काठमाडौँ, ६ फागुन । नेपाली फिल्म बजारमा माघ महिनामा प्रदर्शनमा आएका तीन चलचित्रमध्ये आ बाट आमा ले व्यापारिक रूपमा स्पष्ट अग्रता बनाएको छ । चलचित्र विकास बोर्ड ले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस विवरणअनुसार यस फिल्मले फागुन २ गते शनिबारसम्म ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री गर्दै ८ करोड ३१ लाख ८७ हजार ७८९ रुपैयाँ ग्रस आम्दानी गरेको छ ।
यस अवधिमा प्रदर्शनरत अन्य दुई फिल्म कुमारी र रमिताको पिरतीको व्यापार भने अपेक्षाकृत कमजोर देखिएको छ । ‘कुमारी’ले ९ दिनमा १७ हजार २९ वटा टिकट बिक्री गर्दै ५६ लाख २११ रुपैयाँ ग्रस कमाएको छ । ‘रमिताको पिरती’को कमाइ अझ कम छ, जसले हालसम्म १९ लाख ४३ हजार ५८८ रुपैयाँ मात्र संकलन गरेको तथ्यांक बोर्डले सार्वजनिक गरेको छ ।
‘आ बाट आमा’को निर्माण तथा प्रचार खर्च झन्डै २ करोड रुपैयाँ रहेको जनाइएको छ । लगानी सुरक्षित गर्न करिब साढे ६ करोड रुपैयाँ ग्रस व्यापार आवश्यक मानिएको थियो । तर दोस्रो विकेन्डमै उक्त लक्ष्य पार गरेपछि फिल्मले सुरक्षित व्यापारिक अवस्थामा प्रवेश गरिसकेको थियो ।
आइतबारसम्म फिल्मको कुल कमाइ ९ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसले फिल्मलाई यस वर्षको सफल चलचित्रको सूचीमा मात्र होइन, ‘सुपरहिट’को श्रेणीमा पनि पु¥याएको छ । नेपाली फिल्म उद्योगमा बढ्दो लागत र जोखिमबीच यति छिटो लगानी सुरक्षित हुनु निर्माता–वितरक दुवैका लागि सकारात्मक संकेत मानिन्छ ।
प्रदर्शनको तेस्रो सातामा पनि ‘आ बाट आमा’को व्यापारिक रफ्तार उल्लेखनीय रहेको छ । आइतबार मात्र ६४ लाख ४५ हजार रुपैयाँ ग्रस कमाइ भएको तथ्यांक छ भने शनिबारको व्यापार करिब एक करोड हाराहारी पुगेको थियो । सोमबार देशव्यापी अकुपेन्सी ५० प्रतिशतभन्दा माथि रहेकाले मंगलबारसम्म १० करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।
नेपाली फिल्म बजारमा पहिलो सातापछि व्यापार घट्ने प्रवृत्ति सामान्य मानिन्छ। तर ‘आ बाट आमा’ले लगातार तीन साता स्थिर दर्शक आकर्षण कायम राख्नु यसको कथावस्तु, प्रचार रणनीति र ‘वर्ड अफ माउथ’ प्रभाव बलियो रहेको संकेत हो ।
यस फिल्मबाट अभिनेता पलले आफ्नो करिअरमा थप एक महत्वपूर्ण सफलता जोडेको बताइएको छ । आइतबारसम्म ९ करोडभन्दा बढी कमाइसकेसँगै ‘आ बाट आमा’ यस वर्षको धेरै कमाइ गर्ने चौथो फिल्म बनेको छ भने पलका लागि यो दोस्रो धेरै कमाउने चलचित्र बनेको छ । व्यापारिक गति कायम रहे बिहीबारसम्म १० करोड पार गर्ने लगभग निश्चित देखिन्छ ।
‘कुमारी’ र ‘रमिताको पिरती’को कमजोर व्यापारले प्रतिस्पर्धात्मक बजारमा सामग्री, प्रचार र प्रदर्शन रणनीतिको महत्त्व झनै स्पष्ट बनाएको छ । सीमित टिकट बिक्री र कम ग्रस आम्दानीले लागत व्यवस्थापन र दर्शक पहुँचका सवालमा चुनौती देखाएको छ । नेपाली फिल्म बजारमा एउटै समयमा प्रदर्शनमा आएका फिल्ममध्ये प्रायः एउटा वा दुईवटा मात्र बलियो देखिने प्रवृत्ति पुनः दोहोरिएको छ ।
माघ महिनाको बक्स अफिस तथ्यांकले नेपाली फिल्म उद्योगमा दर्शकको छनोट कति निर्णायक हुन्छ भन्ने पुनः प्रमाणित गरेको छ । ‘आ बाट आमा’को व्यापारिक सफलता केवल अंकमा सीमित छैन; यसले राम्रो सामग्री र प्रभावकारी प्रचारले अझै पनि हलसम्म दर्शक तान्न सक्ने सन्देश दिएको छ ।
अबको केही दिनमा १० करोडको आँकडा पार भएमा यो उपलब्धि वर्षकै उल्लेखनीय व्यावसायिक सफलतामध्ये एक हुनेछ । यस्तो अवस्थामा अन्य निर्माण कम्पनीहरूका लागि पनि सामग्रीको गुणस्तर र बजार रणनीतिमा थप ध्यान दिनुपर्ने संकेत स्पष्ट रूपमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्