काठमाडौं, १ फागुन । नेपालमा प्रदर्शन सुरु भएदेखि नै सकारात्मक प्रतिक्रिया बटुलिरहेको लभस्टोरी फिल्म ‘कुमारी’ अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ । नेपाली दर्शकको राम्रो साथ पाएको यस फिल्मले बिहीबार, १२ फेब्रुअरीदेखि अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशका सिनेमा हलहरूमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको छ ।
वितरकका अनुसार फिल्म त्यहाँको नियमित बक्स अफिस प्रणालीमार्फत रिलिज हुन लागेको हो र अग्रिम टिकट बुकिङसमेत उत्साहजनक देखिएको छ ।
अस्ट्रेलियामा ‘कुमारी’ न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, एडिलेड, तस्मानिया र पर्थलगायतका प्रमुख राज्य तथा सहरका आधा दर्जनभन्दा बढी हलमा प्रदर्शन हुने भएको छ ।
अस्ट्रेलियाका नेपाली समुदायको बाक्लो बसोबास रहेका क्षेत्रलाई लक्षित गर्दै फिल्म रिलिज गरिएको वितरकले जनाएको छ । त्यहाँ फिल्मको वितरण थ्री केजी इभेन्ट्स र असकास्ट नेपालले संयुक्त रूपमा सम्हालेका छन् ।
त्यसैगरी, मध्यपूर्वका युएई, बहराइन र कतारका सबै प्रमुख सहरहरूमा पनि फिल्म प्रदर्शन हुने तय भएको छ । नेपाली श्रमिक तथा प्रवासी नेपालीको उल्लेख्य उपस्थिति रहेका यी देशहरूमा फिल्मप्रति राम्रो चासो देखिएको वितरकको दाबी छ । मध्यपूर्व क्षेत्रमा फिल्मको वितरण नेपफिल्मले गरिरहेको छ । अग्रिम टिकट बुकिङको अवस्था हेर्दा फिल्मले त्यहाँ पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
फिल्मका निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलिया र मध्यपूर्वको रिलिजसँगै अन्य मुलुकहरूबाट पनि ‘कुमारी’ प्रदर्शनका लागि प्रस्ताव आइरहेका छन् । उहाँले अबको केही साताभित्र संयुक्त राज्य अमेरिका र क्यानडामा समेत फिल्म रिलिज हुने जानकारी दिनुभयो ।
अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडोको सहकार्यमा फिल्म प्रदर्शन हुनेछ भने क्यानडामा मेरो इभेन्ट्सले वितरण गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर माग आउनु नेपाली फिल्म उद्योगका लागि सकारात्मक संकेत भएको अधिकारीको भनाइ छ ।
दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’ मा अभिनेता अबिषेक खड्का र अभिनेत्री आकृति राजभण्डारी मुख्य भूमिकामा देखिएका छन् । दुवै कलाकारको अभिनयलाई दर्शकले खुवै प्रशंसा गरेका पाइनछ ।
फिल्मले जीवनमा ठूलो समस्या र सामाजिक दबाब झेलिरहेकी एक युवतीको संघर्ष, आत्मसम्मान र प्रेमकथालाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ । सामाजिक यथार्थ र भावनात्मक पक्षलाई सन्तुलित ढंगले देखाइएको भन्दै फिल्मको कथा र प्रस्तुति दर्शकको मनमा बस्न सफल भएको प्रतिक्रिया पाइँदै आएको छ ।
विकास सुवेदीको लेखन रहेको यस फिल्मको छायांकन सुशन प्रजापतिले गरेका हुन् । दृश्य संरचना र भावनात्मक परिवेशलाई मजबुत बनाएको छायांकन पक्षलाई पनि दर्शक तथा समीक्षकले प्रशंसा गरेका छन् । फिल्ममा समावेश ‘डोको बुन्ने’ गीत अहिले विशेष चर्चामा छ र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा पनि लोकप्रिय बन्दै गएको छ ।
नेपालमा प्राप्त सकारात्मक प्रतिक्रिया र विदेशमा देखिएको उत्साहजनक अग्रिम बुकिङले ‘कुमारी’ ले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्मको उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्