काठमाडौं, २५ जेठ । सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई आठ विकेटले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो । यससँगै नेपालले प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई पनि कायम राखेको छ ।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले केवल ९ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । सुरुआती दुई विकेट चाँडै गुमाए पनि कप्तान रोहित पौडेल र लोकेश बमले जिम्मेवार तथा आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए ।
नेपालका लागि लोकेश बमले सर्वाधिक अविजित ४४ रन बनाए। उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ओमानी बलरमाथि दबाब सिर्जना गरेका थिए । कप्तान रोहित पौडेलले अविजित २१ रन जोड्दै उनलाई राम्रो साथ दिए । दुवैले तेस्रो विकेटका लागि अविजित ६८ रनको साझेदारी गर्दै नेपालको जित सुनिश्चित गरे ।
यसअघि ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भएका थिए । लगातार दुई खेलमा शतक प्रहार गरेका कुशलले यसपटक पनि आक्रामक सुरुआत गरेका थिए । अर्का ओपनर आसिफ शेख भने एक रनमै पेभेलियन फर्किए ।
नेपालको जितमा बलिङ विभागको योगदान झनै महत्वपूर्ण रह्यो । टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको सशक्त प्रदर्शनसामु टिक्न सकेन र १९ दशमलव ४ ओभरमा ९४ रनमै समेटियो ।
ओमानको सुरुआत निकै कमजोर रह्यो । केवल नौ रन जोड्दा उसले तीन विकेट गुमाइसकेको थियो । करण केसीले सुरुआती झट्का दिँदै सुहेब अल बलुसी र नावेद अल बलुसीलाई शून्यमै आउट गरे । मोहम्मद अल बलुसी नौ रन बनाएर फर्किएपछि ओमान थप दबाबमा परेको थियो ।
त्यसपछि जुबेर अल बलुसी र कप्तान सुफियान मेहमुदले चौथो विकेटका लागि ३५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । जुबेरले २२ तथा कप्तान सुफियानले ३८ रन बनाए। सुफियान नै ओमानका सर्वाधिक रन बनाउने ब्याटर रहे । अब्दुल जालिलले १६ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने । उनले चार ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि उनी खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र शाहब आलमले एक–एक विकेट हात पारे ।
प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले समूह चरणदेखि सेमिफाइनलसम्म कुनै पनि खेल हारेको छैन । फाइनलमा नेपालले हङकङ र मलेसियाबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यस प्रतियोगिताबाट नेपाल, ओमान, हङकङ र मलेसिया भने आगामी एसियाली खेलकुदका लागि छनोट भइसकेका छन् । फाइनल प्रवेशसँगै नेपाली टोलीले उपाधि जित्ने लक्ष्यसहित आफ्नो अभियानलाई थप मजबुत बनाएको छ । क्रिकेट समर्थकहरू पनि नेपालले ऐतिहासिक सफलता हासिल गर्ने अपेक्षामा छन् ।
प्रतिक्रिया दिनुहोस्