प्रधानमन्त्री कप क्रिकेट : एपिएफको छैटौँ जित

काठमाडौँ, १२ पुस  । प्रधानामन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपिएफ क्लबले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार छैटौँ जित दर्ता गराएको छ ।
प्रतियोगितामा ६ खेल खेलेको एपिएफले छ खेलमै जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १२७ रनको योगफल बनायो ।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ४० रन बनाइन् । उनले ३३ बलमा ६ चौकाको मद्धतमा अविजित ४० रन बनाएकी हुन् । रोमा थापाले अविजित ३१ रन जोडिन भने सीता राना मगर १९, इन्दु बर्मा १० र ज्योति पाण्डेले ८ रन बनाइन् ।
गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक २ विकेट लिइन् भने कुसुम गोदारले १ विकेट लिइन् । एपिएफले दिएको १२८ रनको लक्ष्य गण्डकी २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रनमा समेटियो । गण्डकीका लागि सृष्टि जैशी र सुमन खतिवडाले समान १७/१७ रन बनाए । त्यस्तै ज्योत्सनिका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए ।

एपिएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् भने सोनु खड्काले २ र करुणा भण्डारीले १ विकेट लिइन् । यो हारसँगै गण्डकीको शीर्ष ४ मा रहेर प्लेअफ खेल्ने सम्भावना समाप्त भएको छ । प्लेअफमा एपिएफसँगै कोशी, सुदूरपश्चिम र बागमती प्रदेशले स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्