सुनसरी, १५ माघ । कोशी प्रदेशमा शारीरिक सुगठन खेललाई व्यवस्थित, प्रतिस्पर्धात्मक र दिगो रूपमा अघि बढाउने उद्देश्यसहित सातौँ संस्करणको ‘मिस्टर कोशी प्रदेश–२०८२’ खुला शारीरिक सुगठन प्रतियोगिता धरानमा आयोजना हुने भएको छ । स्थानीय स्तरमै प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्दै स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
एलाइनेट जिम धरानको आयोजनामा हुने यो प्रतियोगिता आगामी चैत २७ र २८ गते धरान उपमहानगरपालिका–८ स्थित सभागृह भवनमा सञ्चालन गरिनेछ । आयोजकका अनुसार प्रतियोगिता केवल सौन्दर्य वा शक्ति प्रदर्शनमा सीमित नभई, अनुशासन, निरन्तर अभ्यास र शारीरिक तन्दुरुस्तीको महत्वलाई समाजमा स्थापित गराउने प्रयासको रूपमा अघि बढाइएको हो ।
प्रतियोगिताको पहिलो दिन ‘प्रिजजिङ’ चरण सञ्चालन हुनेछ । यस चरणमा सहभागी खेलाडीलाई तौल समूहका आधारमा मूल्याङ्कन गरी प्रत्येक समूहबाट ६–६ जना खेलाडी छनोट गरिनेछ । यसरी छनोट भएका विभिन्न तौल समूहका कुल ३० जना खेलाडी फाइनल चरणमा प्रवेश गर्ने एलाइनेट जिम धरानका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिनुभयो ।
फाइनल चरणमा प्रत्येक तौल समूहभित्र पुनः प्रतिस्पर्धा गराई प्रथमदेखि छैटौँ स्थानसम्मका खेलाडी निर्धारण गरिनेछ । त्यसमध्ये प्रत्येक तौल समूहका प्रथम स्थान प्राप्त खेलाडी मात्र ‘ओभरअल’ चरणमा सहभागी हुनेछन् । ओभरअल चरणमा प्रवेश गरेका ६ जना उत्कृष्ट खेलाडीबीच अन्तिम प्रतिस्पर्धा गराई समग्र विजेता चयन गरिनेछ । यही चरणबाट प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ‘सातौँ मिस्टर कोशी प्रदेश–२०८२’ को उपाधि प्रदान गरिने आयोजकको भनाइ छ ।
प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी गरी पाँच तौल समूह समावेश गरिएको छ । प्रत्येक तौल समूहका प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसले खेलाडीलाई प्रतिस्पर्धामा प्रोत्साहन दिनुका साथै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ ।
ओभरअल समूहका विजेताका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । ओभरअल प्रथम हुने खेलाडीले नगद रु एक लाख २५ हजार प्राप्त गर्नेछन् भने दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु ४० हजार, चौथो हुनेलाई रु ३० हजार, पाँचौँ हुनेलाई रु २५ हजार र छैटौँ हुनेलाई रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसका अतिरिक्त बेस्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ र बेस्ट टिम विधाका विजेतालाई जनही रु पाँच हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको मूल उद्देश्य शारीरिक सुगठन खेलको विकास र विस्तार गर्नु मात्र होइन, खेलाडीको आर्थिक सशक्तिकरणमार्फत उनीहरूलाई खेलमै टिकिरहन प्रेरित गर्नु पनि हो । पछिल्ला वर्षहरूमा शारीरिक सुगठनप्रति युवाको आकर्षण बढ्दै गए पनि नियमित प्रतियोगिता, प्रोत्साहन र व्यावसायिक अवसरको अभावले धेरै खेलाडी बीचमै खेल छोड्न बाध्य हुने अवस्था देखिएको छ । ‘मिस्टर कोशी प्रदेश’ जस्ता प्रतियोगिताले यस्ता चुनौतीलाई केही हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
धरान र आसपासका क्षेत्रमा पछिल्लो समय फिटनेस सेन्टर, जिम र व्यायाम संस्कृतिको विस्तारसँगै शारीरिक सुगठनप्रति रुचि बढ्दो क्रममा छ । आयोजकका अनुसार यस प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रदेशस्तरको मञ्च प्रदान गर्नेछ भने दर्शकमा पनि स्वास्थ्यप्रति सचेतना फैलाउने भूमिका खेल्नेछ ।
एलाइनेट जिम धरानका अध्यक्ष लिम्बूले प्रतियोगितालाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार शारीरिक सुगठन खेललाई अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैलीसँग जोडेर समाजमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक छ ।
सातौँ ‘मिस्टर कोशी प्रदेश–२०८२’ प्रतियोगिता केवल उपाधि र पुरस्कारको प्रतिस्पर्धा मात्र नभई, कोशी प्रदेशमा शारीरिक सुगठन खेलको भविष्य र स्वस्थ नागरिक निर्माणतर्फको एउटा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्