भदौ १२ देखि ताप्लेजुङ गोल्डकप, पुरस्कार राशि बढाउने तयारीमा आयोजक

काठमाडौं, ३ साउन । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको चौथो संस्करण आगामी भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । लाखेजात्रा पर्वको अवसर पारेर आयोजना गरिने प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

शनिबार सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको मिति सार्वजनिक गर्दै आवश्यक व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । जिल्लामा सञ्चालन हुने सबैभन्दा ठूलो फुटबल प्रतियोगिताका रूपमा परिचित ताप्लेजुङ गोल्डकपले यस वर्ष पनि देश–विदेशका उत्कृष्ट टोलीलाई एकै मैदानमा उतार्ने लक्ष्य राखेको छ ।

 

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताको मिति तय भएसँगै टोली व्यवस्थापन, प्रायोजन, पूर्वाधार तयारी तथा अन्य प्रशासनिक कामलाई तीव्र बनाइएको छ । उहाँले यसअघिका संस्करणमा जस्तै यस वर्ष पनि नेपालबाहिरको एक टोलीसहित आठ टोलीको सहभागिता रहने जानकारी दिनुभयो । यद्यपि कुन–कुन टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भन्ने विषय भने केही दिनभित्र सार्वजनिक गरिने उहाँले बताउनु भयो ।

आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार राशिमा पनि यस वर्ष वृद्धि गर्ने तयारी भइरहेको छ । यसअघि सम्पन्न तेस्रो संस्करणमा विजेता टोलीले ७ लाख २ हजार ८२ रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । चौथो संस्करणमा यसभन्दा बढी पुरस्कार प्रदान गर्ने विषयमा छलफल भइरहेको र कम्तीमा एक साताभित्र पुरस्कार राशिसहित सम्पूर्ण विवरण सार्वजनिक गरिने अध्यक्ष मादेनले बताउन भयो ।

ताप्लेजुङ गोल्डकप केवल खेलकुद प्रतियोगिता मात्र नभई जिल्लाको सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ । वि.सं. २०२९ सालदेखि लाखेजात्रा पर्वको अवसरमा फुटबल प्रतियोगिता आयोजना हुँदै आएको इतिहास रहेको छ । समयक्रमसँगै प्रतियोगिताले विभिन्न नाम पाएको थियो । सुरुमा कञ्चनजङ्घा च्यालेन्ज कप, त्यसपछि पाथीभरा गोल्डकपका रूपमा सञ्चालन भएको प्रतियोगिता पछिल्ला चार वर्षदेखि ताप्लेजुङ गोल्डकपको नामबाट आयोजना हुँदै आएको छ ।

वर्षौंदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताले पूर्वी नेपालमा फुटबलको विकास, स्थानीय खेलाडीको प्रतिभा उजागर तथा खेल पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । राष्ट्रिय स्तरका क्लब र विदेशी टोलीको सहभागिताले जिल्लाका खेलप्रेमीलाई स्तरीय फुटबल हेर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय खेलाडीलाई अनुभवी टोलीसँग प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यस वर्षको प्रतियोगिता सञ्चालन गर्न करिब ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त बजेट व्यवस्थापनका लागि विभिन्न सरकारी निकाय, निजी क्षेत्र, स्थानीय तह, प्रायोजक संस्था तथा खेलप्रेमीको सहयोग जुटाइने उहाँले जानकारी दिनुभयो ।

 

प्रतियोगिता सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । खेलमैदानको स्तरोन्नति, दर्शक बस्ने स्थान, सुरक्षा व्यवस्था, खेलाडीको आवास तथा अन्य प्राविधिक तयारीलाई प्राथमिकताका साथ अघि बढाइएको आयोजकले जनाएको छ ।

लामो इतिहास, बढ्दो लोकप्रियता र प्रत्येक संस्करणसँगै विस्तार हुँदै गएको प्रतिस्पर्धात्मक स्तरका कारण ताप्लेजुङ गोल्डकप पूर्वी नेपालको प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ । आयोजकले यस वर्षको संस्करणलाई अघिल्ला वर्षभन्दा अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्