काठमाडौं, १३ असार । नेपाली फुटबलका लागि असार ११ गते कालो दिनका रूपमा दर्ज भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेपछि नेपाली फुटबल गम्भीर संकटमा परेको छ । सन् १९७२ मा फिफाको सदस्य बनेयता पहिलो पटक एन्फाले यस्तो कठोर कारबाही भोग्नुपरेको हो ।
फिफाले बिहीबार जारी गरेको विज्ञप्तिमा एन्फाले फिफा विधानको धारा १४ को उपधारा १(आई) तथा उपधारा ३ उल्लङ्घन गरेको ठहर गरिएको जनाएको छ । ती प्रावधानहरू सदस्य संघको स्वतन्त्रता र तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित छन् । फिफाका अनुसार एन्फाको आन्तरिक गतिविधिमा बाह्य हस्तक्षेप भएको पुष्टि भएपछि निलम्बनको निर्णय गरिएको हो ।
एन्फा र सरकारी निकायबीचको विवाद पछिल्लो केही महिनादेखि चर्किंदै आएको थियो । एन्फाले गत चैत १३ गते केन्द्रीय निर्वाचन मात्र गर्ने निर्णय गरेपछि विवाद सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संघीय संरचनाअनुसार तहगत निर्वाचन सम्पन्न गर्न पटक–पटक निर्देशन दिएको भए पनि एन्फाले त्यसलाई कार्यान्वयन नगरेको आरोप लागेको थियो ।
निर्देशन अटेर गरेपछि राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । त्यसपछि नेपाली फुटबल प्रशासनमा थप अन्योल सिर्जना भयो। यद्यपि जेठ १ गते राखेपले निलम्बन फुकुवा गरेको थियो । तर निलम्बन फुकुवापछि पनि एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन सकेन ।
विवाद यतिसम्म पुगेको थियो कि विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित २४ जना पदाधिकारी, सदस्य तथा कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो । राखेपको सिफारिसमा उनीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको घटनाले फुटबल प्रशासनभित्रको तनाव सार्वजनिक रूपमा देखाएको थियो ।
यसबीच फिफाले पनि परिस्थिति नजिकबाट नियालिरहेको थियो । केही दिनअघि फिफाले अर्को निर्वाचन सम्पन्न नभएसम्म पुरानै कार्यसमितिलाई काम गर्न दिन निर्देशन दिएको थियो । तर विवाद समाधानको दिशा नदेखिएपछि अन्ततः फिफाले निलम्बनको कठोर कदम चालेको हो ।
फिफाको निलम्बनसँगै नेपाली फुटबलमा तत्काल असर पर्नेछ । अब नेपालले फिफा तथा एसियाली फुटबल महासंघअन्तर्गत सञ्चालन हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । राष्ट्रिय टोलीका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित हुनेछन् भने फिफा मान्यता प्राप्त नेपाली रेफ्रीहरूले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न पाउने छैनन् ।
यस्तै, फिफा र एसियाली फुटबल महासंघबाट प्राप्त हुने आर्थिक तथा प्राविधिक सहयोगसमेत प्रभावित हुने सम्भावना छ । यसले नेपाली फुटबलको विकास कार्यक्रम, पूर्वाधार निर्माण र युवा खेलाडी उत्पादनमा समेत असर पार्न सक्छ ।
सन् १९५१ मा स्थापना भएको एन्फाले सात दशकभन्दा लामो यात्रा तय गरिसकेको छ । नेपाली फुटबलले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरमा केही सकारात्मक उपलब्धि हासिल गरिरहेका बेला आएको यो निलम्बनलाई खेल क्षेत्रका जानकारहरूले गम्भीर धक्का मानेका छन् ।
अब एन्फा, सरकार र सम्बन्धित निकायबीचको विवाद समाधान गरी फिफाको विश्वास पुनः प्राप्त गर्नु नै नेपाली फुटबलको सबैभन्दा ठूलो चुनौती बनेको छ । अन्यथा नेपाली फुटबल अझ लामो समय अन्तर्राष्ट्रिय मञ्चबाट टाढिन सक्ने खतरा बढेको छ ।
प्रतिक्रिया दिनुहोस्