बनाएको जनाएको छ । आइतबार बसेको प्राधिकरणको बैठकले तयारीको अवस्था, प्रगति र आवश्यक समन्वयबारे समीक्षा गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाका अनुसार मनसुन अवधिमा सम्भावित जनधनको क्षति न्यून गर्न सरकार आवश्यक तयारीमा जुटिरहेको छ । असार ४ गते गृहमन्त्रीको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक, सिँचाइ, विपद् व्यवस्थापन तथा अन्य सम्बन्धित विभागका प्रतिनिधिहरूसँग समन्वय गरी प्रगति विवरण संकलन गरिएको छ, जसलाई समेटेर समग्र प्रतिवेदन तयार पारिनेछ । यसले आगामी दिनमा रणनीतिक निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कोइरालाले मनसुनको वर्तमान अवस्था ‘सक्रिय चरण’मा रहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नागरिकलाई मौसमसम्बन्धी सूचना र एड्भाइजरीलाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गर्दै समयमै सावधानी अपनाएमा ठूलो क्षति टार्न सकिने विश्वास व्यक्त गर्नुभयो । “सूचनाको सही उपयोग र सतर्क व्यवहार नै विपद् न्यूनीकरणको प्रभावकारी उपाय हो,” उहाँले संकेत गर्नुभयो ।

देश अहिले मनसुनको संवेदनशील चरणमा प्रवेश गरिसकेको छ । प्राकृतिक जोखिमहरू बढ्दो अवस्थामा रहेकाले सरकार, स्थानीय निकाय र नागरिकबीच समन्वय, सचेतना र तयारी अपरिहार्य बनेको छ । समयमै अपनाइएको सतर्कता र सूचनाको प्रभावकारी प्रयोगले सम्भावित क्षतिलाई न्यून बनाउन सक्ने स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्