फिल्म ‘बिगुल’को माघ ९ गतेको रिलिज स्थगित

 

काठमाडौं, ६ माघ । माघ ९ गते प्रदर्शन हुने तय गरिएको फिल्म ‘बिगुल’को रिलिज स्थगित गरिएको छ । आधिकारिक रूपमा प्राविधिक कारण देखाइए पनि उद्योगभित्र भने पछिल्ला रिलिज फिल्मले अपेक्षित व्यापार गर्न नसकेपछि जोखिम नलिने निर्णय गरिएको बुझाइ छ । निर्माण पक्ष अब बक्स अफिस केही चलायमान भएपछि मात्र फिल्म प्रदर्शन गर्ने योजनामा रहेको बताइन्छ ।

‘बिगुल’ रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म हो । यसमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी र रविन्द्र खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

यही फिल्ममार्फत मीरा पण्डितले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् । दिनेश कोइरालाले निर्माण गरेको फिल्मले रिलिजअघि नै रोकिएपछि कलाकार र प्राविधिक टोलीको प्रतीक्षा अझ लम्बिएको छ ।

यतिबेला नेपाली फिल्म उद्योग मौसमी चिसोपनसँगै व्यापारिक मन्दीको मारमा परेको देखिन्छ । मंसिरयता हरेक साता जसो नयाँ फिल्म प्रदर्शनमा आए पनि कुनै पनि फिल्मले बक्स अफिसमा उल्लेख्य सफलता हासिल गर्न सकेका छैनन् । हलमा दर्शकको उपस्थिति न्यून रहँदा निर्मातादेखि वितरकसम्म निराश देखिन्छन् । यसैबीच विदेशी फिल्मले भने नेपाली बजारमा आक्रामक व्यापार गर्दै घरेलु फिल्मको चुनौती झन् स्पष्ट पारेका छन् ।

पछिल्ला हप्तामा बलिउडको ‘धुरन्धर’ र हलिउडको बहुप्रतीक्षित ‘अवतार ३’ले नेपाली हलमा राम्रो कमाइ गरेका छन् । दर्शकको प्राथमिकता विदेशी फिल्मतर्फ झुकेको देखिँदा नेपाली फिल्मको प्रतिस्पर्धात्मक क्षमता, प्रचार रणनीति र सामग्री चयनमाथि पुनः प्रश्न उठ्न थालेको छ । उद्योगभित्र ‘किन नेपाली फिल्म चल्न सकेनन् ?’ भन्ने बहस फेरि सतहमा आएको छ ।

गत बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’—बाट दुई महिनादेखि जारी व्यापारिक सुस्ततालाई तोड्ने अपेक्षा गरिएको थियो । माघे संक्रान्तिको आसपास प्रदर्शन भएकाले पनि यी फिल्मले दर्शक तान्ने विश्वास निर्माण पक्षमा थियो ।

तर, बक्स अफिस तथ्यांकले त्यो अपेक्षा पूरा हुन नसकेको संकेत गरेको छ । प्रदर्शनको तीन दिनमा तीनै फिल्मको संयुक्त आम्दानी ५० लाख रुपैयाँसमेत नपुगेको उद्योग स्रोतको अनुमान छ । यो आँकडाले नेपाली फिल्मको वर्तमान व्यापारिक अवस्थालाई स्पष्ट रूपमा चित्रित गर्छ ।

लगातार असफलतापछि रिलिजको प्रतीक्षामा रहेका फिल्महरू समेत रणनीति परिवर्तन गर्न थालेका छन् ।
फिल्म व्यवसायीहरूका अनुसार पछिल्लो समय दर्शकको रोजाइमा आएको परिवर्तन, डिजिटल प्लेटफर्मको प्रभाव, प्रचार–प्रसारमा कमजोर रणनीति र कथावस्तुमा नवीनताको अभाव नेपाली फिल्मको व्यापार सुस्त हुनुका मुख्य कारण हुन् ।

साथै, एकै समयमा धेरै फिल्म रिलिज हुँदा बजार विभाजित हुनु र हलको संख्या सीमित हुनु पनि चुनौतीका रूपमा देखिएको छ ।

उद्योगभित्र अब ‘रिलिज संख्या घटाएर गुणस्तरमा ध्यान दिनुपर्ने’ आवाज बलियो बन्दै गएको छ । व्यापारिक जोखिम घटाउन उपयुक्त समय, लक्षित दर्शक र सामग्रीबीच सन्तुलन मिलाउन नसक्दा फिल्महरू एकपछि अर्को असफल हुने क्रम रोकिएको छैन ।

यतिबेला नेपाली फिल्म क्षेत्र केवल असफलताको लेखाजोखा मात्र होइन, भावी रणनीतिबारे गम्भीर आत्मसमीक्षाको मोडमा उभिएको छ । बक्स अफिस पुनर्जीवित नहुन्जेल निर्माण र रिलिज दुवै पक्ष सतर्क देखिनु उद्योगको वर्तमान यथार्थ बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्