काठमाडौँ, ८ फागुन । चुनावको कारण देखाउँदै फिल्म ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ले रिलिज रोकेको घोषणा गरेका छन । मंगलबार ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ले रिलिज रोकेको घोषणा गरेका हुन् ।
फागुन १ गते प्रदर्शनमा आएका यीमध्ये ‘बिगुल’ र ‘श्री बुकुरो’ले निर्वाचनको प्रभाव उल्लेख गरेका छन् भने ‘शिवांश’ले हलमा प्राइम टाइम शो नपाएको गुनासो अघि सारेको छ । यस घटनाले फिल्म बजारभित्रको प्रतिस्पर्धा र शो व्यवस्थापनसम्बन्धी चुनौती पनि उजागर गरेको छ ।
गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘परान’पछि नेपाली फिल्म बजारमा देखिएको सुस्तता माघ महिनासम्म आइपुग्दा झन् गहिरिएको थियो । लगातार रिलिज भएका करिब एक दर्जन फिल्मले अपेक्षित व्यापार गर्न नसक्दा निर्माता–वितरक मात्र होइन, हल व्यवसायीसमेत अन्योलमा परेका थिए ।
तीन महिनाको अवधिमा करिब १० करोड रुपैयाँ लगानी जोखिममा परेको आँकडा उद्योग वृत्तमा चर्चामा रह्यो । ‘स्टार’ कलाकारको उपस्थितिले पनि टिकट काउन्टर तताउन नसक्दा दर्शक किन हलसम्म आइरहेका छैनन् भन्ने प्रश्न उठिरहेको थियो ।
यही निराशाबीच माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले भने परिस्थिति उल्ट्याएको देखिन्छ । चौथो सातामा प्रवेश गरिसकेको यो फिल्मले करिब १० करोड रुपैयाँ नजिकको व्यापार गरिसकेको जनाइएको छ ।
चुनावी माहोलका कारण दर्शक हलसम्म नआउने अनुमान भइरहँदा ‘आ बाट आमा’को प्रदर्शनले त्यो धारणा पूर्णतः सही नभएको संकेत गरेको छ । तेस्रो सातासम्म आइपुग्दा पनि दैनिक ३० लाख रुपैयाँभन्दा माथिको व्यापार कायम राख्नु नेपाली बजारका लागि सकारात्मक संकेत मानिएको छ ।
फिल्मको सफलताले एउटा सन्देश दिएको छ दर्शक सामग्री खोजिरहेका छन्, समयको बहानाभन्दा पनि कथावस्तु र प्रस्तुति महत्वपूर्ण हुन्छ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा धेरैले राजनीतिक गतिविधिले मनोरञ्जन बजारलाई असर पार्ने आकलन गरेका थिए । तर, ‘आ बाट आमा’ले पारिवारिक र भावनात्मक कथावस्तु मार्फत दर्शकको मन जित्दै बक्स अफिसमा निरन्तर उपस्थिति जनाइरहेको छ ।
यी तीन फिल्मको रिलिज स्थगनले प्रत्यक्ष लाभ भने ‘आ बाट आमा’लाई पुग्ने आकलन गरिएको छ । धेरै फिल्म एकसाथ प्रदर्शन हुँदा शो संख्या विभाजित भई व्यापारमा असर पर्ने अवस्था थियो । अब हलमा विकल्प घटेपछि दर्शकको रोजाइ केही सीमित हुने र यसले सफलतापूर्वक चलिरहेको फिल्मको व्यापार थप मजबुत बनाउन सक्ने अनुमान गरिएको छ ।
अब फागुन १५ गतेसम्म नयाँ नेपाली फिल्म प्रदर्शनमा नआउने अवस्था देखिएको छ । सो दिन ‘प्रवासी जीवन’ प्रदर्शनमा आउने तयारीमा रहे पनि यसको बजार चर्चा न्यून देखिन्छ ।
त्यसैले चुनावी वातावरण जारी रहँदासम्म ‘आ बाट आमा’ले हलमा आफ्नो पकड कायम राख्ने सम्भावना बलियो देखिएको छ । उद्योग स्रोतका अनुसार फिल्मले चुनावसम्म १२ करोड रुपैयाँसम्मको व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।
पछिल्लो केही महिनादेखि चिसिएको नेपाली फिल्म बजारमा ‘आ बाट आमा’ले आत्मविश्वास भर्ने काम गरेको छ । चुनावजस्तो राष्ट्रिय राजनीतिक प्रक्रियाबीच पनि राम्रो सामग्रीले दर्शकलाई हलसम्म तान्न सक्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ ।
अब उद्योगको नजर आगामी रिलिजहरूमा रहनेछ के यो उत्साह स्थायी बन्छ, कि फेरि बजार पुरानै अन्योलमा फर्कन्छ भन्ने प्रश्नको उत्तर समयले दिनेछ ।
प्रतिक्रिया दिनुहोस्