तिहारमा फिल्म ‘जिरो डिग्री’ प्रदर्शन हुने

काठमाडौं, १४ जेठ । नेपाली सिनेमा जिरो डिग्री ले फस्र्टलुक भिडियो सार्वजनिक गर्दै आगामी तिहारलाई प्रदर्शन मिति घोषणा गरेको छ । बिहीबार सार्वजनिक गरिएको फस्र्टलुक भिडियोले दर्शकमाझ उत्सुकता बढाएको छ । डार्क कमेडी शैलीमा निर्माण भएको सिनेमाले ग्रामीण राजनीतिको यथार्थ, सामाजिक विडम्बना र मानवीय संवेदनालाई व्यंग्यात्मक ढंगले प्रस्तुत गर्ने संकेत दिएको छ ।
सार्वजनिक फस्र्टलुक भिडियोमा अभिनेता विजय बराल लाई ‘पुन्य चौलागाईँ’ नामक वडा अध्यक्षको भूमिकामा फरक शैलीमा प्रस्तुत गरिएको छ । बाक्लो जुँगा, ढाका टोपी, चस्मा र सुटमा देखिएका विजयको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ । भिडियोमा सुनिने ‘जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ’ भन्ने संवादले उनी गाउँका प्रभावशाली तर चलाख जनप्रतिनिधिको भूमिकामा रहेको संकेत गर्छ ।
फस्र्टलुकमा देखाइएको एउटा दृश्य विशेष चर्चामा छ । ‘पुन्य चौलागाई वडा अध्यक्ष’ लेखिएको नेमप्लेट अगाडि बसेर पैसा बुझिरहेको देखिन्छन्, तर चौलागाईको पछाडि ‘भ्रष्टाचारलाई रोकौँ’ लेखिएको बोर्ड टाँसिएको छ । यो दृश्यले नेपाली समाजमा राजनीतिक नेतृत्वको दोहोरो चरित्र र व्यवहारमाथि तीखो व्यंग्य गरिएको प्रष्ट देखाउँछ । निर्माण टिमका अनुसार सिनेमाले हास्य शैलीमार्फत सामाजिक यथार्थलाई उठाउने प्रयास गरेको छ ।
भिडियोमा पुन्य चौलागाईँ सेतो घोडामा चढेर हातमा दुईवटा स्ट्यान्ड फ्यान बोकेर गाउँ डुलिरहेको दृश्य पनि देखाइएको छ । त्यस्तै गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेर हिँडिरहेको दृश्यले कथालाई अझ रहस्यमय बनाएको छ । उक्त बाकसभित्र ‘डीप फ्रिज’ रहेको अनुमान गरिएको छ, जुन सिनेमाको मुख्य कथासँग जोडिएको छ ।

सिनेमाको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको विकट गाउँमा आधारित छ । गाउँका एक दम्पतीको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शव सुरक्षित राख्न गाउँमा ‘डीप फ्रिज’ पु¥याउने प्रयास वरिपरि कथा घुमेको निर्माण पक्षले जनाएको छ । विकट पहाडी गाउँमा ‘डीप फ्रिज’ बोकेर उकालो लाग्दा उत्पन्न हुने हास्यास्पद, संवेदनशील र तनावपूर्ण घटनालाई सिनेमाले डार्क कमेडी शैलीमा प्रस्तुत गर्नेछ ।
बेहुली फ्रम मेघौली बाट चर्चामा आएका निर्देशक जोडी सजन काफ्ले र आकास बराल ले संयुक्त रूपमा सिनेमाको निर्देशन तथा पटकथा तयार गर्नुभएको हो । ‘बेहुली फ्रम मेघौली’ को सफलतापछि उहाँहरूको नयाँ सहकार्यप्रति दर्शकमाझ चासो बढेको देखिन्छ ।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायत रमणीय स्थानमा गरिएको छ । ग्रामीण परिवेश र पहाडी जीवनशैलीलाई सिनेमाले जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
सिनेमामा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइलीलगायत कलाकारको अभिनय रहेको छ । अनुभवी र नयाँ कलाकारको संयोजनले सिनेमा अझ प्रभावशाली बनेको निर्माण टिमको दाबी छ ।
सिनेमाका कार्यकारी निर्माता मोती कार्की हुन् भने छायांकन निशाल पौडेलले गर्नुभएको छ । चान्स पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन तथा अंकित बाबु अधिकारीको संगीत रहेको सिनेमालाई काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछन् ।
निर्माण टिमले तिहारको बिदामा पारिवारिक तथा मनोरञ्जनात्मक स्वाद खोज्ने दर्शकका लागि जिरो डिग्री विशेष रोजाइ बन्ने विश्वास व्यक्त गरेको छ । फस्र्टलुक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सिनेमाप्रति सकारात्मक प्रतिक्रिया आउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्