काठमाडौं, २८ असार । बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले जितेका छन् ।
ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न प्रतियोगितामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका हुन् ।
शनिबार जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरुषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महांकाल गाउँपालिकालाई सोझो सेटमा ३–० ले पराजित गर्दै उपाधि उचाल्यो । खेलभर प्रभावशाली प्रदर्शन गरेको ललितपुरले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै सहज जित दर्ता ग¥यो । ललितपुरका खेलाडीले उत्कृष्ट तालमेल, प्रभावकारी ब्लक र आक्रामक स्पाइकमार्फत महांकाललाई खेलमा फर्किने अवसर दिएनन् ।
पुरुषतर्फ माडी नगरपालिका तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ललितपुरका अशोक श्रेष्ठ पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरे ।
महिलातर्फको फाइनलमा बेथानचोक गाउँपालिकाले काठमाडौं महानगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्यो । बेथानचोकले पहिलो सेट २५–१६ ले जितेपछि काठमाडौंले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याएको थियो । त्यसपछि बेथानचोकले तेस्रो सेट २५–२३ को रोमाञ्चक प्रतिस्पर्धामा जित्दै अग्रता पुनः प्राप्त ग¥यो । चौथो सेटमा भने बेथानचोकले एकतर्फी प्रदर्शन गर्दै २५–८ को फराकिलो जित निकालेर उपाधि आफ्नो नाममा लेखायो ।
महिलातर्फ ललितपुर महानगरपालिका तेस्रो स्थानमा रह्यो । बेथानचोककी रिक्जना भोटे प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।
प्रतियोगिताका विजेता दुवै टोलीले समान दुई लाख रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे भने उपविजेता टोलीलाई एक लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो ।
महिलातर्फ उत्कृष्ट स्पाइकर काठमाडौं महानगरपालिकाकी सुनिता बस्नेत, उत्कृष्ट सेटर बेथानचोककी पूर्णकला केसी, उत्कृष्ट ब्लकर काठमाडौंकी सारिका कार्की तथा उत्कृष्ट लिबेरो ललितपुरकी स्मृति राई घोषित भए । उनीहरूले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फ उत्कृष्ट स्पाइकर महांकाल गाउँपालिकाका बलदेवसिंह धामी, उत्कृष्ट सेटर ललितपुरका सुवास कुँवर, उत्कृष्ट ब्लकर चिरन खड्का, उत्कृष्ट सर्भर महांकालका अनिल सिंह तथा उत्कृष्ट लिबेरो ललितपुरका राजन दर्लामी मगर घोषित भए । सबै उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा अन्य अतिथिहरूले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । उहाँहरुले यस्तो प्रतियोगिताले स्थानीय तहमा खेलकुदको विकास, प्रतिभाको पहिचान र युवा पुस्तालाई खेलप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
असार २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न स्थानीय तहका महिला र पुरुष गरी १६ टोलीको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै प्रदेशस्तरमा भलिबल खेलको विकास र नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
आगामी संस्करणलाई अझ बृहत् र प्रतिस्पर्धात्मक बनाउने तयारीसमेत सुरु गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्