काठमाडौँ, १ वैशाख । सशस्त्र प्रहरी बलभित्रको प्रतिस्पर्धात्मक खेलकुद गतिविधिलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२’ मा राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सम्पन्न प्रतियोगितामा मातातीर्थस्थित प्रशिक्षण प्रतिष्ठानले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक हात पार्दै शीर्ष स्थान सुरक्षित गरेको हो । यस उपलब्धिले प्रतिष्ठानको प्रशिक्षण प्रणाली र खेलकुद तयारीको स्तरलाई संकेत गर्ने रूपमा हेरिएको छ ।
प्रतिस्पर्धामा सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ सात स्वर्ण, आठ रजत र छ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो भने नं १ बराह बाहिनी मुख्यालय सुनसरीले चार स्वर्ण र दुई रजतसहित तेस्रो स्थान हासिल गरेको छ । विभिन्न बाहिनी र प्रशिक्षण निकायबीच भएको प्रतिस्पर्धाले संगठनभित्र खेलकुदको स्तर क्रमशः उकासिँदै गएको संकेत गर्छ ।
समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विजेता टोलीका तर्फबाट प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापालाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।
उक्त अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलले आफ्नो सुरक्षा जिम्मेवारीका साथै खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा पनि निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता आन्तरिक प्रतियोगिताले संगठनभित्र लुकेका खेल प्रतिभालाई उजागर गर्ने मात्र नभई अनुशासन, सहकार्य र शारीरिक क्षमताको अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी क्लवको आयोजनामा चैत २४ गतेदेखि सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी मुख्यालय तथा प्रशिक्षण प्रतिष्ठान गरी नौ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल र एथलेटिक्सजस्ता विधामा प्रतिस्पर्धा गरिएको थियो, जसले समग्र खेलकुद क्षमताको परीक्षण गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
सशस्त्र प्रहरी बलभित्र यस्ता प्रतियोगिता आयोजना गरिनु केवल आन्तरिक प्रतिस्पर्धामा सीमित नभई दीर्घकालीन रूपमा राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान दिने आधार निर्माणका रूपमा पनि हेरिन्छ । विशेषगरी सशस्त्र प्रहरी क्लव मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन हुँदै आएको सन्दर्भमा, यस किसिमका प्रतियोगिताले खेलाडी छनोट र तयारी प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ केवल पदक जित्ने प्रतिस्पर्धा मात्र नभई संगठनभित्र खेलकुद संस्कृतिलाई संस्थागत गर्ने र प्रतिभा विकासको आधार तयार गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्