‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक

काठमाडौं, २२ चैत । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म लालीबजारको पहिलो गीतको सफलतापछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको छ । ‘मायालाई के दिऊँ म बैना’ बोलको गीतले दर्शकमाझ ठूलो लोकप्रियता हासिल गरेपछि आइतबार ‘मिठो संसार’ शीर्षकको नयाँ गीत सार्वजनिक गरिएको हो ।

फिल्मको पहिलो गीतले छोटो समयमै उल्लेखनीय सफलता पाएको छ । सार्वजनिक भएको एक महिनाभित्रै उक्त गीतले युट्युबमा एक करोडभन्दा बढी भ्यूज बटुल्न सफल भएको निर्माण पक्षले जनाएको छ । त्यस्तै, सामाजिक सञ्जाल प्लेटफर्महरूमा समेत गीत अत्यन्त चर्चित बनेको छ, जहाँ टिकटक, रिल्स र सर्ट भिडियोहरूमा हजारौं प्रयोगकर्ताले भिडियो बनाएका छन् । पहिलो गीतको यही लोकप्रियताले फिल्मप्रति दर्शकको उत्साह थप बढाएको देखिन्छ ।
यस सफलताको खुसीयालीमा निर्माण टिमले विशेष कार्यक्रम गर्दै केक काटेको थियो र सोही अवसरमा दोस्रो गीत सार्वजनिक गरिएको हो । ‘मिठो संसार’ बोलको गीतमा समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ । गीतको शब्द तथा संगीत जयन जे वाइवाले तयार पार्नुभएको हो ।

सार्वजनिक गरिएको गीतको लिरिकल भिडियोमा फिल्मका विभिन्न दृश्यहरू समावेश गरिएको छ, जसले कथावस्तुको झल्को दिने प्रयास गरेको छ । निर्देशक तथा लेखक यम थापाका अनुसार ‘मिठो संसार’ फिल्मको कथासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण गीत हो । उहाँका अनुसार गीतले आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ ।

निर्देशक थापाले गीतमार्फत आमाले छोरीलाई हुर्काउन गरेको संघर्ष, माया र त्यागलाई चित्रण गरिएको बताए। उनले भने, “यो गीत फिल्मको भावनात्मक पक्षलाई बलियो बनाउने महत्वपूर्ण माध्यम हो, जसले दर्शकलाई कथासँग अझ नजिक बनाउँछ ।” यस गीतले फिल्मको कथा प्रवाहलाई थप मर्मस्पर्शी बनाउने विश्वास निर्माण टिमले लिएको छ ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा चर्चित कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा स्वस्तिमा खड्का, समाइरा थापा, रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, अभय बराल, आशा पौडेल, गोविन्द सुनार र आभा अर्याललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

कार्यकारी निर्मातामा प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माताका रूपमा रह्नु भएको छ । निर्माण टिमले फिल्मलाई पारिवारिक कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशसहित दर्शकमाझ ल्याउने तयारी गरेको जनाएको छ ।
पहिलो गीतको सफलताले फिल्मको प्रचार–प्रसारमा सकारात्मक प्रभाव पारेको छ । दोस्रो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्