कलात्मक कथावाचनका कारण प्रिमियरमै चम्कियो ‘श्री बुकुरोः द होम कलिङ’

 

काठमाडौं, १ फागुन । आज फागुन १ देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ ले प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार साँझ काठमाडौंको एक सिनेमा हलमा आयोजित विशेष प्रिमियरमा सहभागी फिल्मकर्मी, लेखक तथा कलाकारहरूले फिल्मको कथावाचन शैली, संवाद, अभिनय र छायांकनको खुलेर प्रशंसा गरे ।

कतिपयले यसलाई काव्यात्मक प्रस्तुति भनेका छन् भने कतिपयले सुन्दर पेन्टिङ हेरेझैँ अनुभूति हुने फिल्मको संज्ञा दिएका छन् ।
प्रिमियरपछि प्रतिक्रिया दिँदै वरिष्ठ निर्देशक तुलसी घिमिरेले ‘श्री बुकुरो’ समग्रमा एउटा कलात्मक पेन्टिङजस्तै लागेको बताउनु भयो । उहाँका अनुसार फिल्मले ‘बुकुरो’ शब्दमार्फत पैतृक घर र त्यससँग जोडिएका भावनालाई गहिरो अर्थका साथ प्रस्तुत गरेको छ ।

“फिल्म हेर्दै जाँदा म आफ्नै पुरानो जन्मघर पुगेजस्तो महसुस भयो,” उहाँले भन्नु भयो, “लक्ष्मी गिरीले निभाएको पात्रमा मैले आफ्नी आमाको झल्को पाएँ । कथावाचन शैली अत्यन्तै सुन्दर र संवेदनशील छ।”

घिमिरेले फिल्ममा मानवीय संवेदनाका साना–साना तर गहिरा पक्षहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताउनु भयो । विशेषगरी सानैमा नजिक रहेका फुपु र भदैको बुढेसकालमा पुनः भेट हुने प्रसंगले दर्शकलाई भावनात्मक रूपमा छोइने र जीवनको यथार्थ अनुभूति गराउने उहाँले बताउन’भयो । फिल्म पारिवारिक सम्बन्ध, स्मृति र जिम्मेवारीको महत्व उजागर गरेको भन्दै कलाकारहरूको अभिनय पनि प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

निर्माता तथा वितरक छविराज ओझाले ‘श्री बुकुरो’लाई उत्कृष्ट फिल्मको रूपमा चित्रण गर्नुभयो । निर्देशक सुव्रतराज आचार्यले फिल्मले दर्शकको मनमा गहिरो छाप छोड्ने विश्वास व्यक्त गर्दै यसलाई सम्झनलायक कृतिको संज्ञा दिनुभयो ।

लेखक शान बस्न्यातले फिल्मको दृश्यभाषा सशक्त रहेको उल्लेख गर्दै कथ्य र दृश्य संयोजन प्रशंसायोग्य भएको बताउनु भयो । अभिनेता जयकिशन बस्नेतले भने फिल्म हेर्दा कुनै गहिरो उपन्यास पढिरहेको अनुभूति भएको प्रतिक्रिया दिनुभएको थियो ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको ‘श्री बुकुरोः द होम कलिङ’ मा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, लय संग्रौला, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशानलगायत कलाकारको जोडदार प्रस्तुति रहेको छ । रुबी सेन सिंह निर्माता रहेको यस फिल्मले पुरानो थाकथलो, घर र संस्कृतिको संरक्षण आवश्यक रहेको सन्देश दिन खोजेको देखिन्छ।

फिल्मले आधुनिक जीवनशैलीका बीच हराउँदै गएका पारिवारिक सम्बन्ध, स्मृतिहरू र जिम्मेवारीलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ । कलात्मक कथा, भावनात्मक प्रस्तुति र सशक्त अभिनयका कारण ‘श्री बुकुरोः द होम कलिङ’ ले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले पनि फिल्मप्रति दर्शकको चासो अझ बढाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्