काठमाडौं, ४ चैत । आगामी वैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘परालको आगो’को पहिलो गीत सार्वजनिक गरिएको छ । बहुचर्चित पुरानो गीत ‘उडी जाऊँ भने म पन्छी होइन’लाई नयाँ स्वर र संयोजनसहित पुनः प्रस्तुत गर्दै निर्माण टिमले दर्शकमाझ ल्याएको हो ।
यो गीत मूलतः विसं २०३६ मा प्रदर्शनमा आएको सोही नामको फिल्ममा समावेश थियो । समयको लामो अन्तरालपछि उक्त कालजयी सिर्जनालाई पुनः रेकर्ड गरी नयाँ पुस्तासामु प्रस्तुत गरिएको हो । गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
मूल गीतमा स्वर दिएकी अरुणा लामा को सुमधुर आवाजले नेपाली संगीतमा छुट्टै स्थान बनाएको छ । नयाँ संस्करणमा भने गायिका निशु शर्मा ले स्वर दिनुभएको छ । उहाँले अरुणा लामाको शैलीलाई सम्मान गर्दै गीतको मौलिकता जोगाउने प्रयास गर्नुभएको बताउनु भयो ।
गीतका शब्द मान बहादुर मुखिया को छ भने मूल संगीत शान्ति ठटाल ले तयार गर्नुभएको हो । नयाँ संस्करणमा संगीत संयोजन विनोद भुजेल ले गर्नुभएको हो । पुरानो भाव, लय र मिठासलाई कायम राख्दै आधुनिक शैलीको संयोजन गरिएको निर्माण टिमले जनाएको छ ।
गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ । भिडियोमा अभिनेत्री सुहाना थापा र गायक–अभिनेता प्रकाश सपूत लाई प्रस्तुत गरिएको छ । सुहानाको अभिनयको कारण गीत जीवन्त भएको छ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उहाँको अभिनयको प्रशंसा भइरहेको छ ।
भिडियोको नृत्य निर्देशन रामजी लामिछाने ले गर्नुभएको छ । ग्रामीण परिवेशमा आधारित दृश्यले गीतको भावलाई थप मजबुत बनाएको देखिन्छ ।
फिल्ममा लक्ष्मण सुनारको निर्देशन रहेको छ । निर्माण भने सुशील पोखरेलको रहेको छ । त्यसैगरी, कथा लेखन सुशील देवकोटा को रहेको छ । चलचित्रमा सुहाना र प्रकाशसँगै सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो सिनेमा नेपाली साहित्यका अग्रणी कथाकार गुरुप्रसाद मैनाली को चर्चित कथा ‘परालको आगो’बाट प्रेरित रहेको बताइएको छ । साहित्यिक कृतिलाई आधुनिक सिनेमा भाषामा प्रस्तुत गर्ने प्रयासस्वरूप निर्माण गरिएको फिल्मप्रति दर्शकको चासो बढ्दो देखिन्छ ।
प्राविधिक पक्षमा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कनाल कँवरको रङ संयोजन रहेको छ । संगीत पक्षमा शान्ति ठटालसँगै सत्य–स्वरूप र प्रकाश सपूतको योगदान रहेको छ ।
पुरानो कालजयी गीतलाई नयाँ पुस्तासामु प्रस्तुत गर्दै ‘परालको आगो’ले दर्शकमा नोस्टाल्जियासँगै नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ । गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको उत्सुकता झनै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्