सुदर्शन थापाको ‘शुभ विवाह’मा सनिशा भट्टराईको प्रवेश,

काठमाडौं, २८ असार । प्रेमकथामा आधारित सफल चलचित्र निर्देशनका लागि परिचित निर्देशक सुदर्शन थापा दुई वर्षपछि नयाँ फिल्म ‘शुभ विवाह’ मार्फत निर्देशनमा फर्किने तयारीमा छन् । अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा लिएर निर्माण हुन लागेको फिल्मको नायिकाबारे लामो समयदेखि चर्चा चलिरहेका बेला अभिनेत्री सनिशा भट्टराई प्रदीपको जोडी बन्ने सम्भावना बलियो भएको छ ।

फिल्मसँग निकट स्रोतका अनुसार निर्देशक थापाले यसै साता सनिशा भट्टराईसँग लिखित सम्झौता गरिसकेका छन् । यद्यपि निर्माण पक्षले भने अहिलेसम्म यसबारे औपचारिक घोषणा गरेको छैन । आधिकारिक पुष्टि हुन बाँकी रहे पनि चलचित्र वृत्तमा सनिशाको नाम लगभग निश्चित भएको चर्चा छ ।

यदि सनिशा ‘शुभ विवाह’मा अनुबन्धित भएको पुष्टि हुन्छ भने यो प्रदीप खड्कासँग उनको पहिलो सहकार्य हुनेछ । साथै, यो चलचित्र सनिशाको अभिनय यात्राको पाँचौँ फिल्म बन्नेछ । म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी सनिशाले चलचित्र ‘१२ गाउँ’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । त्यसयता उनी नयाँ पुस्ताकी सम्भावनाशील अभिनेत्रीका रूपमा चिनिँदै आएकी छन् ।

‘शुभ विवाह’ निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको एक दशकपछि हुने सहकार्य पनि हो । यसअघि यी दुईले ‘प्रेमगीत’ मा सँगै काम गरेका थिए । उक्त चलचित्रले व्यावसायिक सफलता मात्र होइन, नेपाली प्रेमकथात्मक चलचित्रको इतिहासमा विशेष स्थान बनाएको थियो ।
यसअघि फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने चर्चा चलेको थियो ।

निर्देशक र स्वस्तिमाबीच प्रारम्भिक चरणमा छलफल भएको खबर सार्वजनिक भएपछि उनी फिल्ममा अनुबन्धित हुने अनुमान गरिएको थियो । तर पछिल्लो समय स्वस्तिमाको नाम निर्माण प्रक्रियाबाट बाहिरिएको बताइएको छ, जससँगै सनिशा भट्टराईको नाम अगाडि आएको हो ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘शुभ विवाह’को छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ । निर्माण पक्षले चलचित्रलाई आगामी फागुन २१ गते, महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

प्रदर्शन मिति पनि चलचित्र वृत्तमा विशेष चासोको विषय बनेको छ । सोही मितिमा अभिनेत्री पूजा शर्माको लगानी तथा अभिनय रहेको फिल्म ‘रत्यौली’ पनि प्रदर्शनमा आउने तयारीमा छ । निर्देशक सुदर्शन थापा र पूजा शर्मा ‘रावायण’पछि अलग भएका थिए । त्यसयता पहिलो पटक उनीहरूका चलचित्र एउटै मितिमा प्रदर्शन हुन लागेकाले बक्स अफिस प्रतिस्पर्धालाई विशेष रूपमा हेरिएको छ ।

निर्माण पक्षले ‘शुभ विवाह’को कथावस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । तर शीर्षक र निर्देशकको अघिल्लो फिल्महरूको शैलीलाई हेर्दा चलचित्र प्रेम, पारिवारिक सम्बन्ध र भावनात्मक द्वन्द्वमा आधारित हुने अनुमान गरिएको छ ।

निर्देशक थापा नेपाली दर्शकमाझ प्रेमकथालाई फरक ढंगले प्रस्तुत गर्ने फिल्मकारका रूपमा परिचित भएकाले यसपटक पनि त्यस्तै शैलीको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

अब निर्माण कम्पनीले कलाकारहरूको औपचारिक घोषणा, छायांकन तालिका तथा अन्य प्राविधिक टोलीबारे जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदीप खड्का र सम्भावित रूपमा सनिशा भट्टराईको नयाँ जोडीले पर्दामा कस्तो रसायन प्रस्तुत गर्नेछन् भन्ने विषयले अहिले नै चलचित्रप्रेमीमाझ उत्सुकता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्